स्रष्टाहरूको निश्चित भूगोल हुँदैन । कुनै पनि स्रष्टा कुनै पनि स्थान विशेषको हुँदैन । त्यसैले फलानो जिल्लाको या प्रदेशको साहित्य भनेर भौगोलिक सीमा छुट्याए झैं साहित्यिक सीमा छुट्याउन गाह्रो छ । त्यसमा पनि चितवनको त झनै गाह्रो छ ।
थारू र चेपाङहरूको मूलथलो रहेको चितवन बसोबास विस्तारका दृष्टिले नयाँ ठाउँ हो । चितवनको पहाडी क्षेत्रमा चेपाङ र जनजाति तथा मैदानमा खोला र नदी किनारतिर थारू जातिको पातलो बस्ती भए पनि जंगल फँडानी गरेर व्यवस्थित बस्ती बस्न थालेको २०१३ सालको राप्तीदुन विकास परियोजना लागू भएपछि हो । नारायणगढमा भने १९७० देखि नै बसोबास सुरु भएको हो । पहाडबाट यहाँ घिउ बेच्न र नुनतेल, लुगाफाटा तथा घरायसी सामान किन्न आउनेहरूको बजार थियो ।
गर्मी र जंगलैजंगल भएकाले पहाडबाट झरेकाहरूलाई यहाँ औलो लाग्थ्यो । पहाडमा खानलाउन र परिवार पाल्न दुःख हुनेहरू औलोको जोखिम मोलेर चितवन झरे । विशेषगरी कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, स्याङ्जा, पर्वत, धादिङ आदि जिल्लाका मानिसहरू बसाइँ सरे ।
बसाइँ सर्दा उनीहरूले आफूसँगै आफ्नो परिवार मात्र ल्याएनन्, आफ्नो संस्कृति, परम्परा, रहनसहन, साहित्य, मौखिक आख्यान पनि सँगै ल्याए । पहाडका अनेक ठाउँ, जाति र संस्कृतिका मानिसहरूको मिश्रणले चितवन द्रुत गतिमा समृद्ध बन्दै गयो ।
चितवनको साहित्यको चर्चा गर्दा मध्यपहाडी जिल्लाहरूको साहित्य आफैं जोडिएर आउँछ । जन्मका आधारले मानिस एक ठाउँको हुन्छ, कर्मका आधारले विभिन्न ठाउँको हुन्छ । त्यसैले चितवनको साहित्य छुट्याएर चर्चा गर्न मिल्दैन । यहाँ गरिएको चर्चालाई चितवनमा बसेर कर्म गरेका साहित्यकारहरू सम्झनुपर्छ । मेरै कुरा गर्ने हो भने पुर्ख्यौली थलो कास्की हो भने जन्म, औपचारिक अध्ययन र कर्मका हिसाबले चितवन । अहिले धेरै कर्म काठमाडौं बसेर गरिरहेछु । कहिलेकाहीं स्थलगत अध्ययन र लेखनका सिलसिलामा अन्य जिल्लामा पनि गएर काम गर्छु ।
जे होस्, चितवनको अधिकांश बसोबास नयाँ हो तर साहित्य सिर्जन परम्परासँग जोडिएर आउँछ । झाडी फाँडेर बस्नुपर्ने र आधारभूत सुविधा पनि नभएको ठाउँ भएकाले तीसको दशकसम्म सामान्य बासस्थान र आधारभूत सुविधा प्राप्तिको संघर्षमा नै मानिसहरूको समय बित्यो । समथर भूभाग, खेतीयोग्य जमिन र थपिँदै गएका सुविधाका कारण विस्तारै पहाडका सम्पन्न मानिसहरू पनि यहाँ बसाइँ सर्न थाले । पछि आउनेहरूले जमिन किन्नुपर्यो । अझ पछि आउनेहरूले महँगोमा किन्नुपर्यो ।
बसोबास, बाटोघाटो, शिक्षा, स्वास्थ्य र यातायातको सुविधा थपिँदै जाँदा चितवन गुल्जार हुँदै गयो । आफैं बस्ती बसाएर बस्नुपरेकाले मानिसहरूसँग दुःखका धेरै कथा छन्, संघर्ष र जोखिमका व्यथा छन्, प्राप्ति र सफलताका गाथा छन् । ती धेरैजसो लेखिन बाँकी छ ।
बाँकी ती कथा कतिपय मौखिक रूपमा नै सीमित छन् भने धेरैजसो पुराना मानिसहरूको अवसानसँगै सकिए । पढेलेखेका केहीले डायरीमा लेखेर आफैंसँग राखेका हुँदा हुन् । जे होस्, चितवनको साहित्य सिर्जन परम्परालाई थारू र चेपाङ जातिका अलिखित लोकसाहित्य र पहाडबाट बसाइँ आउँदा पहाडेहरूले सँगै ल्याएका मौखिक कथा यहाँको साहित्यको पृष्ठभूमि हो । कलानाथ अधिकारीले संकलन गरी लिपिबद्ध गरेको जितिया पावनी (थारू लोककथा) थारू भाषामै २०१६ मा प्रकाशनमा आयो । यो नै पहिलो साहित्यिक पुस्तक हो ।
२०२२ मा रामपुरमा भएको राष्ट्रिय साहित्य गोष्ठी, २०२४ मा भएको चितवन जिल्ला स्तरीय साहित्य गोष्ठी जस्ता साहित्यिक कार्यक्रम र २०२१ मा प्रकाशित चितवनको चिनो साहित्यिक पत्रिका प्रस्थानबिन्दु हो । २०२५ को दोभान, २०२६ को नौलो राँको, २०२७ को छहरो, २०२८ को मारुनी जस्ता साहित्यिक पत्रिकाहरूको प्रकाशनले यहाँ साहित्य लेखनको पृष्ठभूमि तयार पारेका थिए ।
त्यो बेला यहाँ कुनै साहित्यिक संघसंस्था थिएनन्, जसले व्यक्तिभित्र लुकेर रहेको साहित्यिक प्रतिभा संस्थागत गरून् । तर शैक्षिक संस्था, पुस्तकालय र अन्य केही संस्थाका माध्यमबाट छिटपुट साहित्यिक कार्यक्रम भने हुन्थे । बेलाबेला अत्यन्त न्यून संख्यामा किताब प्रकाशित हुन्थे । २०३६ को जनमतसंग्रह र २०४२ सालको सत्याग्रहमा प्रजातान्त्रिक परिवर्तनका लागि चितवन सक्रिय रह्यो । नयाँ ठाउँमा आएका पुराना र यहाँ जन्मिएका नयाँ मानिसहरूमा परिवर्तनको नयाँ चेतना थियो । त्यो बेला प्रजातान्त्रिक परिवर्तनका लागि विद्रोहका आवाजहरू साहित्यका माध्यमबाट पनि अभिव्यक्त हुन थाले ।
२०४० को दशकपछि मात्र चितवनमा साहित्यिक संस्थाहरू स्थापना भए । यद्यपि ठूलै बजार भइसकेको नारायणगढमा २०१८ मै विभिन्न जातजाति, भाषभाषी र समुदायका कला संरक्षण र प्रकाशनका लागि १४ कट्ठा जमिनमा आधुनिक सभाहलसहितको नारायणी कला मन्दिरको स्थापना भयो । यहाँ साहित्यिक गतिविधि पनि हुने भएकाले यसले संस्थागत भूमिका खेलेको छ । साहित्यिक संस्थाहरूमा साहित्य संगम चितवन (२०४४), चितवन साहित्य परिषद् (२०४५) यहाँका पुराना हुन् । त्यसपछि आजसम्म यहाँ निष्क्रिय र सक्रिय, दर्ता भएका र नभएका गरी झन्डै पाँच दर्जन साहित्यिक संस्था छन् ।
यही पृष्ठभूमिमा २०४६ सम्म आइपुग्दा चितवनको साहित्य क्रमिक रूपमा विकास र विस्तार हुँदै गयो । २०४६ सालको परिवर्तनमा नवचेतनाका साथ यहाँका साहित्यकारहरू पनि सक्रिय रहे । त्यसपछि प्रवृत्तिगत दृष्टिले पनि यहाँको साहित्य राष्ट्रिय प्रवृत्तिसँग मिल्दोजुल्दो हुँदै गयो । यहाँका साहित्यिक संस्थाहरूले राष्ट्रियस्तरका कार्यक्रमहरू गर्छन् र साहित्यकारहरूलाई थुप्रै पुरस्कार प्रदान गरेर लेखनका लागि प्रेरणा दिन्छन् ।
***
आफूलाई व्यक्त गर्ने सबैभन्दा सहज, सरल र संक्षिप्त माध्यम कविता हो । यहाँ बसाइँ सरेका पहाडेहरू, कतिपयले आफ्ना भावना र दुःखसुख मौखिक रूपमा सिलोक बनाएर भाका हाल्थे भने लेखपढ गर्न नजाने पनि कतिपयले आफैं सिलोक रचेर गाउँथे । यस्ता अलिखित सिलोकहरू सुनेरै म हुर्केको हुँ । ती सिलोकमा आफ्ना पारिवारिक र सामाजिक कथाव्यथा, संघर्ष, प्रेम र बिछोडको भावसघनता हुन्थे ।
चितवनको साहित्यिक इतिहासलाई नेपाली साहित्यको इतिहाससँगसँगै डोर्याएर ल्याउन मिल्दैन । किनभने, नेपाली साहित्यको इतिहास सुरुवात भएको सवा सय वर्षपछि मात्र चितवनमा साहित्य सिर्जनाको सुरुवात भएको हो । त्यसैले नेपाली साहित्यको माझपछि चितवनको साहित्यिक इतिहास सुरुवात भयो । यहाँ परम्परा र आधुनिकता सँगसँगै हिँडे ।
प्रारम्भमा विशेषतः छन्दोबद्ध नै धेरै सिर्जना गरिए तर गद्य कविताले चाँडै आफ्नो प्रभाव छोड्यो । आफ्ना भावना र विचार शब्दबन्धनबिना अभिव्यक्त गर्न पाइने हुँदा विस्तारै धेरैले गद्य कविता लेख्न थाले ।
चितवनमा कति कवि छन् भन्ने यकिन गर्न गाह्रो छ तर राष्ट्रिय रूपमा चिनिएका कविहरू थोरै छन् । अरू स्थानमा जस्तै यहाँ पनि रहरले कविता लेख्नेहरू धेरै छन् । त्यसमा पनि विशेष कविता लेख्ने विशिष्ट कवि थोरै छन् । चितवनमा कविता/काव्य प्रकाशित गर्ने कविहरूको संख्या दुई सयभन्दा धेरै छ भने कविता/काव्यका पुस्तक तीन सयभन्दा बढी छन् ।
प्रशासनिक रूपमा नारायणीपारि गैंडाकोटदेखि कावासोतीसम्म अलग जिल्ला र प्रदेश भए पनि त्यहाँका मानिसहरू व्यावहारिक रूपले चितवनसँग नजिक छन् । साहित्यिक रूपमा पनि चितवनसँग नै जोडिएका छन् । अझ गैंडाकोटका प्रायः साहित्यकारहरू चितवनकै साहित्यिक संस्था र कार्यक्रममा सक्रिय संलग्न छन् । डेढ दशकअघिसम्म काठमाडौं बाहिर बस्ने साहित्यकारहरूमा मोफसलहीन भाव उच्च थियो । राष्ट्रियस्तरको साहित्यकार बन्न काठमाडौं नै जानुपर्छ भन्ने थियो । धेरैजसोले साहित्यिक प्रकाशनका लागि काठमाडौं गएर अवसर खोज्थे ।
विस्तारै संसारलाई नै इन्टरनेटका कारण सामाजिक सञ्जालले एउटै स्क्रिनमा अटाइदिएपछि अहिले मोफलसहीनता लगभग अन्त्य भएको छ । एउटा कुशल लेखकले संसारको जुनसुकै कुनामा बसेर संसारको जुनसुकै कुनामा रहेकाहरूका लागि लेख्न सक्छ । अरू जिल्लामा जस्तै चितवनमा पनि केन्द्र र विश्वप्रसिद्ध साहित्यकारहरूको प्रभाव परेको छ, यसले नै समयअनुसार अघि बढ्नका लागि प्रेरणा दिएको छ । अवसर र प्रकाशनका दृष्टिले केन्द्र र मोफसलको धारणा लगभग भत्किइसकेको छ ।
यहाँ लेखिने कविता/काव्य/गजल/गीत आदिका प्रवृत्ति केन्द्रीय रूपमा जस्तो धार चल्दै आए लगभग त्यस्तै छन् । पहाडबाट झरेर यहाँ आएकाहरू धेरैले आफ्नो जरा नै समाएर लेखेका छन् । आखिर बाहिर देखिने हाँगा र पातहरूमा, फूल र फलहरूमा जराबाट आएको रस हुन्छ । जराकै कारण तिनमा जीवन सम्भव भएको हुन्छ ।
आआफ्नो ठाउँको प्रकृति, संस्कृति, व्यक्ति, परिवार र समाज संघर्ष, प्रेम, विद्रोह, आशा, निराशा आदि भाव कवितामा लेखेको पाइन्छ । यहाँ धेरै कवि भएकाले चितवनमा कैलाशनगर, रामबाग, गुलाफबाग, नारायणपुर, फूलबारीका केही उच्च भूभागलाई समेटेर उत्साही कविहरूले नाम दिए– कविडाँडा । यसको पण्डित्याइँ कवि सुरेन्द्र अस्तफलले गरेका हुन् ।
विभिन्न राजनीतिक परिवर्तन र समाज परिवर्तनमा पनि यहाँका कविहरू जागरुक छन् । विशेषगरी कविताका माध्यमबाट विद्रोह र चेतनाको आवाज गुन्जाउँछन् । चितवनको साहित्यमा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय प्रभाव पनि छ । अध्ययनका हिसाबले चितवन विश्वसाहित्यसँग जोडिएको छ, प्रकाशनका हिसाबले भने जोडिन बाँकी छ ।
२०५०/६० को दशकतिर आफू पनि कतिपय कार्यक्रममा सहभागी भएका नाताले यहाँका केही सीमाका बारेमा लेख्छु । अवस्था कस्तो थियो भने जुनसुकै कार्यक्रम भए पनि कविता पाठ अवश्य गरिन्थ्यो, दुईचार जनाले मात्र होइन उपस्थित प्रायः सबैले । खाजा जेसुकै होस् चिया अनिवार्य भए जस्तै कार्यक्रम जेसुकै होस् कविता अनिवार्य जस्तो थियो । पुस्तक विमोचनको कार्यक्रम होस् या पुरस्कार अर्पणको, अन्तर्क्रिया कार्यक्रम होस् या कुनै लेखकको जन्मजयन्ती अथवा श्रद्धाञ्जली— प्रायः कार्यक्रममा उपस्थित सबैले सम्बन्धित विषयमा कविता सुनाउँथे । दर्शकदीर्घामा दुईचार जना भइन्जेलसम्म पनि कविहरू कविता सुनाइरहेका हुन्थे । कविताप्रतिको मोह र सुनाउने लालसा यसप्रकारको थियो । अहिले कार्यक्रमहरू अलि विशिष्ट हुँदै आएका छन् ।
***
यो आख्यानको समय हो । पहिलेपहिले महाभारत जस्ता महाआख्यान पनि कवितात्मक रूपमा लेखिन्थे । साहित्यइतरका विषय पनि छन्दमा लेखिन्थे । सहजबोध र पठनका लागि महाकथाहरू आख्यानात्मक रूपमा लेखिन थाले । संसारभरि अहिले यही प्रवृत्ति देखिएको छ ।चितवनमा पनि यतिबेला आख्यान लेखिने क्रम बढेको छ । दुईतीन दशकअघिसम्म कविता र गजलमा केन्द्रित चितवन यतिबेला आख्यान केन्द्रित बनेको छ ।
गुणात्मकभन्दा संख्यात्मक रूपले धेरै हुनु नेपालको जस्तै विशेषता चितवनको पनि छ । संख्याले नै गुणलाई आफ्नो गर्भमा राखेको हुन्छ ।आजसम्म ११ दर्जन हाराहारीमा आख्यानका किताब प्रकाशित छन् । तिनले फरकफरक प्रवृत्ति बोकेका छन् । सबैका आख्यानका मुख्य आधार समाज, परिवार र परिवारभित्रको निजी प्रवृत्ति रहेका छन् । समाज र राजनीतिक परिवर्तनका लागि नवचेतनासहितको विद्रोह, स्वैरकल्पना, अनुसन्धानात्मकता, स्थानीयता, नारीवादी चेतना, वैदेशिक पीडा, आप्रवासी चेतना, पर्यावरणीय चेतना, दलित तथा आदिवासी चेतना, राजनीतिक द्वन्द्व र युद्ध, मनोविज्ञान, आप्रवासी चेतना, हास्यव्यंग्यात्मकता आदि प्रवृत्ति चितवनका आख्यानमा पाइन्छन् । यी विशेषता राष्ट्रिय प्रवृत्तिसँग मिल्छन् ।
हरिहर खलानकृत २०३७ मा प्रकाशित अजम्बरी गाउँ चितवनको पहिलो कथासंग्रह हो भने रामबाबु घिमिरेकृत २०३४ मा प्रकाशित रित्तो आकाश पहिलो उपन्यास हो । आजसम्म चार दर्जनभन्दा धेरै कथासंग्रह र पाँच दर्जनभन्दा धेरै उपन्यास यहाँबाट प्रकाशित छन् ।लघुकथा लेखन भने कथा र उपन्यासभन्दा पछि सुरु भएको देखिन्छ । २०५६ मा आत्मावतार शीर्षकको डा. सूर्यमणि अधिकारीकृत लघुकथासंग्रह पहिलो हो । त्यसपछि पुगनपुग दुई दर्जन लघुकथासंग्रह यहाँबाट प्रकाशित भएका छन् । सुरुमा आख्यान लेखनको गति सुस्त भए पनि अहिले तीव्र भएको छ । फुटकर कथाहरू प्रशस्त छापिने गरेका छन् । तिनका कतिपय प्रवृत्तिले राष्ट्रियस्तरमा प्रभाव पारेका छन् ।
***
कविता र आख्यानको तुलनामा मात्र होइन आफैंमा पनि निबन्ध सिर्जना देशकै जस्तो चितवनमा पनि अत्यन्त कम रहेको छ । अहिले निबन्धलाई संस्मरण र आत्मकथा तथा जीवनीले धानेका छन् ।
यति हुँदाहुँदै पनि छ दर्जनभन्दा धेरै निबन्ध पुस्तक लेखिएका छन् । प्रारम्भमा २०३८ मा रणेन्द्र बरालीको नेपालमा अछुत जातिको संघर्ष (केही योद्धाहरूको परिचय) लाई मानिन्छ । केही आत्मपरक, केही विवरणात्मक, केही वस्तुपरक र केही जीवनीपरक लेखन गरिएका छन् । रामबाबु घिमिरे, कपिल अज्ञात, राधा पौडेल आदि लेखकले निबन्धलाई विशिष्ट बनाएका छन् । यहाँ छ दर्जनभन्दा बढी निबन्ध प्रकाशित छन् ।
***
नाटक लेखन र मञ्चनमा चितवन धेरै पछि छ । यहाँ नारायणी कला मन्दिर जस्तो संस्था भएर पनि नियमित नाटक मञ्चन हुँदैन । मञ्चनको क्रम सुस्त भएपछि लेखन पनि सुस्त हुने नै भयो । पछिल्लो चरणमा सामाजिक यथार्थवादी खालका नाटक लेखन र मञ्चन गराएर पुष्प आचार्यले चितवनमा नाटकको नर्सरी जोगाएका छन् ।
एक महानगर र छ नगरपालिका भएको ठाउँमा एउटा मात्र नियमित नाटक मञ्चन गर्ने थिएटर नहुनु विडम्बना नै मान्नुपर्छ । नाटक लेखन र मञ्चन एउटा सभ्यता हो, संस्कार हो । नारायणगढका पुराना बासिन्दा वरिष्ठ कलाकार तथा नाट्यनिर्देशक ऋद्धिचरण श्रेष्ठका अनुसार २०१६ मा दार्जिलिङका एक जना लेखकले लेखेको विजय शीर्षकको नाटक नारायणगढमा मञ्चन भएको इतिहास छ ।
नारायणी कला मन्दिर भएकाले छ दशकको इतिहासमा जम्माजम्मी पाँच दर्जन नाटक मञ्चन भएका छन् । यहाँ काठमाडौंबाट समेत रंगकर्मीहरू आएर नाटक मञ्चन गरेका छन् । माधव घिमिरेको गीति नाटक मालतीमंगलेदेखि रामलाल जोशीको कथामा आधारित नाटक वीरबहादुर हुन् ।करिब दुई दर्जन जति नाटकका पुस्तक चितवनमा प्रकाशित छन् । ती नाटक धेरैजसो सामाजिक यथार्थवादी छन् । पछिल्लो समयमा नाटक लेखन र मञ्चनको प्राण धान्ने काम पुष्प आचार्य एवं मुकुन्द खलपात्रको समूहले गरेका छन् ।
***
समालोचनामा चितवनको उपस्थिति राष्ट्रियस्तरको छ । विशेषगरी साहित्यका अध्यापकहरूले समालोचनालाई सशक्त बनाएका छन् । पछिल्लो समयमा निसमालोचनाको प्रवृत्ति बढेको छ । अनुवाद, बालसाहित्यमा भने गति सुस्त देखिन्छ । जेहोस्, चितवनको साहित्यिक प्रभाव राष्ट्रियस्तरको देखिन्छ । यहाँ पठनसंस्कृति पनि उत्तिकै मौलाएको छ । न्यौपाने साहित्यकार हुन् । उनका सेतो धर्ती, पानीको घाम, करोडौं कस्तुरी लगायतका पुस्तक प्रकाशित छन् ।साभार :कान्तिपुर

