आमाबुबाले ओखलमा जडीबुटी कुट्न लगाउँदा उनले कहिल्यै नाइँनास्ति गरेनन् । औषधि बनाउन होस् या घर/घरमा पुर्याउन कहिल्यै अल्छी मानेनन् । वैद्य परिवारमा जन्मेका उनलाई विद्यालय शिक्षा अध्ययनका क्रममा आधुनिक चिकित्सातर्फभन्दा परम्परागत उपचार विधितर्फ आकर्षण बढ्यो । सानैदेखि जडीबुटीसम्बन्धी हस्तलिखित ‘थ्यासफू’ घण्टौं लगाएर अध्ययन गर्थे । दरबार हाइस्कुलबाट २०३९ सालमा एसएलसी पास गरे । बुबा हरिकृष्ण र कान्छाबा कविराज विश्वनाथ वैद्यसँग नाडी विज्ञान पनि सिके । किशोरावस्थादेखि नाडीको गति नापेर बिरामीको उपचार गर्दै आइरहेका उनी बुढ्यौलीमा पनि उत्तिकै सक्रिय छन् । उनी हुन्– काठमाडौं नरदेवीका ६५ वर्षीय वासुकृष्ण वैद्य ।
उनको पुस्ताले परम्परागत वैद्य उपचार गर्दै आइरहेको ५ सय ६ वर्ष पुरानो लिखित इतिहास छ । इतिहासविद् महेशराज पन्तले ‘पूर्णिमा’ पुस्तकमा नेपाल संवत् ६३७ देखि ८८५ सम्म पाटन सौगलमा मल्लकालीन राजाको मूल वैद्य लामुल वैद्य भनी उल्लेख गरेका छन् । लामुलको अर्थ राजवैद्य हो । असनबाट इन्द्रचोक जाँदा सय मिटर हिँडेपछि बालकुमारी केलटोल पुगिन्छ । त्यहाँ तिलिंगा अर्थात् पल्टन घर छ । पृथ्वीनारायण शाहका छोरा प्रतापसिंहको पालामा काजी अभिमान सिंह बस्न्यातले काठमाडौंमाथि विजय प्राप्त गर्न भूमिका खेल्ने ७२ जना सेनाको नाममा १८३२ मा ‘तिलिंगा घर’ बनाएको इतिहास छ । त्यही घरमा ७ पुस्तादेखि ‘तिलिंगा औषधालय’ को नाममा वैद्यको औषधि पसल चलेको छ । पछिल्ला पुस्ता हुन्– वासुकृष्ण ।
उनी सुनाउँछन्, ‘हाम्रो पुर्खा जहाँ–जहाँ लडाइँ हुन्थ्यो, त्यहाँ पुगेर घाइते सिपाहीको उपचारमा खटिन्थे । शाहवंशीय राजाहरूले राज्य विस्तारका क्रममा वैद्यहरूलाई सँगसँगै लैजाने गर्थे । वैद्यहरूले खेलेको भूमिकाको कदर गर्दै काजी बस्न्यातले तिलिंगा घरमा औषधालय खोल्न अनुमति दिएका थिए ।’ सुरुवातमा औषधालय ६ खण्ड (३ कवल) मा फैलिएको थियो । औषधि बनाउने कामदार १२ देखि १५ जना थिए । हातखुट्टा भाँचिएका, मर्केका, नाक, कान, घाँटी, आँखा दुखेर उपचार गर्न आउनेको भीड लाग्थ्यो । औषधि बनाउन र बेच्न भ्याइनभ्याइ हुन्थ्यो । औषधि बनाउन आवश्यक हीरामोती, रत्न, पन्ना, मुगाजस्ता बहुमूल्य वस्तु र जडीबुटी घरमै ल्याइदिन्थे । पछि मानिसहरूको आकर्षण आधुनिक उपचार पद्धतिमा बढ्न थालेपछि ठूलोबुबा र माइला बुबाले छाडेर हिँडे । उनीहरूका सन्तानले पनि निरन्तरता दिएनन् ।
अहिले वासुकृष्ण एक्लैले औषधालय चलाउँदै आएका छन् । पसल पनि एउटा खण्डको पनि आधामा खुम्चिएको छ । कामदार पनि एक–दुई जनामा मात्र छन् । वासुकृष्णका सन्तानले पनि अर्कै पेसा अँगालिसकेका छन् । आफू भने कमाउनेमा भन्दा पनि पुण्य काम ठानेर सेवा दिइरहेको वासुकृष्णले सुनाए । भने, ‘वरिष्ठ डाक्टरहरूले सन्चो बनाउन नसकेका रोग निको बनाउन पाउँदा आत्मसन्तुष्टि मिल्छ । यसलाई ठूलो धर्मको रूपमा लिएको छु ।’ पछिल्लो समय उपत्यकामा थुप्रै वैद्य पसलहरू खुलेका छन् । तर, अरूभन्दा तिलिंगा औषधालय फरक छ । यहाँ नाडीको चाल जाँचेर उपचार गरिन्छ । ‘तिलिंगा’ ब्रान्डको औषधिबाहेक अन्य ब्रान्डको कमै मात्रामा बिक्री गरिन्छ । वासुकृष्ण औषधि हातैले तयार पार्छन् । मिसावट गर्दैनन् । भन्छन्, ‘कम मात्रामा बनाउँछु । शुल्क महँगो पर्न सक्छ । तर, औषधि शुद्ध बनाउँछु ।’ उनी घरमै च्यवनप्रास तयार पार्छन् । क्यान्सर, मिर्गौला, सुगर, प्रेसर, बाथ, हाडजोर्नी, छाती, पेट दुखेको, निद्रा नलागेको, दम, अल्सर, पत्थरी, रुघाखोकी, ज्वरो, टाइफाइड, जन्डिस, खटिरा, दाग, पुरानो घाउ बल्झेको, मर्केको ठाउँमा लगाउने लेपलगायत ६४ थरीका औषधि उत्पादन गर्छन् । उनी अहिले औषधि बनाउन आवश्यक यार्सा, पाँचऔंले, सिलाजित, जटामसी, सेतोचिनी, सतुवा, हर्रो, बर्रो, पाखनवेद, चिराइतोजस्ता बहुमूल्य जडीबुटी पाउन पनि मुस्किल पर्ने गरेको सुनाउँछन् । ‘पहिला ललितपुरको लेले, चापागाउँ, गोदावरीदेखि लिएर हुम्ला, जुम्ला, मुगु, सिन्धुली, पोखरा, नुवाकोट, ताप्लेजुङ, पाँचथरलगायत क्षेत्रबाट आउँथ्यो,’ उनले भने ।
उनको पुस्ताको इतिहास यतिमा सीमित छैन । तत्कालीन राजा रणबहादुर शाहको पालामा बिफर लागेकालाई तामाकोशीपारि डाँडो कटाइन्थ्यो । उतिबेला देश निकालापछि बिफरले छोएका बालबालिकालाई पश्चिममा मर्स्याङ्दीपारिसम्म पुर्याइयो । धेरै नेवार परिवारले बालबालिकासहित उपत्यका छाड्नुपर्यो । बिफरसँगै खिचा कै, भुस कै, क्यएक्यए कैजस्ता खटिराले पनि मानिसलाई सताएको उनी सुनाउँछन् । त्यस्तो विपद्का बेला आफ्ना पुर्खाले उपचार गरेर धेरैको ज्यान जोगाएको उनले बताए । उनी भन्छन्, ‘तःकैले त सद्दे मानिसलाई तुरुन्तै कुरूप बनाउँथ्यो, दृष्टिविहीन बनाउँथ्यो र मृत्युको अवस्थासम्म पुर्याउँथ्यो । त्यो बेला पुर्खाले धेरैलाई घरायसी खोप बनाएर उपचार गरेको इतिहास छ ।’
गोरक्षबहादुर न्हुछे प्रधानको पुस्तक ‘मेरा श्रद्धेय पुर्खाबारे संक्षिप्त इतिहास’ मा रणबहादुर शाहकी पत्नी कान्तिवती बिरामी परेको र वैद्यले दिएको औषधि सेवनले रानीको शरीरमा फोकाहरू उठेको उल्लेख छ । राजाले नचाहिने औषधि खुवाएको भनी वैद्यलाई मृत्युदण्ड दिएका थिए तर पछि उक्त वैद्यले दिएको औषधि ठिकै भएको कुरा खुल्न आयो । रानीले खानपिनमा ध्यान नदिँदा बिरामी परेको पुष्टि भएपछि दरबारमा वैद्यहरूलाई थप सम्मान दिएको प्रधानको पुस्तकमा उल्लेख छ । वासुकृष्णका अनुसार पहिला दरबारमा वैद्यहरूले महारानीलाई छुन पाउँदैनथे । काँचो धागो नाडीमा बेरेर त्यसबाट गति पत्ता लगाएर रोग पत्ता लगाउने गरिन्थ्यो ।
उपत्यकामा प्राचीनकालदेखि नाग वैद्य, ग्वलः र व्याघ्री वैद्य प्रख्यात छन् । बाघको घाँटीमा हड्डी अड्किँदा उपचार गरिदिएका वंशज व्याघ्री वैद्यको रूपमा परिचित छन् । व्याघ्री वैद्य वासुकृष्णका पुस्ता मानिन्छ । नाग वैद्य कर्कोटक नागराजाकी श्रीमतीको आँखा दुख्दा निको बनाइदिने ज्यापू वैद्य हुन् । लंकाका राजा रावण गोकर्णमा तपस्या बस्दा बिरामी परेपछि बेसारको ओखती बनाएर खुवाई निको बनाइदिने पशुपति क्षेत्रका ग्वल वैद्यको रूपमा परिचित छन् । पहिलाका राजाहरूले रोग निको बनाइदिएबापत उपहार दिने गरिन्थ्यो । ज्यापू वैद्यलाई कर्कोटक नाग राजाले मणि, माणिक्य आदि बहुमूल्य हीरा जडित भोटो उपहार दिएको किम्वदन्ती छ । जुन रातो मत्स्येन्द्रनाथको भोटो जात्राका क्रममा प्रत्येक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा ललितपुरको जावलाखेलमा देखाइन्छ । व्याघ्री वैद्यहरूलाई पनि त्यतिबेला राजाहरूले थुप्रो जग्गा जमिन उपहार स्वरूप दिएको इतिहास छ । इतिहासविद् पन्तले पूर्णिमा पुस्तकमा ‘पाटनको शातिग्ल (सौगल) चाबहालका विश्वराज वैद्यलाई राजा सिद्धिनरसिंह मल्लले ने.सं. ७४७ (वि.सं. १६८४) वैशाखकृष्ण नवमीको दिन त्यही बहालको, १ खा, १७ हात नापो भएको, तरकारी बारी १४ मोहर टङ्कामा बेची गरिदिएको राजीनामा पत्र’ भनी उल्लेख गरेका छन् ।
रोग निको बनाइदिएबापत उपहार दिने चलन अहिले पनि छ । कतिपयले डाक्टरहरूले निको बनाउन नसकेको रोग सन्चो बनाइदिएको भनी सुनको औंठी दिनेहरू पनि छन्,’ वासुकृष्ण सम्झन्छन्, ‘कतिपयले चाँदीको करुवा त कतिपयले चाँदीका सुकुन्दा दिनेहरू छन् ।’ परम्परागत औषधि बनाउन वासुकृष्णकी ६२ वर्षीया श्रीमती निर्मला वैद्य पनि उत्तिकै सक्रिय छिन् । विवाहअघि निर्मलालाई आयुर्वेद औषधिका बारेमा ज्ञान थिएन । महत्त्व बुझेयता निरन्तरता दिँदै आइरहेको उनले बताइन् । निर्मला सुनाउँछिन्, ‘पहिले त मलाई केही थाहा थिएन । आयुर्वेद औषधिले पनि रोग निको हुन्छ र भन्ने लाग्थ्यो । तर, विस्तारै यसको महत्त्व बुझ्दै गएँ । पछि म पनि औषधालयमै व्यस्त हुन थालेँ ।’
इतिहासविद् पन्तका अनुसार औषधालयलाई लिच्छविकालमा ‘अरोग्यशाला’ भनी सम्बोधन गरिएको छ । आयुर्वेदका बारेमा राष्ट्रिय अभिलेखालयमा नेपाल संवत् सुरु हुनुभन्दा अगाडिका ग्रन्थहरू छन् । तर, अध्ययन अनुसन्धान भने कमै मात्रामा हुने गरेको बताएका पन्तले भने, ‘सम्बन्धित निकायले चासो नदिँदा क्रमशः आयुर्वेदको ज्ञानहरू हराउँदै गएको छ । हामी सानोछँदा आयुर्वेदको औषधि खाएमा नेपालको पैसा विदेश जाँदैन भन्थ्यो । तर, अहिले आयुर्वेद औषधि प्रायः विदेशबाट आउन गरेको छ । विगतमा भारत, बेलायत, जर्मनी, फ्रान्सलगायत मुलुकबाट नेपाली औषधिको माग हुन्थ्यो ।’
नेपाल आयुर्वेद चिकित्सक संघका पूर्वअध्यक्ष डा.प्रकाश ज्ञवालीले सरकारले चासो दिएमा नेपाललाई आयुर्वेद उपचारको केन्द्र बनाउन सकिने बताए । ‘संसारमा नभएको जडीबुटी नेपालमा छ । तर, नीतिगत अलमलका कारण आम्दानीको बाटो बनाउन सकिरहेको छैन,’ उनले भने, ‘वार्षिक ४० अर्बभन्दा माथिको व्यापार छ । फाइदा सबै विदेशी कम्पनीले लिइरहेको छ ।’ जडीबुटी वन मन्त्रालयअन्तर्गत छ । ‘तर, वनले काठजन्य वस्तुलाई बाहेक जडीबुटीको बारेमा त्यति ध्यान दिन सकिरहेको छैन,’ उनले भने, ‘भारतमा जस्तै नेपालमा पनि वनस्पति बोर्ड बनाउन सकेमा समस्या समाधान गर्न सकिन्छ ।’
पल्टन घरमा वैद्यखाना
पल्टन घरमा वैद्यखाना
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

