काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक्टिभ लाइभले थुप्रै अप्ठ्यारा, कष्टहरु पीडाहरु पचाउन मद्दत गरेको चर्चा गर्दै आफ्नो ‘रिटायर्ड लाइफ’ नहुने बताएका छन् । उनले १० वर्ष अघि राजनीतिक अवकाशबारे सोचे पनि अब भने सक्रिय राजनीतिक जीवन बिताउने निष्कर्षमा पुगेको बताएका छन् ।
‘एक्टिभ लाइभले मेरो थुप्रै अप्ठ्यारा, कष्टहरु पीडाहरु पचाउन मद्दत गर्या छ । रिटायर्ड भएर बसे भने निकै कष्टकर हुन्छ । म जीवनभर एक्टिभ लाइभ बिताउने विचार गरेको छु । सायद मेरो रिटायर्ड लाइफ हुँदैन,’ उनले संजय सिलवाल गुप्ताको पडकास्टमा भनेका छन्, ‘भोलि परिस्थितिले बनायो भने बेल्लै गरेको हो । म केचाहिँ भन्दिनँ भने पदमा रहेर मात्र एक्टिभ रहने भन्ने हुँदैन ।’
‘सक्रिय राजनीतिबाट विश्राम मेरो जीवनमा सायद हुँदैन,’ उनले गुप्तासँगको कुराकानीमा भनेका छन्, ‘२०७० को वरिपरि रिटायर्ड लाइभ लिनुपर्छ कि भन्ने लाग्थ्यो मलाई । तर आजभोलि लाग्दैन । रिटायर्ड लाइफ मेरो लागि अझ कष्टकर हुन्छ भन्ने लाग्न थालेको छ । म अध्यक्ष बाचुञ्जेल हुन्छु भन्ने छैन । प्रधानमन्त्री त हन्छु भने पनि पाइँदैन । त्यसको आफ्नै नियम छ । एक्टिभ भएर समाजसेवा, राजनीति मार्फत् देश जनतालाई र दुनियाँलाई योगदान गर्ने कुरामा मेरा विश्राम हुँदैन ।’

