सेनेरिटरी प्याडको प्रयोग नगर्ने र धेरै जनासँग यौन सम्बन्धमा रहने हुँदा महिलाहरूलाई भने पाठेघरको मुखको क्यान्सरले सताएको छ । त्यसबाहेक एचपिभी खोपको उपलब्धता नहुँदा पनि महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रताडित रहेको नेपाल क्यान्सर फाउन्डेसनका कार्यकारी प्रमुख डाक्टर वीरेन्द्र यादवको भनाइ छ ।
नेपालमा क्यान्सर उपचारबाट निको नहुने रोग हो भन्ने आम बुझाइ छ । तर, क्यान्सर लागेमा निको नहुने मानसिकता भ्रममात्र भएको बताउँदै डा. यादवले क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे पूर्ण रूपमा निको हुने बताए । सचेतनामूलक कार्यक्रम प्रभापकारी रूपमा गर्न नसक्दा र उपचारमा सबैको पहुँच हुन नसक्दा यस्तो गलत मानसिकताले गाँजेको डा. यादव बताउँछन् ।
‘क्यान्सर गम्भीर स्वास्थ्य समस्या हो, यो निको नै हुँदैन भन्ने आमबुझाइ छ,’ उनी भन्छन्, ‘सचेतना र स्वास्थ्य शिक्षाको अभावले गर्दा यस्तो भएको हो ।
बेलैमा उपचार गरेमा क्यान्सर निको हुन्छ । यस्ता विषयमा सही सूचना सर्वव्यापी बनाउन सरकार र निजी संघ–संस्था लाग्नुपर्छ ।’
क्यान्सरको चौथो चरणको अवस्थालाई जटिल मानिन्छ । यो चरणको क्यान्सर अन्य अंगमा पनि फैलिसकेको हुन्छ । जसले गर्दा शल्यक्रिया गरेर पनि केही पूर्ण रूपमा निको पार्न सकिँदैन । यसैले पहिलो चरणअघि नै सम्भावित क्यान्सरबारे पत्ता लगाउन सकियो भने क्यान्सरको जोखिमबाट जोगिन सकिने डा. यादव बताउँछन् । ‘जति चाँडो क्यान्सर पत्ता लगाउन सक्छौं, त्यति नै छिटो यो निको हुन्छ,’ उनले थपे ।
क्यान्सरको उपचार खर्चिलो हुन्छ । यसैले नेपाल सरकारले क्यान्सर रोगीलाई आर्थिक सहायतास्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर, त्यो रकम पनि कम भएको डा. यादव बताउँछन् । ‘जति ढिलो क्यान्सर पत्ता लाग्यो, त्यति नै खर्चिलो पनि हुँदै जान्छ,’ उनले भने, ‘यसैले त सरकारले दिने आर्थिक सहायता कम भएको महसुस हुन्छ ।’
विगत चार वर्षयता झापाको बिर्तामोडमा सञ्चालित पूर्वाञ्चल क्यान्सर अस्पतालले सामाजिक जिम्मेवारी पूरा गर्न भन्दै प्रत्येक साता ‘क्यान्सर शिविर’ चलाउँदै आएको छ । आर्थिक अभावका कारण उपचार नपाएका क्यान्सरका बिरामीलाई निःशुल्क रूपमा उपचार गराइरहेको डा. यादवले बताए । हालसम्म पाठेघरको मुखको क्यान्सरबाट पीडित बनेका १४ हजार महिलाको उपचार निःशुल्क रूपमा गरिएको अस्पतालले जनाएको छ ।
तीन सय शैय्या क्षमताको अत्याधुनिक उपकरणसहितको उक्त अस्पतालमा २२ जना दक्ष चिकित्सकीय टोलीले उपचार सेवा दिइरहेका छन् ।

