काठमाडौं – बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् । नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना जारी गरी यस्तो व्यवस्था गरेको हो ।
‘डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार डा.दिलीप शर्माले भने, ‘अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानुनी दायरामा पर्ने सम्भावना रहन्छ ।’ काउन्सिलका अनुसार स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधिको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ । प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्ने गरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गुर्नपर्नेछ ।
चिकित्सक संघका महासचिव डा.लोचन कार्की भन्छन्, ‘तर यससँगै औषधि पसलेले प्रेस्क्रिप्सनबिनै बिक्री–वितरण गर्न सकिने बाहेकका औषधि बेच्न नपाउने व्यवस्था हुनुपर्छ ।’ काउन्सिलले प्रेस्क्रिप्सन ‘क्यापिटल लेटर’ मा लेख्न पनि सुझाव दिएको छ ।
डाक्टर र औषधि पसलेबीचको सेटिङमा केही चिकित्सकले कुनै खासबाहेक अन्य औषधि पसलेले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने गरेको चिकित्सक नै बताउँछन् । ‘केही यस्ता चिकित्सकसमेत छन्, जसले लेखेको औषधि एउटा खास मेडिकल पसलबाहेक अन्य कसैले बुझ्दैन,’ वीर अस्पतालका डा.ढुण्डीराज पौडेल भन्छन्, ‘नबुझ्ने अक्षरमा औषधि लेख्दा बिरामीले गलत औषधि उपयोग गर्न सक्ने सम्भावना प्रबल रहन्छ ।’

