काठमाडौं, वीर अस्पतालका १७ अपरेसन थिएटरमध्ये ९ वटा मात्र सञ्चालनमा छन् । शल्यक्रिया गरेपछि बिरामी राखिने पोस्ट सर्जिकल वार्डका बेड धूलोले छपक्कै ढाकिएका छन् । अस्पतालको सेवा चुस्तदुरुस्त नहुँदा शल्यक्रिया गराउन पालो कुर्नेको संख्या प्रत्येक दिन बढ्दो छ । दुई वर्षदेखि शल्यक्रिया गराउन पालो कुरिरहेका बिरामी ३ हजार नाघिसकेका छन् ।
िि
िकान्ति बाल अस्पतालको अपरेसन थिएटर २७ वर्ष पुरानो हो । उपकरण चुस्तदुरुस्त छैनन् । तीनवटा थिएटरमध्ये स्थान अभावका कारण ‘पासेज’मा राखेर पनि शल्यक्रिया गर्ने गरिएको छ । कान्तिमा पनि शल्यक्रियाको पालो कुरिरहेका संख्या ३ हजारभन्दा बढी छ ।
िि
ित्रिवि शिक्षण अस्पताल ३ सय बेडबाट सुरु गर्दा ८ वटा अपरेसन थिएटर सञ्चालनमा थिए । अहिले बेड संख्या बढेर ८ सय ५० पुगिसक्दा पनि थिएटर भने १९ वटा मात्र छन् । अस्पतालले क्यान्सरका बिरामीलाई लक्षित गरेर तत्काल ३ वटा थिएटर थप्ने योजना बनाए पनि थप्न सकेको छैन । अस्पतालमा ३ हजार ५ सय जना शल्यक्रिया गराउन पालो कुरिरहेका छन् ।
िि
िठूला अस्पतालका अपरेसन थिएटरको दुरवस्था छ । स्वास्थ्य मन्त्रालयका अधिकारी उपकरण थप्न आवश्यक बजेट माग गर्न सकिने बताउँछन्, तर अस्पतालले न थिएटर थप्न पहल गर्छन् न त बन्द उपकरण सञ्चालनमा ल्याउन ।
वीरमा सिन्धुपाल्चोकका ३५ वर्षीया रवि कार्की एक वर्षदेखि पित्तथैलीको पत्थरी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । पेट दुखेर गत वर्ष अस्पताल पुगेका भरतपुरका कुमार खनालको भने १३ मिलिमिटरको पत्थरी देखियो, उनको अझै शल्यक्रिया भएको छैन । काभ्रेका सन्तोष केसी ढाडमा नसा च्यापिएर एक वर्षदेखि शल्यक्रियाका लागि पर्खिइरहेका छन् । केसी भन्छन्, ‘रोग पालेर बस्नुपरेको छ, थेरापीका भरमा छु ।’
वीरको ५ सय बेडको सर्जिकल भवन २०७८ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । अझै पनि पूरै बेड सञ्चालनमा आउन सकेको छैन । पुरानो भवनमा रहेको डेन्टलको अपरेसन वार्ड र न्युरो सर्जरी विभाग नयाँ भवनमा सार्न सकिएको छैन । कार्डियोथोरासिक विभाग प्रमुख डा. किरण श्रेष्ठले थिएटर अभावका कारण शल्यक्रिया गर्न एउटा युनिटले सातामा दुई दिन मात्र बेड पाउने गरेको बताए । ‘सातै दिन पाउने व्यवस्था मिलाउन नसकेसम्म बिरामीले कुर्नुपर्ने समस्या हट्दैन,’ उनले भने । वीर अस्पतालका सूचना अधिकारी सागर मिश्र बिरामीको चापअनुसार थप १५ वटा थिएटर आवश्यक रहेको बताउँछन् ।
वीरका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल पूरै थिएटर सञ्चालन नहुनुमा नर्सिङ जनशक्ति अभावको कारण देखाउँछन् । ‘सर्जरीका लागि चिकित्सकको अभाव छैन,’ उनले भने, ‘लोक सेवा आयोगले ३ सय स्वास्थ्यकर्मीको विज्ञापन निकालिसकेको छ, अब परीक्षा हुन्छ । कर्मचारी पठाएको भोलिपल्टै सञ्चालनमा ल्याउँछौं ।’
वीरमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत छन् । हाल न्याम्सअन्तर्गत ५ सय ६३ जना छन् भने सामान्य प्रशासन मन्त्रालयअन्तर्गत ६ सय ८७ जना कार्यरत छन् । जनस्वास्थ्यविद् प्रा.डा. ढुण्डीराज पौडेल अधिकांश डाक्टर कार्यालय समयसम्म नबसेका कारण समस्या बढेको तर्क गर्छन् । ‘कार्यालय समयमा पनि बस्दैनन् र समयमा पनि कार्यालय आउँदैनन् । बढी क्लिनिक र निजी अस्पतालमा व्यस्त हुन्छन्,’ उनले भने । छानबिन गरी कारबाहीको दायरामा नल्याएसम्म समस्या दिगो रूपमा समाधान नहुने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले अस्पताल प्रमुखले कडाइका साथ नियम पालना गर्न नलगाउँदा समस्या भएको बताए । ‘सबै कर्मचारीलाई आउँदा जाँदा विद्युतीय हाजिरी गराउनुपर्यो । कार्यालय समयसम्म नबस्ने कर्मचारीलाई कारबाही गर्नुपर्यो,’ उनले भने, ‘ठूला अस्पतालको ओएन्डएम सर्भे स्वीकृति गर्न अर्थ मन्त्रालयमा पठाइसकेका छौं ।’
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले उपकरण मात्र थपेर नहुने बताए । ‘जनशक्ति व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन,’ उनले भने, ‘२०४० सालमा सिर्जना गरिएको २ सय ५० जना चिकित्सक दरबन्दीमध्ये ९७ जना, प्रशासनतर्फ २ सय ७८, प्राविधिकतर्फ १ सय ५ जना रिक्त छन् ।’ अस्पतालमा हाल १ हजार २ स्वास्थ्यकर्मी करारमा कार्यरत छन् ।
कान्ति बाल अस्पतालमा पनि पर्याप्त अपरेसन थिएटर छैनन् । विशेष गरी त्यहाँ पुग्ने जन्मजात मलद्वार नखुलेका, ठूलो आन्द्रा, लिंगको प्वालको समस्या भएका र पत्थरीका बिरामी बढी मर्कामा छन् । वीरगन्जकी ६० वर्षीया जाकुरिसी मियाँले नातिको मलद्वार खुलाउन गरिने अपरेसनका लागि कुरेको दुई वर्ष बितिसक्यो । मिति सार्दासार्दै फागुन १ गते तोकिए पनि पुनः अर्को दिनका लागि सारिएको छ । लिंगमा पिसाब फेर्ने प्वालको समस्या भएर वैशाखमा शल्यक्रिया गराउन आएका बुटवलका चौधरी दम्पतीको ५ वर्षका छोराको पनि अझै शल्यक्रिया हुन सकेको छैन ।
कान्तिका निर्देशक डा. युवानिधि बसौलाले उपकरण, अपरेसन थिएटरसँगै आवश्यक जनशक्ति नभएका कारण सेवा दिन नसकेको बताए । अस्पतालमा प्रमुख कन्सल्टेन्ट पेडियाट्रिक सर्जन, प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिक सर्जन गरेर ७२ जनाको पद रिक्त छ । अस्पतालमा मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसी अधिकृत, बायोमेडिकल टेक्निसियन, ब्लड बैंक र ल्याब टेक्निसियनलगायत ९९ जना करारमा कार्यरत छन् ।
अस्पतालका सर्जरी विभाग प्रमुख डा. विजय थापा उपचारमा आउनेमध्ये करिब ८५ प्रतिशतको शल्यक्रिया आवश्यक पर्ने बताउँछन् । ‘शल्यक्रिया सहज बनाउन उपकरण चुस्तदुरुस्त बनाउन र नयाँ ३ वटा थिएटर थप्न आवश्यक छ,’ उनले भने ।
पाटन अस्पतालमा डेन्टलको सर्जरी सातामा एक दिन मात्र हुन्छ । अस्पतालमा बिरामीको चापअनुसार अपरेसन थिएटर आधा कम १२ वटा मात्र सञ्चालनमा छन् । यसले पत्थरी जस्ता सामान्य शल्यक्रिया गराउन पनि महिनौं कुनुपर्ने बाध्यता छ । अहिले अस्पतालमा एक सातादेखि ६ महिनासम्मका एक हजार ५ सय बिरामी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । सर्जरी विभाग प्रमुख डा. पुकार मास्केले बिरामीको चापअनुसार थप १२ वटा थिएटर आवश्यक रहेको बताए ।
राष्ट्रिय ट्रमा सेन्टरमा ५ वटा थिएटर सञ्चालनमा छन् । अस्पतालका सूचना अधिकारी अर्जुन भेटवालका अनुसार शल्यक्रिया सहज बनाउन थप ५ वटा आवश्यक छ । ‘तर, स्थान अभावका कारण व्यवस्थापन गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘हालको ट्रमा भवनमा न तला थप गर्न मिल्छ न त विस्तार गर्न जग्गा नै छ ।’ अस्पतालमा दुई हजार जनाभन्दा बढी बिरामी शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । ट्रमामा दैनिक १५ जनाको शल्यक्रिया हुने गरेको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सात सय जनाभन्दा बढी प्रत्यारोपण गराउन पालो कुरिरहेका छन् । अस्पतालमा ४ वटा अपरेसन थिएटर मात्र सञ्चालनमा छन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण सहज बनाउन सातै प्रदेशमा विस्तार गर्नुको विकल्प नभएको बताए । ‘प्रत्येक वर्ष दुई हजारदेखि ३ हजार नयाँ बिरामी थपिरहेका छन्,’ उनले भने ।
प्रसूति गृहमा ६ वटा मात्र अपरेसन थिएटर सञ्चालनमा छन् । निर्देशक डा. पवनजंग रायमाझीले भवन अभावका कारण जेनतेन सञ्चालन गरिरहेको बताए । ‘भूकम्पले चर्केको भवनमा उपचार दिनुपरेको छ,’ उनले भने, ‘भवन बनाइदिनुपर्यो भन्दा सम्बन्धित निकायले वास्ता गर्दैनन् ।’
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापण्दड निर्देशिका २०७० को दफा १७ मा व्यवस्था भएअनुसार प्रति ५० शय्या क्षमता बराबर एउटा मेजर र एउटा माइनर अपरेसन थिएटरको व्यवस्था हुनुपर्छ । सोका अतिरिक्त प्रत्येक २५ शय्या सर्जिकल बेडका लागि एक मेजर ओटी र आवश्यक माइनर ओटीको थप व्यवस्था हुनुपर्ने नियम छ ।
शल्यक्रियाको पालो छोट्याउने उपाय लगाऊ
काठमाडौँ — नेपालको सार्वजनिक स्वास्थ्य सेवा जति बेहाल छ, त्यति नै विरोधाभासपूर्ण छ सरकारी कार्यशैली । सर्वसाधारणहरू बिल तिर्न नसकेर आत्महत्या गर्नुपर्ने, अस्पतालमै बन्धक बन्नुपर्नेजस्ता विडम्बना कायम रहँदा पहुँचवालाहरूले भने राज्यकोषबाट उपचार खर्चका नाममा ठूलो रकम हात पारिरहेका छन् ।
ठूला नेताहरूले पटक–पटक दसौं लाख रुपैयाँ राज्यबाट उपचार खर्च पाइरहँदा विपन्न नागरिकहरूले उपचार गराउने सार्वजनिक अस्पतालहरू भने न्यूनतम स्रोत–साधनबाट पनि वञ्चित छन् । लाग्छ- स्वास्थ्य सेवामा राज्यको दायित्व कसका लागि हो भन्नेमा सरकार सञ्चालकहरू नै प्रस्ट छैनन्, या उनीहरूले जानाजान विपन्नहरूको समस्याप्रति बेवास्ता गरिरहेका छन्, र हुनेखानेहरूलाई नै पोसिरहेका छन् ।
संघीय राजधानीका ठूला सरकारी अस्पतालहरू वीर, शिक्षण, कान्ति र राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ११ हजार बिरामी शल्यक्रियाको पालो कुर्दै छन् । १७ अपरेसन थिएटरमध्ये ९ वटा मात्र सञ्चालनमा रहेको वीर अस्पतालमा शल्यक्रिया गराउन पालो कुर्नेको संख्या दिनहुँ बढ्दो छ । दुई वर्षदेखि पालो कुरिरहेका बिरामी ३ हजार नाघिसकेका छन् । खास गरी, बिरामीको चाप र बेड संख्या अनुसार शल्यक्रिया कक्ष र जनशक्ति नहुँदा बिरामी मर्कामा छन् । त्रिवि शिक्षण अस्पताल ३ सय बेडबाट सुरु गर्दा ८ वटा शल्यक्रिया कक्ष सञ्चालनमा थिए । बेड संख्या बढेर ८ सय ५० पुगिसक्दा पनि यस्ता कक्ष भने १९ वटा मात्र छन् । फलतः ३ हजार ५ सय बिरामीले शल्यक्रिया गराउन पालो कुरिरहेका छन् । तीनवटा शल्यक्रिया कक्ष भएको कान्तिमा त स्थानाभावका कारण प्यासेजमा राखेर पनि शल्यक्रिया गर्ने गरिएको छ, जहाँ पनि ३ हजारभन्दा बढीले शल्यक्रियाको पालो कुरिरहेका छन् ।
शल्यक्रिया कक्ष अभावका कारण वीरमा एउटा युनिटले सातामा दुई दिन मात्र बेड पाउने अवस्था छ । सातै दिन पाउने व्यवस्था मिलाउन सके बिरामीले कुर्नुपर्ने समस्या धेरै हदसम्म हट्न सक्छ । तर नर्सिङ जनशक्ति अभावका कारण पूरै कक्ष चलाउन नसकिएको व्यवस्थापनको तर्क छ । चिकित्सक लगायत जनशक्तिले पूरा कार्यालय समय अस्पताललाई नदिँदा पनि समस्या बल्झिएको जानकारहरूको तर्क छ । तसर्थ, अस्पताल व्यवस्थापन चुस्त हुने हो भने पनि विद्यमान दुरवस्था धेरै हदसम्म सच्चिन सक्छ । यसका निम्ति व्यवस्थापन र स्वास्थ्य मन्त्रालयसम्मले आवश्यक अनुगमन–निरीक्षण गरी उचित पुरस्कार–दण्डको व्यवस्था गर्नुपर्छ । शल्यक्रिया गरेपछि बिरामी राखिने पोस्ट सर्जिकल वार्डका बेड धूलाले छपक्कै ढाकिएबाटै पनि थाहा हुन्छ, भएकै स्रोतसाधन व्यवस्थापनमा पनि अस्पताल असफलप्रायः छ । त्रिवि शिक्षण अस्पताल र कान्तिको तर्क पनि स्रोतसाधन अभावले समस्या परेको भन्ने छ । पाटन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, प्रसूतिगृह पनि यही समस्याबाट गुज्रिएका छन् ।
लामो पालो कुर्नुपर्दा नसा च्यापिएकादेखि पत्थरी फाल्नुपर्ने बिरामीहरूसम्म व्यथा बोकेरै बाँच्न विवश छन् । कान्तिका हकमा जन्मजात मलद्वार नखुलेका, ठूलो आन्द्रा र लिंगको प्वालको समस्या भएकाजस्ता बालबालिका बढी मर्कामा छन् । यसरी उपचारका लागि लामो समय पालो कुर्न बाध्य बिरामी र तिनका आफन्तहरू कुन अवस्थाबाट गुज्रिनुपर्छ होला ? हुनेखाने निजी अस्पतालमा जान्छन्, पहुँच हुनेहरू राज्यबाट खर्च लिएरै विदेशसम्म हान्निन्छन्, तर उनीहरू कहाँ जाने ? व्यथा पालेर बस्नुपर्दा गुणस्तरीय जीवनका अरू पाटाहरूमा पनि सम्झौता गर्न बाध्य छन् उनीहरू । यही कारण कति त जायजेथा बेचेर भए पनि निजी अस्पतालमा उपचार गराउन जाने गरेका छन् । यस्तो दुःस्थितिबाट कसको सेवा भइरहेको छ ? त्यसैले यो समस्याप्रति समग्र राज्य संवेदनशील हुनुपर्छ ।
उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न अस्पताल व्यवस्थापनहरू सक्षम हुनुपर्छ भने सरकारले आवश्यकता अनुरूप अस्पतालहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका–२०७० अनुसार प्रति ५० शय्या क्षमता बराबर एउटा मेजर र एउटा माइनर अपरेसन थिएटरको व्यवस्था हुनुपर्छ । यसका अतिरिक्त प्रत्येक २५ शय्या सर्जिकल बेडका लागि एक मेजर अपरेसन थिएटर र एक माइनर अपरेसन थिएटरको थप व्यवस्था हुनुपर्छ । यही व्यवस्थाअनुरूप स्रोतसाधन र जनशक्ति जोहो र तिनको पूर्ण रूपमा उपयोग गर्न सम्बन्धित अस्पताल र सरकार दुवै कटिबद्ध रहनुपर्छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पालो कुराएर हैरानी दिने होइन, समयमै उपचार गरेर राहत दिने उपाय खोज्नुपर्छ ।

