केही समययता नेपालमा भिटामिन-डी औषधि खानेहरूको संख्या बढेको छ। थकान, आलस्य,
मासंपेसी दुख्ने, काममा रूचि नहुने लगायत समस्या देखिएका युवा उमेरका व्यक्तिलाई पनि डाक्टरले भिटामिन-डी सिफारिस गरेको पाइन्छ।
त्यसको मतलब के हिजोआज शरीरमा भिटामिन डीको मात्रा घट्ने क्रम बढेको हो? आखिर किन भिटामिन-डी खानुपर्ने अवस्था आउँदैछ?
यो स्टोरीमा हामी यसैबारे चर्चा गर्दैछौं । यसका लागि हामीले कुरा गरेका छौं, पोखराको गण्डकी मेडिकल कलेजका सह-प्राध्यापक तथा मेडिप्लस हस्पिटलका कन्सल्ट्यान्ट फिजिसियन डा. सरोज पोखरेलसँग ।
उनका अनुसार सधैं गर्दै आएको काममा पनि थकान महसुस हुन्छ, मासंपेसीहरू कटकट दुख्छन् र कुनै पनि काममा रूचि घट्दै जान्छ भने त्यसको एउटा कारण भिटामिन-डीको कमी हुनसक्छ।
उनले हामीलाई भिटामिन-डी के हो, त्यसले के काम गर्छ, त्यसको स्रोत के हो र यो
औषधि खाने क्रम किन बढेको छ भन्नेबारे विस्तारमा बताए ।
यो भनेको हाम्रो शारीरिक वृद्धि विकासका लागि अत्यावश्यक भिटामिन हो । पानी र चिल्लो पदार्थमा घुल्ने यो भिटामिनले क्याल्सियम सोसेर बलियो बनाउने काम गर्छ । साथै, मांसपेसी बलियो बनाउन र छालाका रोगहरूबाट जोगाउन पनि यसले भूमिका खेल्छ ।
त्यस्तै, रक्तचाप सन्तुलनमा राख्नुका साथै मुटुको स्वास्थ्यदेखि मधुमेह र क्यान्सरजस्ता रोगको जोखिम कम गर्नमा पनि भिटामिन-डीले सहयोग पुयाउँछ। यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
यी त शारीरिक लाभका कुरा भए, हाम्रो मानसिक स्वास्थ्यका लागि पनि भिटामिन-डी नभई हुँदैन। डिप्रेसन कम गराउन र हाम्रो मुड सन्तुलनमा राख्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने डा. पोखरेल बताउँछन्।
यसरी शरीरलाई बहुआयामिक लाभ दिने भिटामिन-डी परिपूर्ति गर्न हामीले धेरै मिहिनेत गर्नुपर्दैन । चुपचाप बसेर पनि शरीरलाई चाहिने भिटामिन डी प्राप्त गर्न सक्छौं। त्यो कसरी भने, यसको प्रमुख स्रोत नै घामको किरण हो ।
घाम ताप्दा हाम्रो छालाको बाहिरी तहले घामका किरण सोसेर भित्र लैजान्छ । त्यसबाट कलेजो र मिर्गौलाले भिटामिन-डी बनाउँछ र रगतमा प्रवाह गर्छ ।
डा. पोखरेलका अनुसार शरीरलाई चाहिने ९० प्रतिशत भिटामिन-डी घामबाटै पाइन्छ। यसबाहेक दूध, दही, पनिर, साल्मोन माछा, अन्डाको पहेँलो भाग, कलेजो लगायत खानेकुरामा पनि भिटामिन-डी हुन्छ । तर यी खानाले भिटामिन-डीको परिपूर्ति एकदमै कम गर्छ ।
साभार : सेतापाटी,माघ १

