काठमाडौं । आँखा दान महादान भन्ने उक्तिसँगै दृष्टिविहिनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गतको नेपाल आँखा बैंकले समय समयमा मरणोपरान्त आँखाको नानी दान गरि अमरत्व प्राप्त गर्नुहुनेहरुको सम्झना र सम्मानमा उहाँहरुका परिवारहरुको उपस्थितिमा श्रद्धा सुमन अर्पण गर्न सामुहिक श्रद्धाञ्जली–सभा को आयोजना गर्न लागिएको छ । विगत ३ वर्षमा कोभीडको कारणले हुन सकेन । यही परम्परालाई निरन्तरता दिंदै यस वर्ष पनि जेष्ठ २७ गते अर्थात् जुन १० तारिख शनिवारका दिन यस सभाको आयोजना हँदैँछ ।
आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा,अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण गरि पुनः दृष्टि दिलाउनु नै हो । नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन् । त्यस्ता व्यक्तिहरुका लागि तपार्इँ हामीले मृत्यु पश्चात आँखा दान गरिदिने हो भने दुई देखि चार दृष्टिविहिनले यो संसार पुनः देख्न पाउँछन् । त्यस्ता व्यक्तिहरुका लागि नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ । नेपाल आँखा बैंकमा हाल सम्म झण्डै १ लाख भन्दा बढी दाताले मृत्यु परयन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने १२ हजार भन्दा बढीले आँखाको नानी दान प्राप्त गरि पूनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ ।
विभिन्न कारणवश आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो । आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गदर्छ । सुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्या भने अहिले यी सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंमा रहेका ४ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल,गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैकबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ । त्यस्तै गरेर स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर,लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षत्रिय आँखा नानी संकलन केन्द्रहरु स्थापना भई आँखाको नानीहरु संकलन गरिरहेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग भन्नुहुन्छ, धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो । अहिले धेरै मानिसहरुको आँखा दान प्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पूनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुदैछ । नेपाल भरि आँखा बैंकको सेवा दिई राखेका छाँ।
नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायना भन्नुहुन्छ, मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादान लाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहिनलाई पूःन दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुनसक्छ । नेपालमा आँखादान गर्न र गराउनको लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले
नेपाल आँखादान समाजको पनि स्थापना भएको छ । यसले नेपालभरि सबै क्षेत्रमा शाखा÷प्रशाखा मार्फत आँखादान सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरि आँखाको नानीको कारणले दृष्टिविहिन भएकालाई देख्न देखाउन कार्यक्रमहरुको तर्जुमा गरेको छ । यसमा कोही शुभचिन्तक आफ्नो स्थानीयस्तरमा समाहित भएर लाग्न सक्नुहुनेछ ।
यस आँखा बैंकले निर्धारण गरेको अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा गरि अन्तराष्ट्रिय गुणस्तरलाई कायम राख्दछ । बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देश भित्रबाटै संकलन गरि स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराएको छ ।
सबैलाई दृष्टि दिने हाम्रो यस अभियानमा शुरुवातदेखि पशुपति विकास कोष र अन्तराष्ट्रिय सहयोगी संस्था हिमालयन क्याट्र्याक्ट प्रोजेक्टले गरेको योगदान लगायत फ्रेड हलोज फाउण्डेसन, लायन्स क्लव अफ पशुपतिनाथ ,नेपाल आँखा दान समाजलाई प्रतिष्ठानले धन्यवाद व्यक्त गरेको छ ।

