काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने बताएका छन्। सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको तर्क गरेका हुन्। खर्च गर्ने दर शतप्रतिशत भए पनि उपलब्धि हाँसिल हुन नसकेको उनको भनाइ थियो।
‘अहिलेसम्मका प्राथमिकता बदलेर नयाँ र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्छ,’ उनले भने, ‘खुला सीमानाले समस्या बढाएको छ। मित्रराष्ट्रसँग सहकार्य गरी निदानका लागि साझा नीति बनाउनुपर्छ। खर्च भइरहेको छ, तर शतप्रतिशत उपलब्धिका लागि नीतिगत व्यवस्था जरुरी छ।’
उनले क्षयरोग केन्द्रमा सबै सेवा उपलब्ध हुने अस्पताल सञ्चालन गर्नुपर्ने र आगामी आर्थिक वर्षको बजेटमा त्यसको व्यवस्था गरिने प्रतिबद्धता जनाए। ‘क्षयरोगमुक्त पालिका घोषणाका लागि १४९ पालिका तोकेका छौँ, तर यो पाँच भागको एक भाग मात्र हो। बाँकी ७५३ पालिकालाई कसरी अघि बढाउने भन्ने स्पष्ट नीति चाहिन्छ,’ उनले भने।
मन्त्री पौडेलले क्षयरोगी मन्त्रालय वा चिकित्सकले नभई पालिकाले खोज्नुपर्ने बताए। यसका लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने उनको जोड छ।

