बागलुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पताल सञ्चालन गर्ने बताएका छन्।
मंगलबार बागलुङको काठेखोला गाउँपालिका– ६ मा नवनिर्मित विहुँकोट आधारभूत अस्पतालको उद्घाटन गर्दै उनले अब सातवटै प्रदेशमा मुटु र क्यान्सर रोगको विशिष्टीकृत अस्पताल सञ्चालन गरिने बताएका हुन्। उनले अहिले प्रत्येक प्रदेशमा क्यान्सरको एउटा अस्पताल सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिँदै आउँदा दिनमा मुटुरोगको पनि उपचार हुने अस्पताल सञ्चालनमा ल्याइने बताए।
मन्त्री पौडेलले मिर्गौला प्रत्यारोपणका लागि पनि हालसम्म दुई प्रदेशमा विशिष्टीकृत अस्पताल सञ्चालनमा ल्याइसकिएको जानकारी दिए। पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै कुरा गर्ने मन भए पनि स्राेत सुनिश्चित नभएका कारण अहिले कम खर्चमा हुने कामलाई प्राथमिकता दिएको बताए।
पौडेलले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाइ भएको र त्यहाँबाट अब नयाँ जनशक्ति उत्पादन भएपश्चात् देशभरि नै डाक्टर अभाव हुन नदिने बताए। उनले मंसिर १ देखि १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी पनि गराए।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा नयाँ संरचना निर्माण गर्नुभन्दा पहिले बनेका संरचनालाई थप व्यवस्थापन गरेर सञ्चालन गर्न जरुरी रहेको औँल्याए। पौडेलले निजी अस्पतालसँग सहकार्य गरेर जनतालाई कसरी सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ, त्यसमा पनि मन्त्रालयले जोड दिने बताए।
पौडेलले स्वास्थ्य क्षेत्रको पालिका तहबाटै प्रदेश हुँदै संघसम्म केही नीतिगत सुधार गर्न आवश्यक रहेको भन्दै तीनै तहका सरकारसँगको समन्वयमा यस क्षेत्रमा नीतिगत सुधार ल्याउन जरुरी रहेको बताए। उनले औषधि तथा उपकरण खरिद प्रक्रिया सबै सरकारी अस्पतालले समयमा नै सम्पन्न गरेर जनतालाई सहज सेवा प्रदान गर्न आग्रह गरे।

