काठमाडौं । चिकित्सकहरुको परामर्श शुल्क बढ्ने भएको छ । नेपाल चिकित्सक संघ तथा निजी अस्पतालहरुको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) को बैठकले चिकित्सकहरुको परामर्श शुल्क १४ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो ।
यो निर्णय आगामी जेठ १ देखि लागु हुने चिकित्सक संघले जनाएको छ । अनुभव तथा योग्यताका आधारमा तोकिएको नयाँ परामर्श शुल्क न्यूनतम ४२० रुपैयाँदेखि बढीमा ९४० रुपैयाँसम्म कायम गरिएको छ । अब एमबीबीएस तथा बीडीएस गरी ५ वर्षसम्म अनुभव भएकाहरुले ४२० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ लिन पाउनेछन् ।
यस्तै, एमडी एमएसको योग्यता भई पाँच वर्षसम्म अनुभव भएकाहरुले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले आठ सय रुपैयाँ लिनेछन् । डीएम एमसीएच गरी पाँच वर्षसम्म अनुभव भएकाहरुले ८८० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउने नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा प्रत्येक २/२ वर्षमा शुल्क पुनरवलोकन गर्ने अधिकार २०७८ भदौ ३० मा नै दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बढेको शुल्क निजी स्वास्थ्य संस्थाहरुमा लागु हुनेछ । तर, गरिब, असहायलगायत १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने नियम भने निजी अस्पतालहरुले पालना नगरेको मन्त्रालयको भनाइ छ ।
यसअघि २०७७ मा चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन गरिएको थियो ।

