काठमाठौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पतालमा लामो लाइन लाग्ने अवस्थाबाट सहज बनाउने बताएका छन् ।
आइतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बिरामीले उपचारकालागि लाइन लाग्ने अवस्थाप्रति चिन्ता व्यक्त गरे । ‘आवश्यक सर्जरीका लागि, बिरामीहरुको लामो लाइन लाग्ने जुन अवस्था रहेको छ । समय लिनका लागि, एपोइमेण्ट लिनका लागि त्यसलाई सहज बनाउने र त्यसलाई अनलाइन वा डिजिटल प्रविधिमार्फत घरैबाट पनि अपोइमेण्ट लिनसक्ने र लामो भीड नहोस् र समयमा सबैले उपचार र सेवा पाओस् । त्यसका लागि आवश्यक गर्नुपर्ने कार्यहरु गर्ने नै हो । स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रयास पहिला पनि गरेको थिएँ, राम्रो रहेको फिडब्याक आएको छ,’उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भने, ‘अब त्यो भन्दा अझ अघि बढाउन सकिन्छ, बढाउनुपर्छ । नेपालको स्वास्थ्यमन्त्रालय अन्तर्गतका अस्पतालहरु, उपचारकेन्द्रहरु बनाउन सकिन्छ र त्यसलाई विकास गर्दै अघि जाने हो । स्वास्थ्यको उपचार सहज रुपमा सबैको पहुँचमा कसरी पुर्याउने नै अहिलेको ठूलो चुनौति रहेको छ । अन्य प्राविधिक कार्यहरु त्यसकै लागि हो । जनतालाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने हो । म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन ।’ मन्त्री उपेन्द्र यादवले पहिलो निर्णयका रुपमा दुई वटा निर्णय गरेका छन् । आइतबार सपथलगतै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका यादवले महत्वपूर्ण दुई निर्णयहरु गरेका हुन् । जसमा उनले संघीय निजामती ऐनमा स्वास्थ्य सेवा ऐन समायोजन गर्न कार्यदल बनाउने निर्णय गरेका छन् । स्वास्थ्य समायोजनमा विविध समस्याहरु रहेका बेला यो कार्यदलले केही सकारात्मक पहलका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ । यसैगरी, मन्त्री यादवले संघीय अस्पतालहरुमा शल्यक्रियाका लागि सहज बनाउन अनलाइन सिष्टम लागु गर्ने अर्को निर्णय गरेका छन् । अहिले संघीय अस्पतालहरुमा शल्यक्रियाका लागि महिनौ कुर्नुपर्ने बाध्यता सर्वसाधारणले भोगिरहेका छन् । अनलाइन सिष्टम लागु भएपछि त्यसले शल्यक्रिया कुनुपर्ने समय कम गर्ने अपेक्षा गरिएको छ । पदभारग्रहणपछि संक्षिप्त मन्तव्य राख्दैं स्वास्थ्यमन्त्री यादवदे चार वर्षअघि आफ्नै घरमा फर्केर आएकोजस्तो अनुभूति भएको बताए । ‘मैले पहिले पनि स्वास्थ्यका नीतिगत सुधारका कामहरुमा ध्यान दिएको थिए,’ उनले भने, ‘पहिलेको भन्दा अहिले अवस्था छ, रोगहरुको प्याटर्न फरक छ । त्यसैअनुसार कामहरु गर्नुपर्नेछ ।’ उनले कर्मचारी प्रशासनबाट आफूले पहिले जसरी नै सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।
यादव १८ जेठ २०७५ मा पनि यही जिम्मेवारीमा थिए । करिब डेढ वर्ष मन्त्रालय चलाएका उनी ४ मंसिर २०७६ मा बाहिरिएका थिए ।
अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ ।
मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए ।त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए । डा. ज्ञवालीका अनुसार उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको थियो ।
थापा विहान १० बजे नै अस्पतालमा उपचारका लागि पुगेका थिए । तर लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट काट्नेहरुको लामो लाइन थियो ।

