काठमाडौं । बलरा नगरपालिका सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्र विरुद्ध १ करोड ३० लाख रुपैंया बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दावी गर्दै मुद्दा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । सार्वजनिक पदमा बहाल रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमा अख्तियारले २०५७ असार ८ देखि २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा मिश्रको आयव्यय माथि अनुसन्धान गरेको थियो ।
कुल आय १ करोड ४५ हजार ८ सय ४ रुपैंया रहेको थियो । व्ययतर्फ २ करोड ४३ लाख ९१ हजार ५ सय ६५ रुपैंया खर्च तथा लगानी गरेको पुष्टी भएको छ । मिश्रले गैरकानुनी तवरले १ करोड ३० लाख ४५ हजार ७ सय ६० रुपैंया आर्जन गरेको देखिएकोले त्यति नै जरिवाना गरी जफत हुन र कैद सजायको मागदावी गरिएको छ । यो मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ ।

