काठमाडौं । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना संक्रमितको तथ्यांक दैनिकरुपमा सार्वजनिक नगर्ने भएको छ । शून्य कोभिड नीति सहज बनाएसँगै संक्रमण एक्कासी बढ्न थालेपछि चीन सरकारले यस्तो निर्णय लिएको हो ।
हालै देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएपछि सरकारले शून्य कोभिड नीति लचिलो बनाएको थियो । चीनमा अहिले लाखौंको संख्यामा संक्रमित रहेको र दैनिक ५ हजारको मृत्यु भइरहेको बेलायती संस्था एएस फिनिटीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनको कोभिड महामारी अति खतरनाक स्थितिमा पुगेको जनाएको छ । तर चीनले यसबारेमा अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।
अल जजिराका अनुसार चीनमा ठूला सहरमा बसोबास गर्नेहरुले संक्रमणबाट जोगाउन परिवारका ज्येष्ठ सदस्यलाई गाउँमा पठाउन थालेका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले पनि संक्रमणबाट राजधानी बेइजिङमा ज्येष्ठ नागरिकहरु सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । डिसेम्बर १ देखि २० सम्म त्यहाँ कुल जनसंख्याको १८ प्रतिशत अर्थात् २४ करोड ८० लाख मानिसमा संक्रमण देखिएको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।
छिमेकी मुलुक चीनमा कोरोना संक्रमण वृद्धि भएपछि भारतले पनि सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि भीडभाड हुने क्षेत्रमा सतर्कता अपनाउन, हात सफा राख्न र मास्क लगाउन अपिल गरेका थिए । आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा बस्न पनि उनले सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

