काठमाडौं । तपाई उपचार गराएका डाक्टर नक्कली त परेनन ? लौ हेर्नुहोस । तीन वर्षदेखि काठमाडौंमा एक जना नक्कली डाक्टरले स्वास्थ्य जाँच गरेको दावी गर्दै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति हुन्, एस भट्टाचार्य भनिने सम्बुद्ध भट्टाचार्य । काठमाडौंको बाँसबारी बस्दै उनले अहिलेसम्म ७ सय जनाको उपचार गरिसकेको खुलेको छ।
मोरग, विराटनगर–२ का भट्टाचार्यले पोलिक्लिनिकमा बसेर बिरामी जाँच गर्दै आएको पाइएको छ । ४० वर्षिय भट्टाचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनले चीनबाट एमबीबीएस पास गरेको र त्रिवि शिक्षण अस्पतालमा समेत काम गरेको बताएर भ्रममा पारेको प्रहरीको दावी छ । ४० वर्षिय भट्टाचार्यले काठमाडौं,बसुन्धारास्थित टोखामा रहेको धौलागिरि हिमाल पोलिक्लिनिकमा काम गरेको प्रहरीले जनाएको छ ।नक्सालमा वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार र धौलागिरी पोलिक्लिनिकमा ३० जना बिरामीको उपचार गराएको उनले प्रहरी समक्ष बताएका छन्। धौलागिरिमा बिरामी जाँच वापत प्रतिबिरामी उनले ५ सय रुपैयाँ लिने गरेका थिए भने वी केयरमा ७५० रुपैयाँ लिने गरेका थिए ।
नेपाल मेडिकल काउन्सिलको नम्बर प्रयोग गरी नेपाल चिकित्सक संघ र त्रिवि शिक्षण अस्पतालको कार्ड रहेको पाइएको छ।भट्टाचार्यले काउन्सिलको लाइसेन्सस नम्बर ९६७० रहेको दाबी गरेका थिए। तर काउन्सिलमा उक्त नम्बर गोरखा घर भएकी श्रेष्ठ थरकी महिला डाक्टरको नम्बर भएको पाइएको छ ।

