नेपालमा आत्महत्या गर्नेहरूको संख्या डरलाग्दो रूपमा बढिरहेको तथ्यांक देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्यांक पेस गरिएको हो।
पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको संख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्यांक स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन्। तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७४÷७५ मा भने पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए। संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७५÷७६ पाँच हजार सात सय ८४ जनाले आत्महत्या गरे भने २०७६÷७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७७÷७८ मा भने सात हजार एक सय १७ जनाले आत्महत्या गरे। ‘पछिल्लो यो वर्षमा आत्महत्या गर्नेहरूको संख्या आठबाट बढेर १४ प्रतिशतले उकालो लाग्यो,’ जनस्वास्थ अधिकृत मिजारले भने, ‘जुन चिन्ताजनक हो।’
विश्व स्वास्थ्य संगठनले आत्महत्यालाई कमजोर मानसिक स्वास्थ्य अवस्थाको दृष्टान्त मान्दै विश्वभरमा हरेक वर्ष आत्महत्याका कारण सात लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको अवस्था रहेको जनाएको छ, जुन एचआइभी एड्स, मलेरिया वा महिलाको स्तन क्यान्सर र युद्ध वा हत्याभन्दा बढी छ। नेपालमा १० देखि २० प्रतिशत मानिस एक अथवा त्योभन्दा धेरै सामान्य खालको मानसिक समस्याबाट प्रभावित रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।
कार्यक्रममा मनोचिकित्सक डा. दुर्गा थापाले यदि समयमै उपचार गर्ने हो भने त्यो मात्रामा आत्महत्याको घटना हुन नपाउने बताइन्। ‘त्यसकारण मानसिक रोगलाई कम हाक्न मिल्दैन,’ उनले भनिन्, ‘मानसिक रोग उपचार गरे निको हुन्छ।’
मानसिक स्वास्थ्यको संवद्र्धनका लागि शारीरिक रोग जस्तै मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रूपमा लिनुपर्ने उनले बताइन्। ‘औषधिको सेवन, मनोपरामर्श तथा पुनस्र्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ,’ उनले भनिन्, ‘मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ।’
नेपालको पछिल्लो घटना क्रमका रूपमा संसद् भवनअगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको आत्मदाह घटना हेर्दा मनोरोग बढेको दाबी उनले गरिन्। आर्थिक समस्या भएको भनेर मिडियामा आएको चर्चा गर्दै उनले मुख्य कारण मानसिक रोग वा मनोरोग रहेको बताइन्।
समस्या सबैलाई पर्छ, प्रेमप्रसादलाई मात्रै होइन। ‘यसरी नै प्रेमप्रसादले जस्तै आत्महत्या गर्ने हो भने हामी सबैले आत्महत्या गर्नुपर्छ किनकि हामी सबैलाई समस्या छ,’ उनले भनिन्। आफ्नो समस्यालाई गम्भीर रूपले लिएर रोगी भएका कारण उनले आत्मदाह गर्नुपरेको डा. थापाको जिकिर थियो।
मानसिक स्वास्थ्यको बजेट नगण्य अवस्थामा छ, यसलाई वृद्धि गर्नु जरुरी रहेको कार्यक्रममा सहभागी सरोकारवालाले बताए। नेपालमा मानसिक स्वास्थ्य भार १४ प्रतिशत रहे पनि मानसिक स्वास्थ्यमा स्वास्थ्यको कुल बजेटको एक प्रतिशतभन्दा कम छ। मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको पनि कमी छ नेपालमा। अहिलेसम्म नेपालमा दुई सयको हाराहारीमा मनोचिकित्सक रहेको तथ्यांक छ। तीन करोड नेपालीमा १५ लाख बराबर एक जना मनोचिकित्सक पर्न आउँछ। त्यसकारण मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्ने आवश्यकता कार्यक्रममा औंल्याइएको थियो।

