काठमाडौं – दोलखा, बोचका ६० वर्षीय काले दमाईको एक वर्षअघि दुवै मिर्गौला फेल भयो । उपचार गर्न घरबारी नै बेचेर उनी राजधानी आए । डायलसिस गर्न वीर, शिक्षण अस्पताल महाराजगन्ज र भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पटक–पटक धाए । ‘सबैमा खाली छैन, पालो कुर्नुपर्छ भनेर फर्काए,’ उनकी श्रीमती लक्ष्मीले भनिन्, ‘निजी अस्पतालमा डायलसिस गराउन पैसा छैन । औषधि खाएर पालो कुरिरहेका छौं ।’
जोरपाटीमा कोठा लिएर बसेका उनीहरूले भक्तपुरमा नाम लेखाएका छन् । ‘पालो कहिले आउने हो, पालो नआउँदै केही हुने हो कि भन्ने डर लाग्छ,’ लक्ष्मीले भनिन् । पालो आयो/आएन बुझ्न उनी भक्तपुर गइरहन्छिन् । अस्पतालले एक वर्षअघि पालो नआउने जानकारी दिएपछि उनी निराश छिन् । ‘आठ महिना कुरिसकें, अझै एक वर्ष कुर्नुपर्छ भनेपछि अत्यास लागेको छ,’ उनले भनिन् । उनी आफैंलाई पनि पाठेघरको क्यान्सर भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन् । आफ्नो पीडा खपेर उनी श्रीमान् बचाउन लागिपरेकी छन् ।
गत चैतमा दुवै मिर्गौला फेल भएका गोरखा, बारपाकका १७ वर्षीय तुलबहादुर बलामी पनि डायलसिस गर्ने पालो कुरिरहेका छन् । नियमित डायलसिस गर्न पालो नपाएपछि उनी आकस्मिक डायलसिस गर्न काठमाडौं आउँछन् र डायलसिस सकेर गोरखा फर्किन्छन् । ‘निजी अस्पतालमा डायलसिस गरेर सम्पत्ति सबै सकियो,’ तुलबहादुरका दाजु जितकाजीले भने, ‘जुन सरकारी अस्पताल गए पनि बेड छैन भन्छन्, के गर्नु ?’ तुलबहादुर पछिल्लो साता आकस्मिक डायलसिस गर्न वीर अस्पताल आएका थिए ।
वीरले आकस्मिक डायलसिस चारपटक मात्रै गर्ने गरेको छ । त्यसपछि बिरामीले अर्को अस्पताल चाहर्नुपर्छ । सरकारी अस्पतालमा आकस्मिक डायलसिको दुई हजार पाँच सय रुपैयाँ लिने गरेको छ ।
निजीमा डायलसिस गर्दा १० हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । आकस्मिक डायलसिसको भने जति खर्च लागे पनि सरकारले बेहोर्ने व्यवस्था छैन ।
नियमित डायलसिस सेवा लिएपछि मात्रै सरकारले पनि उपचार खर्च बेहोर्ने व्यवस्था गरेको छ । यो सुविधा पाउन बिरामीले पीडा खपेर कम्तीमा एक वर्ष पालो कुर्नुपर्ने बाध्यता छ । वीर अस्पतालमा दैनिक ८ जना नयाँ बिरामी डायलसिस गर्न आउँछन् । अस्पतालले तिनलाई आकस्मिक सेवा मात्रै दिने गरेको छ । वीरमा करिब दुई सय बिरामी एक वर्षदेखि डायलसिसको पर्खाइमा छन् । १४ वटा हेमोडायलसिस उपकरणबाट दैनिक ७० बिरामीले डायलसिस सेवा पाइरहेको वीरको हेमोडायलसिस वार्ड इन्चार्ज इश्वरी श्रेष्ठले बताइन् । ‘नयाँ बिरामीले पालो पाउन कि पुरानो बिरामीको मृत्यु हुनुपर्छ कि उसले मिर्गौला प्रत्यारोपण गरेर बेड छोड्नुपर्छ, नत्र सम्भव छैन ।’
बिरामीको चापअनुसार शय्या नथपेसम्म नयाँ बिरामीलाई पालो दिन नसकिने उनले बताइन् । श्रेष्ठका अनुसार वीरमा तीन वर्षदेखि पालो पर्खिने बिरामी पनि छन् । श्रेष्ठका अनुसार कतिपय बिरामी नाम टिपाएपछि सम्पर्कमै आउँदैनन् । तीन वर्ष कुर्नेमा त्यस्तै बिरामी धेरै छन् ।
नर्स नहुँदा २० मेसिन प्रयोगविहीन
वीरलाई ६ महिनाअघि जाइकाले दिएको २० वटा डायलसिस मेसिन सञ्चालनमा आउन सकेको छैन । जाइकाले अस्पतालपरिसरमै छुट्टै तीनतले भवन बनाएर दिएको मेसिन सञ्चालन गर्न जनशक्ति अभाव भएको बताउँदै आएको छ । नर्सिङ जनशक्ति अभावका कारण ती उपकरण सञ्चालनमा आउन नसकेको हेमोडायलसिसकी इन्चार्ज श्रेष्ठले बताइन् । ‘कम्तीमा २० जना नर्स थपिदिने हो भने उपकरण चलाउन सकिन्थ्यो,’ उनले भनिन्, ‘घर पनि बनिसकेको छ । उपकरण पनि छ तर आवश्यक नर्स नभएकै कारण बिरामी फर्काउनुपरेको छ ।’ वीरमा अहिले एक जना नर्सले एकैपटक चार बिरामीको डायलसिस गर्न खटिने गरेका छन् ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि डायलसिस गर्ने बिरामीको चाप उत्तिकै छ । दैनिक ७० जनाको नियमित डायलसिस गर्दा पनि ९० बिरामी डायलसिसको पर्खाइमा छन् । उपकरण अभावले अस्पताल आउने बिरामीलाई सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा. प्रेम खड्काले बताए । ‘मेसिन थप्नका लागि डोनर खोजिरहेका छौं’, उनले भने, ‘अझै २० वटाजति मेसिन भए हामीले बिरामी फर्काउनु पर्दैनथ्यो ।’
अस्पतालमा अहिले डायलसिस गर्न १० वटा उपकरण छन् । दैनिक १० जना नयाँ बिरामी आए पनि आकस्मिक डायलसिस गरेर फर्किने गरेका छन् । एकपटकका लागि आकस्मिक डायलसिस सेवा पाइहाले पनि नियमित उपचारका लागि पालो पाउन बिरामीलाई सास्ती छ ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अहिले एक सय ४० बिरामी डायलसिसको पर्खाइमा छन् । दैनिक एक सय बिरामीको डायलसिस गरिरहेको केन्द्रका शाखा अधिकृत हरिहर पौडेलले बताए । ‘हामीसँग ३० वटा हेमोडायलसिस मेसिन छन्, बिरामीको चाप भने धान्ने नसक्ने छ,’ उनले भने । साँघुरो भौतिक संरचनाका कारण उपकरण थप्ने बजेट भए पनि सेवा विस्तार गर्न नसकिएको उनले बताए ।
सरकारले पाँच वर्षअघि मिर्गौला डायलसिस निःशुल्क गर्ने निर्णय गरेपछि अस्पतालमा चाप छ । बढ्दो चापअनुसार जनशक्ति र उपकरण नहुँदा बिरामीले एक वर्षसम्म पालो कुरेर डायलसिस गराउने गरेका छन् ।
शिक्षण अस्पतालका नेफ्रोलोजिस्ट डा. मुकुन्द काफ्लेका अनुसार नियमित डायलिसस गर्नेको तुलनामा नगर्नेको चाँडै ज्यान जाने खतरा हुन्छ । ‘बेलैमा डायलसिस नहुँदा किड्नीबाट निस्कने वेस्ट प्रोडक्ट (खराब पदार्थ) शरीरमा जम्मा भइरहन्छ, यसले हड्डी, मुटु, मस्तिष्कलगायत अंगलाई असर गर्छ’, उनले भने, ‘यसका लागि नियमित डायलसिस गर्नुपर्छ ।’
निःशुल्क डायलसिसका लागि देशभरिका सरकारी, निजी र गैरसरकारी गरेर ५४ अस्पताल तोकिएका छन् । राजधानीमा मात्रै यस्ता २२ अस्पताल भए पनि बिरामीको चाप थेग्न सकिएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रतिदस हजारमा एक व्यक्तिको मिर्गौला फेल हुने गरेको छ । हरेक वर्ष ३ हजारको हाराहारीमा मिर्गौला फेल भएका बिरामी थपिने गरेका छन् । बिरामीको चापअनुसार डायलसिस सेवा भने सहज हुन सकिरहेको छैन ।

