नेपालगन्ज। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले सरकारले जनताको स्वास्थ्य उपचारलाई प्रमुख प्राथमिकतामा राखेको बताएकी छिन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा बुधबार आयोजना गरिएको स्वागत तथा निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई सुलभ, सस्तो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि सरकार गम्भीर रहेको बताइन् ।
उनले अस्पतालमा जनशक्तिको अभाव एक प्रमुख समस्या रहेको उल्लेख गर्दै सरकारले सो समस्या समाधानका लागि गृहकार्य गरिरहेको जानकारी दिइन् ।
आफ्नो गृहनगरमा रहेको भेरी अस्पतालको निरीक्षणपछि राज्यमन्त्री खानले पश्चिम नेपालकै प्रमुख रेफरल अस्पतालको रूपमा रहेको यो अस्पतालमा जनशक्तिको अभाव सबैभन्दा ठुलो समस्या देखिएको जनाउँदै जनशक्ति र भौतिक पूर्वाधारका लागि आफूले विशेष पहल गर्ने बताइन् ।
सो अवसरमा आयोजित कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले भेरी अस्पतालको नयाँ भवन हस्तान्तरण छिट्टै गर्नुपर्ने माग गर्दै अस्पतालका सेवा सुविधामा सुधार ल्याउने प्रयास भइरहेको बताए।
अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले राज्यमन्त्री खानले आफ्नो कार्यकालका अस्पताललाई ५०० शय्याको बनाउन सके उहाँको लागि ऐतिहासिक उपलब्धि हुने बताए ।
सो अवसरमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पतालको सुविधा, विद्यमान समस्या, चुनौती र आवश्यकताका बारेमा प्रस्तुति गरेका थिए ।

