काठमाडौं, अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४
जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ३५ वटा पशु चौपायको मृत्यु भएको छ ।
उक्त अवधिमा विपद्का घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।
विपद्मा जीउधन सुरक्षा
हरेक वर्ष वर्षायाम सुरु भएसँगै सार्वजनिक हुने खबरहरूमा पुनरावृत्त हुने शब्दहरू हुन्– मृत्यु, बेपत्ता, घाइते, अलपत्र, विस्थापित, घरबारविहीन । यो हाम्रो दुःखपूर्ण नियतिजस्तै भएको छ । यसपालि पनि मनसुन सुरु भएपछि बाढीपहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु भइसकेको छ । बाढीपहिरोमा परी शनिबार मात्रै नौ जनाले ज्यान गुमाएका छन् ।
केही दिनयताको वर्षाले मुलुकका विभिन्न स्थानमा जनजीवन प्रभावित छ । कतै बाढीपहिरोले घर बगाएको छ, पुरेको छ, यातायात सम्पर्क टुटेको छ । कतै घरहरू डुबेका छन् । कैयन् परिवार जोखिमपूर्ण अवस्थामा पुगेका छन्, कोही विस्थापित भएका छन् । हामी कामना गर्छौं– थप क्षति नहोस्, मान्छेको जीवन नगुमोस् ।मुलुकका विभिन्न स्थानमा शुक्रबारदेखि निरन्तर मध्यम (१०–५० मिलिमिटर) देखि अति भारी वर्षा (२०० मिलिमिटरमाथि) भइरहेको छ । पछिल्लो एक सातामा मात्र सयभन्दा बढी स्थानमा पहिरो गएको गृह मन्त्रालयको तथ्यांक छ । दुई दर्जनभन्दा बढी चल्तीका सडक अवरुद्ध भएका छन् । वर्षा अझै नथामिएकाले विपत्तिको जोखिम कायमै छ । यस्तो अवस्थामा सरकारले बाढीपहिरो र डुबानको जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा बेलैमा सार्न सक्नुपर्छ । बाढीपहिरोको पूर्वसूचना प्रणाली चुस्त बनाइनुपर्छ । विपत्मा परेकाहरूका लागि उद्धार गर्ने र राहत वितरण गर्ने संयन्त्रलाई सक्रिय बनाइनुपर्छ ।
घाइतेको उपचार गर्ने बन्दोबस्त मिलाइनुपर्छ । सबै खाले पीडित र विशेष गरी अतिरिक्त सहयोग चाहिने अशक्त, गर्भवती, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका, महिलालगायतका वर्गको जीवन सुरक्षाका लागि विशेष ध्यान दिन जरुरी छ । यातायात नै अवरुद्ध हुने गरी भत्किएका सडक र पुलको पुनर्निर्माण तत्काल थालिनुपर्छ । हामीकहाँ विपद्का लागि प्रतिकार्य योजनाको कार्यान्वयन पक्ष फितलो छ । हरेक वर्ष सरकारको काम गर्ने शैलीको आलोचना हुन्छ, सुधारका लागि सुझावहरू सिफारिस हुन्छन् तर सरकारले त्यसलाई गम्भीर रूपमा लिएको पाइँदैन । अर्थात् रणनीतिक तयारी गरेको पाइँदैन । अनि विपद्पिच्छे क्षतिको भयावह तथ्यांक सार्वजनिक हुन थाल्छ र कैयौंलाई बेचैन बनाउँछ ।
भू–संरचना र बसोबास संरचनाकै हामीकहाँ जोखिमको सम्भावना बढी छ । पूर्वाधार निर्माणमा पनि लापरबाही पनि उत्तिकै छ । पहाडी क्षेत्रमा जथाभाबी सडक खन्ने प्रवृत्ति छ, पहाडकै कतिपय ठूला सहर र तराई–मधेशमा भलको निकास थुनिने गरी संरचना बनाइएका छन् । परिणामतः हरेक बर्खायाममा बाढीपहिरो र डुबानको समस्या भोग्न हामी बाध्य छौं । तर थप केही पहल गर्ने हो भने विपद्को असर न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि आमजनता, सरकारलगायत सबै सरोकारवालाले ध्यान दिन आवश्यक छ ।
संघीय सरकारले गर्ने कामहरूको सूची तयार गर्न सकिन्छ । पहिलो, जोखिययुक्त ठाउँहरूको पहिचान गर्ने र त्यहाँ हुने बसोबासलाई सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्छ । यो आजको भोलि हुन सक्ने काम त होइन । तर समय छँदै पहल गर्ने हो भने यसले कैयौं सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सघाउँछ । दोस्रो, विपद्पछि उद्धार र राहतमा तदारुकता देखाउनुपर्छ । मानवीय सहयोग उपलब्ध गराउनुपर्छ । तेस्रो, विपद्मा परेकाको जीवनयापनका निम्ति सहजीकरण गर्नुपर्छ । यसमा उनीहरूको वैकल्पिक बसोबासको बन्दोबस्त, दीर्घकालीन आर्थिक र सामाजिक गतिविधिमा सहयोग तथा मानसिक आघातका असर न्यूनीकरणका पहल गर्न आवश्यक छ । स्वास्थ्य सेवादेखि बालबालिकाको पढाइसम्म निरन्तर हुन सक्ने वातावरण बनाउन सक्नुपर्छ । आर्थिक कोष निर्माण, खाद्यान्न र लत्ताकपडाको भण्डारण तथा ‘सहयोग समूह’ बनाउन सकियो भने यो काम प्रभावकारी ढंगले गर्न सकिन्छ । र चौथो, विपद्बाट बच्नका लागि निरन्तर जनचेतना फैलाउनुपर्छ । विपद् पूर्वतयारी संरचनाहरूलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्छ ।
सरकारको कुरा गर्दा प्रदेश र स्थानीय सरकारको पनि कुरा आउँछ । विपद्पीडितका सबैभन्दा नजिकमा हुन्छन्, स्थानीय सरकार । उक्त सरकारले विपद् आउनुअघि फैलाउने जनचेतना बढी प्रभावकारी हुन्छ । किनकि, हरेक ठाउँका सम्भावित जोखिमबारे सोही सरकारलाई बढी ज्ञान हुन्छ । उसले जनतासँग गर्ने संवाद बढी प्रभावकारी हुन्छ । साथै, बेलाबेलामा जनसहभागितामै विपद्का विषयमा सार्वजनिक छलफल पनि गर्न सक्छ । विपद्को क्षतिलाई न्यूनीकरण गर्न सकिने साझा र स्थानीय विशेषता अनुकूलको उपाय निर्माण गर्न सक्छ । राष्ट्रिय तथा स्थानीय स्तरमा काम गरिएका विभिन्न संघसंस्थाले पनि आफ्नोतर्फबाट भूमिका खेल्न सक्छन् ।
विपद्को सम्भावित असर भोग्ने सर्वसाधारण मानिस हुन् । त्यसैले उनीहरू थप सचेत बन्न वा उनीहरूलाई थप सचेत बनाउन आवश्यक छ । आफू बसोबास गरिरहेको ठाउँ प्राकृतिक विपद्को सम्भावित क्षेत्र हो वा होइन, ख्याल गर्नुपर्छ । हो भने स्थानान्तरणका लागि अग्रसर हुनुपर्छ । त्यसो गर्नु तत्कालै र सहजै नहुने भए पनि प्रयत्नशील रहनुपर्छ । पूर्वाधारका संरचनाका कारण विपद् ननिम्तियोस् भन्नेमा पनि सचेत रहनुपर्छ । जीवनको सहजीकरणका लागि मात्रै विकास हो भन्ने भुल्नु हुँदैन ।

