काठमाडौँ, साइबर अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । रास्वपाकी केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाले दिएको उजुरीका आधारमा प्रसाईं भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेका हुन् ।
काठमाडौं जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंलाई पक्राउ गरेपछि साइबर ब्युरोले थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
प्रसाईंले रास्वपा केन्द्रीय सदस्य संग्रौलाविरुद्ध ‘फेक समाचार’ उल्लेख गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि प्रसाईंलाई पक्राउ गर्न ढिलाई गरिएको भन्दै संग्रौलाले सामाजिक सञ्जालमा आपत्ति जनाएकी थिइन् । प्रसाईंका समर्थकले आफूलाई ज्यान मार्ने धम्की दिएको पनि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री प्रकाशनलाई निषेध गरिएको छ । ‘सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ कानुनमा भनिएको छ ।
साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द्र अर्यालले साइबर अपराधसम्बन्धी उजुरी परेका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिए । ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने ।

