काठमाडौँ, त्पत्रकार दिलभूषण पाठकले समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारले जबरजस्ती गर्न खोजेको बताएका छन् ।त्यसलाई रोक्न आवश्यक कदम चाल्न सञ्चारसम्बद्ध निकायलाई उनले अनुरोध पनि गरेका छन् ।
पाठकले प्रेस काउन्सिल र पत्रकार महासंघलाई ‘जानकारी तथा सहयोगको अपेक्षा सहित’ इमेलबाट पत्र पठाएका हुन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उनीविरुद्ध उजुरीका परेको आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको थियो । त्यसबारेमा सम्बन्धित निकायले आफूलाई खबर नगरेको पाठकले पत्रमा लेखेका छन् । प्रशारित सामग्रीमा असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला आफूसँग, यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने गर्ने वैधानिक बाटो रहेको पाठकले पत्रमा लेखेका छन् । प्रेस काउन्सिलले अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजिएको भन्दै पाठकले आपत्ति जनाएका छन् ।‘फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ । त्यसमाथि सम्बन्धित अधिकारीहरूले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ,’ पाठकले पठाएको पत्रमा लेखिएको छ ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै पत्रकार पाठकले प्रेस काउन्सिल नेपालमा निवेदन दिँदै आफूलाई विद्युतीय अपराध ऐन आकर्षित गरेर कारबाही गर्न खोजिएकाले गम्भीर आशंका उब्जिएको बताएका हुन् । ‘टफटक विथ दिलभुषण’ पाठक नामको युट्युब च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । सम्बन्धित प्रहरी अधिकारीले भने यसबारेमा कुनै स्पष्ट जानकारी नदिएको र उजुरीका बारेमा केही नखुलाएको पाठकको भनाइ छ ।’मैले प्रसारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ। त्यसमाथि सम्बन्धित अधिकारीहरुले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ,’ पाठकले निवेदनमा भनेका छन् ।
पत्रकार पाठकले आफूविरुद्ध लगाइएका आरोप र उठाइएका प्रश्नहरूबारे जानकारी नपाएकाले प्रेस काउन्सिलसँग सहयोग पनि मागेका छन् । उनले निवेदनमा अगाडि भनेका छन्, ‘अहिलेसम्म औपचारिक रुपमा मैले मविरुद्ध परेको उजुरी, ममाथि लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएकाले सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । योसँगै समाचार सामग्री प्रसारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु ।’
जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन्। पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत् ‘ हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा!’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएका हुन्।

