काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) निदानका लागि द्रुत परीक्षण किट (आरडीटी) को सट्टा विज्ञहरूले पीसीआर परीक्षणलाई नै व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् । आरडीटी किट प्रयोग गर्दा ‘फल्स पोजिटिभ’ र ‘नेगेटिभ’ नतिजा बढी आउने बताउँदै उनीहरूले कोरोना संक्रमण समुदायमा व्यापक फैलिएकाले पीसीआर परीक्षणको दायरा बढाउन भनेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत कोभिड–१९ परीक्षणमा आरडीटीको सट्टा पीसीआर परीक्षण नै उपयुक्त रहेको जनाउँदै आएको छ । सरकारले आइतबार निजी तथा सामुदायिक अस्पताललाई आरडीटी किटबाट परीक्षण गर्न निर्देशिका जारी गरेपछि विज्ञहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आरडीटी परीक्षण गर्ने अनुमति लिन दर्ता भएका अस्पतालले स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने बताए । उनका अनुसार निजी स्वास्थ्य संस्थाले सरकारबाट सूचीकृत आरडीटी मात्र प्रयोग गर्नुपर्ने र परीक्षणका लागि खरिद मूल्यको २० प्रतिशतभन्दा बढी शुल्क लिन नमिल्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले हाल ७ वटा चीनमा बनेका र एक/एकवटा अमेरिका र क्यानडामा बनेका आरडीटी किटलाई प्रयोगमा ल्याउन भ्यालिडेट (प्रमाणित) गरेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्र बताउँछन् । ती सबै किट ‘आईजीजी’ र ‘आईजीएम’ मा आधारित हुन् । यी किटको प्रमाणित गर्दा नेपालका कोभिड–१९ संक्रमितको रगतको नमुना परीक्षण गरेर गरिएको भने होइन ।
‘आरडीटीबाट फल्स पोजिटिभ र नेगेटिभ नतिजा बढी आउने भएकाले नेपालको परिवेशमा निजी, सामुदायिक अस्पतालले निदान प्रयोजनका लागि द्रुत किट प्रयोग गरे यसले संक्रमण विस्तारमा झन् सघाउँछ,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘हाल स्वास्थ्य मन्त्रालयले जारी गरेको अन्तरिम निर्देशिकामा र्यापिड एन्टिबडी परीक्षण पोजिटिभ देखिएमा मात्र पीसीआर परीक्षणका लागि रेफर गर्ने भनिएको छ तर नेगेटिभ देखिए के गर्ने भन्नेबारे केही उल्लेख छैन ।’ आरडीटीबाट नेगेटिभ देखिएकाहरूमा यदि फल्स नेगेटिभ भएमा ती व्यक्तिले अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलगायत आफ्नो निकट सम्पर्कमा रहेकाहरूलाई सजिलै कोरोना सार्न सक्छन् । यसले कोभिड महामारीको व्यवस्थापन झन् जटिल हुने उनको भनाइ छ । डा. बीसी भन्छन्, ‘आरडीटीभन्दा पनि पीसीआर परीक्षण गर्न सक्ने निजी, सामुदायिक स्वास्थ्य संस्थालाई मात्रै परीक्षणको अनुमति दिनु उचित हुन्छ ।’
डब्लूएचओले आरडीटी परीक्षण सामान्यतया रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) पत्ता लगाउने परीक्षण मात्र भएको बताएको छ । यसले कोभिड–१९ भाइरस रहे–नरहेको यकिन गर्न सक्दैन । ‘कोभिड–१९ संक्रमण र रोग प्रतिरोधक क्षमताबारे हामीले अहिलेसम्म पूर्णरूपमा बुझ्न सकेका छैनौं,’ डा. बीसी भन्छन्, ‘एन्टिबडी विकास गरेको हुनाले कोही व्यक्ति पूर्णरूपमा कोभिड–१९ बाट सुरक्षित छन् वा कहिलेसम्म त्यो प्रतिरोधक क्षमता रहन्छ, यसका लागि विश्वभर व्यापक सेरोलजिकल अनुसन्धान भइरहेको छ ।’
स्वास्थ्य मन्त्रालयले सोमबारसम्म आरडीटीका माध्यमले परीक्षण गरिएको ६९ हजार ५ सय ६० नमुनाको कति नतिजा पोजिटिभ र नेगेटिभ रहेकोबारे स्पष्ट आँकडा दिन नसक्नुले पनि उक्त परीक्षण विधि उपयुक्त नहुने प्रमाणित भएको उनी औंल्याउँछन् । ‘नेपाल र चिनियाँ विशेषज्ञबीच हालै भएको उपचार अनुभव साझा गर्ने भर्चुअल कार्यक्रममा नेपाली विज्ञले आरडीटीको उपयोगबारे सोध्दा चिनियाँ विज्ञले स्पष्ट शब्दमा समुदायमा रोग पहिचान गर्न आफूहरूले आरडीटी किटको उपयोग नगरेको बताएका थिए,’ डा. बीसीले भने ।
‘आरडीटी किटले संक्रमण विस्तारमा सघाउँछ’
‘आरडीटी किटले संक्रमण विस्तारमा सघाउँछ’
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

