काठमाडौँ, गंगालाल राष्ट्रिय हृदयकेन्द्रले पछिल्लो वर्षमा मुटुको शल्यक्रियामा फड्को मारेको छ। अस्पतालले एक वर्षको अवधिमा १९ सय ८२ जनाको मुटुको शल्यक्रिया सम्पन्न गरेको छ। यो संख्या गत वर्षभन्दा दुई सयले बढी र दुई वर्षअगाडिको तथ्यांकमा आठ सयले बढी संख्यामा शल्यक्रिया भएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ। अस्पतालको २९औं वार्षिकोत्सवका अवसरमा अस्पतालका निर्देशक डा. रवि मल्लले यस्तो जानकारी दिएका हुन्।
२०५२ सालमा स्थापित गंगालाल राष्ट्रिय हृदयकेन्द्रले २०५६ सालमा नौ शड्ढयाबाट सेवा सुरु गरी हाल तीन सय शड्ढया बनाएको छ। निर्देशक डा. मल्लका अनुसार यसअघि अस्पतालले वर्षमा बढीमा १२ सय जनाको मात्र शल्यक्रिया गर्न सम्भव थियो। भौतिक पूर्वाधार र जनशक्तिको कमीकै बीचमा अस्पतालले अतिरिक्त समय शल्यक्रिया सेवा सञ्चालन गरेबापत यतिको संख्यामा शल्यक्रिया सम्भव भएको उनले बताए।
शल्यक्रिया अवधि विस्तार गरेसँगै शल्यक्रियाको पालोको अवधिसमेत घटेको अस्पतालले जनाएको छ। ‘पहिला मुटुको शल्यक्रिया गर्न ६ महिना लाग्थ्यो, अहिले दुई महिनामा पालो आउँछ,’ अस्पतालका वरिष्ठ मुटु सर्जन डा. रामेश कोइरालाले भने।
अहिले मुटुको शल्यक्रिया गर्नुपर्ने अवधि घटाउने गरी गृहकार्य भइरहेको र निकट भविष्यमै पालोको अवधिमा थप सुधार ल्याउने निर्देशक मल्लले बताए। ‘तीनवटा अपे्रसन थिएटर थप्दै छौं । त्यसपछि दुई महिना पनि कुर्नुनपर्ला,’ मल्लले भने। मुटु तथा शल्यक्रिया सेवामा यो अस्पताल छिमेकी राष्ट्र भारत तथा अन्य अन्तर्राष्ट्रिय स्तरका अस्पतालकै सरह सक्षम देखिएको चिकित्सकले दाबी गरेका छन्।
एक वर्षको अवधिमा अस्पतालले बहिरंग सेवावाट एक लाख ९९ हजार ९७२ जनाले सेवा लिएका छन् भने १५ हजार १४३ जना, आकस्मिक कक्षमा २२ हजार ६७० जना, एक लाख २४ हजार २४७ ले इसिजी सेवा, २१ हजार २०४ जनाले इको सेवा, ७३ हजार १३३ जनाले इकोकार्डियोग्राम, दुई हजार ५१० जनाले क्रोनरी एन्जिओप्लास्टी सेवा र पाँच हजार ९३९ जनाले एन्जिओग्राम सेवा लिएका छन्। यो अवधिमै एक हजार ३३६ जनामा पेसमेकर, ३६० जनामा एएसडी डिभाइस कोलोजर सेवा प्रदान गरेको छ।
केन्द्रले दाताहरूमार्फत तीनतले भवन निर्माण गरी डेकेयर क्लोज आइसियु केही महिनामै सञ्चालनमा छ। बिरामी कुरुवाको लागि समाजसेवी इन्दिरा मल्लको सहयोगमा एक तला थप गरी थप ८० जना आइसियुका बिरामी कुरुवाका लागि कोठा विस्तार गरेको छ। यो वर्ष नै राष्ट्रिय आविष्कार केन्द्रमार्फत ३५० वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ।
बहिरंग विभागको भिड नियन्त्रणका लागि चारवटा काउन्टर सञ्चालनमा ल्याएको छ। १५ मिनेटभित्र प्रयोगशाला नमुना संकलन गर्ने गरी व्यवस्थापन मिलाएर बिरामीको अस्पतालमा गरिने समय र पैसाको बचत गर्ने गरी व्यवस्थापन गरिएको मल्लले बताए।
स्थापनाकालको २९ वर्षको अवधिमा अस्पतालले आम नागरिकको पहुँचमा हुने गरी मुटु सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। १५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क मुटु उपचार सेवा, २०६६ देखि ज्येष्ठ नागरिकका लागि मुटुको भल्व खोल्ने सेवा, बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया, गरिब बिरामीका लागि निःशुल्क राहत सेवा प्रदान गर्दै आएको छ। सोही क्रममा निर्देशक मल्लले गंगालाल हृदयकेन्द्रको विकासमा विभिन्न चरणमा योगदान पुर्याउने चिकित्सक तथा समाजसेवी व्यक्तित्व र संस्थाहरूको स्मरण गरे।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केन्द्रले आफ्नो यात्रामा मुटुसेवामा पुर्याएको योगदान अग्रणी पंक्तिमा रहेको र यसको साख बचाइराख्न सबैको भूमिका आवश्यक भएको बताए। अबका दिनमा यो केन्द्रको विकासका लागि आवश्यक सहकार्य गर्ने उनले बताए। विपन्न बिरामीलाई प्रदान गरेको मुटु उपचारको बक्यौता रकम छिट्टै प्रदान गर्ने बताए।
दुई सय शय्याको बाल मुटुरोग भवन निर्माण हुने
भविष्यमा २०० शय्याको बाल मुटुरोग भवन निर्माण गरी सेवा दिने राष्ट्रिय गंगालाल केन्द्रको तयारी छ। भवन निर्माणका लागि डिपिआर तयार गरी स्वास्थ्य मन्त्रालयमा पठाएको जनाएको छ। थप भवन निर्माण गरी पाँच सय शय्याको सेवा विस्तार गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ।

