जेनेभा (बीबीसी) : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड– १९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’को रूपमा नरहेको घोषणा गरेको छ। उसको विज्ञप्तिलाई महामारी अन्त्यतर्फको एउटा मुख्य कदम ठानिएको छ।
डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो। अधिकारीहरूका अनुसार कोभिडको साप्ताहिक मृत्युदर सन् २०२१ को जनवरीमा एक लाखभन्दा बढीको उच्च विन्दुबाट गत महिना साढे तीन हजारमा झरेको छ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले देशहरू अब आपत्कालको अवस्थाबाट उल्लेख्य रूपमा खतराको व्यवस्थापन गर्ने अवस्थामा प्रवेश गर्न सक्ने बताएका छन्। तर, उनले सबैभन्दा उच्च तहको सतर्कता हटाउने निर्णय गर्नुको अर्थ खतरा सकिएको भन्ने नरहेको बताउँदै अवस्था फेरिएमा आपत्कालीन अवस्थालाई पुनः ब्युँत्याउन सकिने बताए।
‘बिहीबार आपत्कालीन समितिको १५औं बैठक भएको थियो र त्यसले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल अन्त्यको घोषणा गर्न सिफारिस गर्यो। त्यसलाई मैले स्विकारेँ,’ डा. गेब्रेयससले भने, ‘त्यसैले मैले निकै आशाका साथ कोभिड– १९ विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा सकिएको घोषणा गर्दछु।’विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड– १९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको छ । बिहीबार बसेको डब्लुएचओको आपत्कालीन समितिको बैठकले तीन वर्षअघि कोभिड– १९ लाई गरिएको ‘अन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य संकटकाल (पिएचइआइसी)’ को वर्गीकरण अन्त्य गर्ने निर्णय गरेको हो ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा निर्णयको जानकारी गराए । ‘ठूलो आशाका साथ म कोभिड– १९ विश्वव्यापी स्वास्थ्य आपत्काल नरहेको घोषणा गर्दछु,’ घेब्रेयेससले भने । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोभिड– १९ का लागि जारी संकटकाल अन्त्यको घोषणालाई महामारीकै समाप्तिका रूपमा नलिन चेतावनी दिएको छ ।
डब्लुएचओले पहिलोपटक ३० जनवरी २०२० मा कोभिड– १९ लाई ‘कोभिड संकटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा बैठक बसेर सावधानीको चेतावनी जारी गर्दै आएको छ ।
संगठन कुनै पनि मुलुकले यसलाई कोभिडविरुद्ध सतर्कता हटाउने कारण बनाउन नहुने सुझाव दिएको छ । ‘संकटकालीन चरण सकिएको हो, कोभिड आफैँ सकिएको होइन,’ विश्व स्वास्थ्य संगठनकी कोभिड विषयक प्राविधिक प्रमुख डा. मारिया भान केरखोभले भनिन् । विज्ञहरूले व्यावहारिक रूपमा विश्व स्वास्थ्य संगठनको यस घोषणाले त्यति ठूलो परिवर्तन ननिम्त्याउने बताएका छन् । अधिकांश मुलुकले तिनको सीमाभित्र कोभिड– १९ विरुद्ध लागू संकटकाल अन्त्य गरेर भाइरस नियन्त्रणका लागि पहिले लागू भएका प्रायः सबैजसो नियन्त्रण हटाइसकेका छन् ।
कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिरहेको समय २०२० मार्चमा डब्लुएचओले कोभिड– १९ लाई महामारीको रूपमा घोषणा गरेको थियो । डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोभिड– १९ का ७६ करोड ५२ लाखभन्दा बढी संक्रमितको पहिचान भयो भने ६९ लाख २१ हजार ६ सय १४ सोही रोगका कारण बिते । सोही तथ्यांकअनुसार नेपालमा हालसम्म कोभिड– १९ का १० लाख तीन हजार चार संक्रिमित भेटिए भने १२ हजार ३० को मृत्यु भएको पुष्टि भएको छ ।
कोरोना भाइरसका कारण झन्डै ७० लाख मानिसहरूको मृत्यु पुष्टि भएको बताउँदै उनले उक्त संख्या खासमा तीन गुणा बढी हुन सक्ने टिप्पणी गरे।
विश्वभर : ७६ करोड ५२ लाख संक्रमित, ६९ लाख २१ हजार ६१४ को मृत्यु
नेपालमा : १० लाख ३ हजार ४ संक्रमित, १२ हजार ३० को मृत्यु

