काठमाडौं । लाखौं खर्च गरेर चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली चिकित्सकहरुले तलब समेत पाएका छैनन । सरकारी एवं नीजि अस्पतालमा कार्यरत चिकित्सकहरुले तलब समेत नपाए पछि पेशागत संघ संगठनमा उजुरी दिन थालेका छन् ।
राष्ट्रिय चिकित्सक संघ नेपालले सरकारी र निजी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई समयमा तलब नदिइएको जनाएको छ ।
संघका महासचिव डा. पुष्पमणि खरालले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा कार्यरत चिकित्सकहरुलाई समयमा तलब नदिएको उजुरी परेको जानकारी गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सरकारी र निजी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई समयमा तलब नदिएको उजुरी यस संघमा प्रसस्त परेकोले तुरुन्त तलब भुक्तानि गर्न जोडदार माग गर्दछ ।यथास्थिति रहेमा र चिकित्सकहरुले समयमा तलब सुबिधा नपाएमा यस संघ जस्तो सुकै कदम उठाउन तयार रहेको जानकारी गराउँछौं ।’
स्वदेशमै जीविकोपार्जन गर्न सकिने वातावरण सिर्जना नभएमा चिकित्सकहरुको विदेश पलायन झन् बढ्ने र समग्र स्वास्थ्य क्षेत्र धरासयि हुने संघले जनाएको छ । तलब नपाएका कारण चिकित्सकहरुलाई घरखर्च चलाउन समेत सकस परेको जनाइएको छ ।

