काठमाडौं– सोल्टीमोडमा गत शनिबार दिउँसो ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलमा पछाडि बसेकी चितवनकी १८ वर्षीया अनुजा घिमिरे गम्भीर घाइते भइन् । उनको उपचारका क्रममा निधन भयो ।
***
असार ८ गते पेप्सीकोलाबाट सानोठिमीतर्फ जाँदै गरेको स्कुटर पनि टिपरको चपेटमा पर्यो । बिहानै साढे ५ बजे बा १ाक ३९३४ नम्बरको टिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दियो । स्कुटर चालक सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको उपचारका क्रममा ज्यान गयो ।
***
असार ३० गते जडिबुटीमा टिपरकै ठक्करबाट काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भयो । उनी साथीसँगै बा ७० प ९३९९ नम्बरको स्कुटरमा कोटेश्वरतर्फ आइरहेकी थिइन् । सोही दिशातर्फ आइरहेको बा ४ ख ३५५८ नम्बरको टिपरले उनको स्कुटरलाई ठक्कर दियो । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरे । स्थानीय युवा र सवारी चालकले टिपरमा आगजनी गरे । स्कुटर चालक उनका साथी अहिले पनि उक्त दुर्घटनाको मानसिक असरबाट गुजिरहेका छन् ।
***
यी मात्र होइन, पछिल्लो समय टिपर, ट्रकजस्ता ठूला सवारीका कारण ज्यान गएका थुप्रै उदाहरण छन् । असार ५ गते भक्तपुरतर्फ मनोहरा पुलमा कन्टेनरमा ठोक्किँदा बा ८८ प २८० नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भग्यो । दिउँसो साढे ४ बजे ना ६ ख ५६४० नम्बरको ट्रक भक्तपुर आँखा अस्पतालतिर मोड्न खोज्दा सोही दिशातर्फ गइरहेको मोटरसाइकल ठोक्किएको थियो । उक्त दुर्घटनामा काभ्रे घर भई राधेराधे बस्ने ३४ वर्षीय गणेश दुलाल घाइते भए । उपचारका क्रममा उनको मृत्यु भयो ।
कलंकीमा यही असार २७ मा भाडाको ट्रकले थानकोटबाट आइरहेको स्कुटरलाई ठक्कर दियो । बिहान ११ बजेतिर बा ५२ प ३६८९ नम्बरको स्कुटरलाई सोही रुटबाट आइरहेको ना ७ ख २७०८ नम्बरको ट्रकले ठक्कर दिएकोमा चालक टंक गुरुङ र पछाडि सवार ३९ वर्षीया सरिता प्रधान घाइते भए । उपचारका क्रममा प्रधानको मृत्यु भयो । महानगरीय ट्राफिक महाशाखाको तथ्यांकले ०७४ साउनदेखि ०७५ जेठ महिनासम्ममा ट्रक तथा टिपरले ४ सय १५ वटा दुर्घटना गराएको देखाउँछ । उपत्यकामा असार ३० सम्म ठूला सवारीसाधनले मृत्यु हुनेको संख्या ५२ छ ।
टिपरको ठक्करबाट मात्र उपत्यकाका तीनै जिल्लामा २२ जनाको मृत्यु भइसकेको छ भने ट्रकले गर्दा २३ जनाको ज्यान गएको छ ।
ट्याक्टरले ५ र ग्रेडर, जेसीबीले दुई जनाको मृत्यु भएको तथ्यांक छ । गिट्टी, बालुवा निकासी करबापत जिल्ला समन्वय समितिले कर काट्ने गरेको तथ्यांकलाई हेर्दा दिनहुँ सरदर ४ हजार बिल काटिन्छन् । अर्थात् राजधानीको भौतिक निर्माणमा आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि दैनिक ४ हजार वटा टिपर राजधानी आउजाउ गर्छन् । टिपर व्यवसायीको तथ्यांकअनुसार राजधानीलाई केन्द्र मानेर दुई हजार टिपर काम गर्छन् र दिनमा दुई ट्रिप भ्याउने गरेका छन् ।
धेरैजसो घटनामा दुई समानता देखिन्छन् । पहिलो, एउटै दिशातर्फ गइरहेको दुईपांग्रे सवारी ठूलाको चपेटमा परेका देखिन्छन् । अर्को, ठूला सडकमा मात्र ठूला सवारी दुर्घटना भएका छन् । ट्रक वा टिपर बालुवा, माटो लगायतका सामग्री लामो दूरीमा, बढी परिमाणमा ओसार्न बनेका हुन् । यसको मुख्य बेफाइदा वा खराब पक्ष भनेकै ‘ग्राउन्ड लेभल’ देख्न नसक्नु हो । एउटै दिशामा जाँदा ठूला सवारी चालकले आफू अगाडिको सवारी साधन देखे पनि आफ्नै मुनिको सानो सवारी देख्दैनन् । बनावट नै त्यस किसिमको भएका कारण चाहेर पनि टिपर चालकले देब्रेतर्फको आफ्नो एकदमै नजिक र मुनिको सवारी देख्न भ्याउँदैन । देब्रेतिरको चक्कासमेत ‘लुकिङ ग्लास’ मा देखिन्न ।
‘ड्राइभर बस्ने सिट निकै माथि हुन्छ । टिपर रोकेका बेला दुईपांग्रे कतैबाट छिरेर नजिक आए ऐनामा देखिन्न,’ वाग्मती टिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले भने । केहीबेर ढिला हुन नचाहने, बिस्तारै हिँड्न नरुचाउने, जाम हुनेबित्तिकै लेनको परवाह नगरी जथाभावी छिराउने दुईपांग्रे सवारी चालकको पनि उत्तिकै दोष देख्छन् कुँवर ।
ठूला सडकमा बेतोडले सवारी कुदाउने भएकाले ठूला सडकमै बढी दुर्घटना हुन्छ । यसमा टिपर चालक र दुईपांग्रे दुवैको प्रवृत्ति उस्तै उस्तै देखिन्छ । दुर्घटना गराउने ट्रक तथा टिपरका चालकको उमेर कम हुन्छ, उमेर विश्लेषण गर्दा औसतमा साढे ३५ वर्ष देखिन्छ । ट्राफिक महाशाखा, रामशाहपथका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली भन्छन्, ‘चालकले तीव्र गतिमा कुदाउनु दुर्घटनाको मुख्य कारण देखिएको छ । दुर्घटना गराउने ठूला गाडी र दुर्घटनामा पर्ने दुई पांग्रे चालक दुवै कम उमेरकै छन् ।’
महाशाखाको तथ्यांक अनुसार दुर्घटनामा मृत्यु हुनेमा १७ देखि ३५ वर्षका बढी हुन्छन् । २०७२/७३ मा भएका १ सय ६६ मृत्युमा ९२ जना र २०७३/७४ मा १ सय ८२ मा ८६ जना सोही उमेर समूहका छन् । त्यसैगरी २०७४/७५ मा उपत्यकामा १ सय ४९ जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा ८० जना ३५ वर्षसम्मका छन् ।
यातायात विज्ञ कमल पाण्डेका अनुसार चलाउन खासै कठिनाइ नहुने टिपर चलाउन नयाँ लाइसेन्स लिनेहरू आकर्षित भइरहेका छन् । बढ्दो भौतिक निर्माणका क्रियाकलापले गर्दा उनीहरूलाई जागिर पाउन समस्या छैन, पुराना चालक बाहिर गएकाले झन् सहज छ । टिपरको प्रयोग मिनिट्रकभन्दा बढेकाले दुर्घटना बढी देखिएको हो । बढी बोक्न सक्ने, छिटो गन्तव्यमा पुग्न सक्ने, सामग्री ओसार्न जनशक्ति नचाहिने जस्ता फाइदाले यसको प्रयोग बढेको हो ।
ठाउँमा ब्रेक नलाग्ने, सामग्री बोक्दा र नबोक्दाको स्थितिमा फरक जस्ता ‘प्राविधिक समस्या’ लाई सडकका अन्य सवारी साधनले पनि बुझिदिनुपर्छ । यसले आफूलाई नै दुर्घटनाबाट बचाउँछ ।
‘अहिले पावर स्टेयरिङ भएको, बढी गतिमा चल्ने टिपर सडकमा कुद्ने गरेका छन् । सडक सबैको हो भन्ने भावना सबै सवारी चालकमा हुनुपर्छ,’ पान्डेले भने, ‘सवारी अनुसारको सवारी चालकको मानसिकता पनि हुन्छ । त्यसैले बढ्दो दुर्घटनामा यो पनि एक प्रमुख कारण हो ।’ ठूला सवारीले सानालाई सडकमा हेप्ने र पेल्न खोज्ने प्रवृत्तिले टिपर दुर्घटना बढेको उनको बुझाइ छ । चालकको मानसिक स्थिति र सानो सवारी चालकको रूपमा उसको अनुभवले पनि ठूलो सवारी चलाउँदा अरूप्रतिको मनोस्थितिलाई प्रभाव पार्छ ।
अनुमतिपत्र दिने प्रावधानमा कमजोरी
चालक निकै कम उमेरका भएकाले जिम्मेवारीपूर्वक गाडी नचलाउने र अनुभव कम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । धेरैजसो युवा र कम उमेरका चालकले टिपर चलाइरहेका छन् । ‘आलाकाँचा र भर्खरका’ चालकले दुर्घटना गराउने आरोपमाझ टिपर व्यवसायी यो गलत रहेको बताउँछन् । निर्माण कार्यका हिसाबले चालक अभाव रहेको र नेपालको कानुनले नै २१ वर्ष पुगेपछि ठूला सवारीको चालक अनुमतिपत्र पाउने प्रावधान राखेकाले चालकलाई ‘कम उमेर’ भन्न नमिल्ने टिपर व्यवसायीको तर्क छ ।
धेरैजसो ठूला सवारी चालक बिदेसिनु पनि यसको एक कारण हो । ‘हामीलाई चालक चाहिएको हुन्छ । लाइसेन्स लिएर जो आए उसलाई हामीले जागिर दिनैपर्छ,’ वाग्मती टिपर व्यवसायी संघका अध्यक्ष कुँवर भन्छन्, ‘हामीले पनि छानेर लिन पाइरहेका छैनौं । निर्माण कार्य र टिपरका हिसाबले चालक कम छन् ।’
ठूला सवारीको चालक अनुमतिपत्र लिन २१ वर्ष उमेर पूरा गरेको र दुई वर्ष साना सवारी चलाएको अनुभव हुनुपर्छ । तर यहाँ डोजर, एक्साभेटरमा ‘हेल्पर’ को काम गरेर चलाउन सिकेकाहरू लाइसेन्स लिन जाँदा दुई वर्ष साना सवारी चलाएको अनुभव आवश्यक पर्छ, जुन उनीहरूसँग हुँदैन । यस्तोमा नयाँ चालक उत्पादन घटेको र पुराना बिदेसिएकाले भर्खरै लाइसेन्स प्राप्त गरेकालाई गाडी चलाउन दिनैपर्ने टिपर मालिकको बाध्यता छ ।
यसैगरी मोटरसाइकलको लाइसेन्स लिन केही लिखित प्रश्नको जवाफ र अंग्रेजीको ८ आकार पार गरेर लिन सकिन्छ । तर त्यसले व्यावहारिक ‘ड्राइभिङ’ नसिकाउने प्रहरीहरूको भनाइ छ । ‘काठमाडौंको जस्तो ट्राफिक बढी भएको स्थानमा सेफ मात्र होइन, डिफेन्सिभ तरिकाले सवारी चलाउन जान्नुपर्छ,’ एक प्रहरी अधिकृतले भने, ‘कति दूरी राख्ने भनेर जवाफ लेख्दैमा हुन्न । त्यो व्यवहारमा पनि लागू गर्नुपर्छ ।’
अनुपयुक्त सवारी
घना बस्ती, सवारी साधनको पनि उत्तिकै चाप र देशकै जनघनत्व बढी भएको सहर हो काठमाडौं । देशकै सबैभन्दा ठूला र राम्रा मानिएका स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैंक आदिका मुख्य कार्यालय सबै यहिँ छन् । जसको सांस्कृतिक र पौराणिक महत्त्व त छँदै छ, देशकै राजधानी भएकाले यहाँ आर्थिक कारोबारदेखि भौतिक निर्माणका कार्य पनि सधैं भइरहेका हुन्छन् ।
भौतिक निर्माणका कार्यबीच ठूला सवारीसाधनको प्रयोग र सञ्चालन उत्तिकै बढिरहेको छ । यसले गर्दा दुर्घटना पनि बढ्दो छ । दुर्घटनाको मुख्य कारण नै अव्यवस्थित बस्ती विकास, जथाभावी सडक निर्माण रहेकोमा पूर्वाधार विज्ञ, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा विज्ञ एकमत देखिन्छन् ।
सहरी पूर्वाधार विज्ञ पद्मसुन्दर जोशी मुख्य सडकबाहेकका क्षेत्र ठूला सवारी चलाउनका लागि नभएको धारणा राख्छन् । तर मुख्य सडकमा जोडिन पुगेका साना सडकबाट अचानक निस्किने गाडी, पार्किङ गरी राखिएका सवारीसाधन आदिले सडकमा जोखिम बढाउँछन् । सडक ठूलो भएर मात्र नहुने र त्यसको प्रयोगकर्ता सबैले ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण हुने उनले बताए । उनले भने, ‘ठूला सवारी साधन ठूलै सडकमा, छुट्टै लेनमा गुड्नुपर्छ । टिपर चालक मात्र होइन, दुईपांग्रे चालकमा पनि दुर्घटनाबाट जोगिने गरी हिँड्न सिकाउनुपर्छ ।’
निर्देशन लत्याउँदै अनुमति
जिल्ला सुरक्षा समिति ललितपुरले व्यवसायी हितको पक्षमा टिपर सञ्चालन गर्न दिन निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले राती ८ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न निर्णय गरेको हो । गृह मन्त्रालयले साताअघि शृंखलाबद्ध टिपरको ठक्करबाट मृत्युका घटना बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
निर्देशनलाई लत्याएर बिहानको समयमा तीन घण्टा थप गरेर चलाउन दिने निर्णय गरेको हो । ललितपुरका प्रमुख अधिकारी महादेव पन्थले मन्त्रालयले समय तोकेर जारी गरेको निर्देशन बारेमा जानकारी नभएको दाबी गरे । ‘जिल्लाको अनुकूल समय हेरेर टिपर चलाउने समयसीमा तोकेका छौं,’ उनले भने, ‘यो नियम रिङरोडभित्र लागू हुनेछ ।’
सहरका लागि होइनन् टिपर
काठमाडौं – मकवानपुरका २४ वर्षीय कान्छा लामा चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा वीरगन्ज–काठमाडौं सामान ओसार्ने ट्रकमा सहचालक थिए । लाइसेन्स पाएपछि उनले धादिङबाट काठमाडौंमा गिटी–बालुवा ओसार्ने टिपर चलाउन थाले । ट्रकभन्दा टिपर चलाउन सजिलो लागे पनि बाटामा मान्छे जोगाउन हम्मे पर्ने अनुभव कान्छाको छ ।
‘दुर्घटना हुन नदिन टिपरमा विशेषता नै कम छन्,’ उनी भन्छन्, ‘निकै अग्लो र चारैतिर खुला भएकाले टिपरमुनि स्कुटी र मोटरसाइकल सजिलै छिर्छन् ।’ ट्रकभन्दा टिपरमा कमाइ बढी छ । तर ठूलो सडकमा चलाउँदा जताबाट पनि मोटरसाइकल छिर्छ कि भन्ने पीरले टिपर चलाइरहने कि अरू नै गाडी चलाउने भन्ने दोधारमा पुगेको उनी बताउँछन् । कान्छाले अहिलेसम्म दुई पटक टिपर पल्टाए भने तीन पटक अन्य गाडीलाई ठक्कर हानिसके । ‘मैले मान्छे हानेको छैन,’ उनी भन्छन्, ‘साना गाडी र मोटरसाइकलको लापरबाहीमा समेत मान्छेहरू टिपरलाई नै गाली गर्छन् । हामी
बदनाम भइयो ।’
२० वर्षको उमेरदेखि टिपर चलाएको र कमाइ अनि साहुको विश्वासका कारण कान्छालाई टिपर चलाउन छाडिहाल्न मन छैन । ‘६ सिलिन्डरको गाडी यति छोटो छ, यति अग्लोमा बसेर चलाउन पाइन्छ । सानो ठाउँमा पनि मोडिने, निकै छिटो भगाउन सकिने,’ उनले टिपरका विशेषता बताए ।
बीस वर्षदेखि टिपर र ट्रकको काम गरेका मेकानिक्स बसिरुद्दिन अन्सारी (रैना) भने टिपरका यिनै विशेषताका कारण सहरमा चलाउन नहुने बताउँछन् । भारतको आइचर र अशोक लेल्यान्डमा काम गरेर फर्केका रैना भन्छन्, ‘यो टिपर धेरै ट्राफिक चाप हुने स्थानमा चलाउने नै होइन । यसमा त्यो प्रकारको सुविधा पनि छैन । यसको साइडमा सेफ्टीगार्ड पनि छैन । यो गाडी खोला, गाउँ र कच्ची बाटाका लागि बनाइएको हो । मोटरसाइकल, स्कुटी चल्ने भीड ठाउँलाई बनाएकै होइन ।’
एक हजारभन्दा बढी चालकसँग अन्तरक्रिया गरेका रैनासँग टिपरले धेरै दुर्घटना गराउने कारणबारे पनि आफ्नै विश्लेषण छ । उनी भन्छन्, ‘अधिकांश युवा चालकको ध्यान बाटामा भन्दा मोबाइलमा बढी हुन्छ । बाटामा युवती देखेपछि त्यतै फर्कने, गाडीको गतिमा खासै ध्यान नदिने कारण पनि दुर्घटना बढेको हो । त्यसमाथि गाडीको बनोट पनि त्यस्तै छ ।’ एक पटक स्कुटीमा सवार भएका बेला रैनालाई समेत टिपरले हानेको थियो । तर, उनी बचे ।
विकसित मुलुकमा सहरमा चलाउने छुट्टै साना टिपर हुन्छन् । समयमा मर्मत नगर्ने, ब्रेक चेक नगराउने, टायर नहेर्ने, किलोमिटर सूचक बिग्रेपछि नफेर्ने, चालकले गाडी चलाउनुअघि सामान्य पक्ष पनि ख्याल नगर्ने पनि टिपरबाट धेरै दुर्घटना हुनुका कारण छन् । सबभन्दा बढी समस्या भने सामुन्ने र छेउछाउ हेर्ने ‘लुकिङ ग्लास’ फेर्दा हुने गरेको मेकानिक्सहरू बताउँछन् । एक पटक फुटेपछि ग्लास फेर्दा राम्रोसँग नदेखिने नक्कली लुकिङ ग्लास राख्दा पनि साइडबाट पछाडिसम्म हेर्न गाह्रो हुन्छ । ट्राफिक प्रहरीले यस्ता कुरामा ध्यान नदिनाले पनि चालकहरूको मानोबल बढेको हो । अर्का मिस्त्री सुरेश बखती पनि चालकमा प्राविधिक ज्ञान नहुनु, सवारी चलाउँदा पनि मोबाइलमा ध्यान दिनुलाई नै दुर्घटनाको प्रमुख कारण ठान्छन् । ‘अहिले चलेका टिपरहरू सहरको वातावरण अनुकूल पनि छैनन् । डाँडाकाँडा खोलामा चलाउने टिपर राजधानीमा चलाइरहेका छौं,’ उनले भने ।
नैकापमा भेटिएका ३७ वर्षीय राज कार्की अहिले टिपर चलाउँछन् । १८ वर्षदेखि गाडी चलाएका उनले धादिङ, सिन्धुपाल्चोक र काभ्रेबाट बालुवा, ढुंगा, गिटी ओसारेका छन् । यो अवधिमा उनको कुनै दुर्घटना भएको छैन । ‘सामान्य गतिमा चलाउने हो भने दुर्घटना हुँदैन । दुर्घटनाको मुख्य कारण हतार गर्नु र गाडी परीक्षण नगरी चलाउनु हो,’ उनी भन्छन्, ‘जे परे पनि साहुले बेहोर्छ भन्ने बुझाइले पनि समस्या भएको देखिन्छ ।’ उनले टिपरको अग्लो चालक सिटमा बसेर हेर्दा अरू गाडी साना देखिनाले पनि चालकहरूले हेप्ने गरेको अनुभव सुनाए । ‘यसको डिजाइन नै छिटो कुदाउँ–कुदाउँ जस्तो लाग्ने छ, यसले युवाहरू बढी उत्साही हुन्छन्,’ उनले सुनाए । स्वयम्भूका टिपर चालक सानु महर्जन पनि काठमाडौंमा प्रतिघण्टा ४० किलोमिटरभन्दा माथि हाँक्न नहुनेमा अधिकांशले ५० देखि ७० को गतिमा चलाइरहेको बताउँछन् । आरामदायी क्याबिन र पावर स्टेरिङका कारण चालकले आफूलाई सुरक्षित महसुस गर्ने गरेको अनुभव कार्कीको छ । ‘यस्ता चालकले लापरबाही गरे भने दुर्घटना त हुन्छ,’ उनले भने । उनले प्रतिघण्टा ४०/५० किलोमिटरसम्म सहजै रोक्न सकिने भए पनि त्योभन्दा बढी गति भएपछि समस्या हुने बताए ।
ट्राफिक महाशाखाअनुसार चालु आर्थिक वर्षमा उपत्यकाभित्र मात्रै १ हजार ४ सय १५ ट्रक र टिपर दुर्घटना भएको तथ्यांक छ । जसमा १ सय ६८ ले ज्यान गुमाए । दर्जनौंको अंगभंग भएको छ । ५३ जना पैदलयात्रुले सडक दुर्घटनामा ज्यान गुमाए भने मोटरसाइकल र स्कुटरमा ठक्कर खाएर ९६ को ज्यान गयो । यसको प्रमुख कारण तीव्र गति र गाडीको ओभरलोड रहने गरेको ट्राफिक प्रहरीको भनाइ छ । केही पहिलेसम्म टिपरले सहरको मुखसम्म सामान ल्याएर अन्य गाडीले भित्र ल्याउने गथ्र्यो । अहिले टिपर नै तीव्र गतिमा सहर प्रवेश गर्न थालेको हो ।
टिपरले सडकमा मनलाग्दी गर्ने कारणमध्ये राजनीतिक संरक्षण पाएका व्यक्तिहरूको लगानी पनि मुख्य कारण रहेको चालकहरू नै बताउँछन् । ‘शक्तिशाली साहु र बलियो गाडी भएपछि युुवा चालकलाई कसले रोक्ने ।’ एक मिस्त्रीले भने ।

