काठमाडौं । सीमा जोडिएका छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ लहरदेखिएको बेला मुलुकभित्रै ओमिक्रोनको नयाँ सब भेरियन्ट फेला परेको छ । तीन महिनाको अवधिमा मुलुकभित्र ओमिक्रोन भेरियन्टका थप १६ वटा सब भेरियन्ट थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, ओमिक्रोनको १७ वटा सब भेरियन्ट बिहीवार पुष्टि भएको छ । यस अघि गत साउन २१ देखि असोज १४ गतेसम्म नमूना संकलन गरि जिनोमिक पहिचान गरिएको थियो । त्यसबेला ओमिक्रोनको सब भेरियन्ट एक्सबीबी पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीका अनुसार, पछिल्लो एक महिनामा मुलुकका विभिन्न भागबाट संकलित ४८ नमुनाको जीन सिक्वेसिङ गरिएको थियो ।संकलित नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको विभिन्न सब भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको । राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा बिए.२, बिए.२.७५, बिए.२.७५.१, बिए.२.७५.२, बिए.२.७५.३, बिए.२.७५.५,बिए .२.७५.६, बिए.२.७६, बिए.५.२, बिए.५.२.१, बिएम.१, बिएम.१.१.३, बिएन.१.३, बिक्यू.१.१, बिक्यू.१.२, बिवाई.१ र एक्सबीबी पुष्टि भएको छ । एक्सबीबी तीन महिना अघि पहिलो पटक पुष्टि भएको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले कोभिड १९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले सबैले मास्कको प्रयोग गर्नु पर्ने सुझाव दिए । उनले भने, ‘एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिनु पर्ने भएको छ ।’ डा. अधिकारीले सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कहरुकाले तथा स्वास्थ्य संस्थाहरुले आवश्यक स्क्रीनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरे ।
सीमामा निगरानी बढाउन सुझाव
छिमेकी चीन र भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै जोखिम बढेको जनस्वास्थ्यविद्हरु बताउँछन् । चीनमा सोमबार र मंगलबार कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले जनाएको छ । चीनमा कोभिड संक्रमण बढेपछि भारतको स्वास्थ्य मन्त्रालयले सतर्कता बढाएको छ ।सबै संक्रमितको जिनोम सिक्वेन्सिङ गर्न निर्देशन दिएको छ । सरकारी तथ्यांक अनुसार भारतमा अहिले झण्डै चार हजार सक्रिय संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले छिमेकी मुलुकहरुमा संक्रमणको पछिल्लो अवस्थाबाट सजग हुनु पर्ने बताए । ‘ छिमेकी मुलुकहरुमा संक्रमणका पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुनु पर्ने जरुरी छ,’ डा. अधिकारीले भने,‘ सम्बन्धित देशहरुसँग समन्वय गर्ने र निगरानी बढाउने काम भइरहेको छ ।’
कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन थाले पछि जनस्वास्थ्यविद्हरु चिन्ता व्यक्त गरेका छन् । बरिष्ठ जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीले छिमेकी मुलुक चीन र भारतमा संक्रमितहरुको संख्या बढेसँगै चिन्ता थपिएको बताए । ‘ मुलुकभित्र पुष्टि भएका सब भेरियन्टसँग भन्दा बाहिरबाट आउने भेरियन्टले जोखिम बढाउन सक्छ,’ डा. मरासिनीले भने,‘ छिमेकी मुलुकसँग जोडिएका सीमा नाकाहरुमा गई नमूना संकलन गरि परीक्षण गर्नु पर्ने जरुरी छ ।’
पछिल्लो समय छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको बि.एफ. ७ पुष्टि भएको छ । उक्त भेरियन्ट नेपालमा हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।
फेरी कोभिड ?
चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन, भारत, दक्षिण कोरिया, अमेरिकालगायतका देशमा संक्रमणमा वृद्धि भएको जनाउँदै सबै प्रवेश बिन्दुका हेल्थ डेस्क र स्वास्थ्य संस्थाले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कतालगायत आवश्यक तयारीका लागि सतर्क गराएको हो ।
संक्रमण देखिएका मुलुकसँग समन्वय गर्दै निगरानी बढाउन सुरु गरिएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि, चीनलगायत मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सव–भेरिएन्ट ‘बीएफ–७’ नेपालमा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
चीनमा ओमिक्रोनको सब–भेरिएन्ट ‘बीएफ–७’ का कारण नयाँ लहर आएको जनाउँदै धुलिखेल अस्पतालका जिनोम सिक्वेन्स् ल्याबका प्रमुख डा.राजीव श्रेष्ठ भन्छन्, ‘यो भेरिएन्ट भारतको गुजरात र उडिसा राज्यमा पछिल्लो ६ महिनामा ४ जनामा पुष्टि भइसकेको छ ।’ सेल होस्ट एन्ड माइक्रोब जर्नलमा हालै प्रकाशित एक रिपोर्टअनुसार मुख्य भेरिएन्टको दाँजोमा ‘बीएफ–७’, सब–भेरिएन्टमा ४.४ गुणा बढीे ‘न्युट्रलाइजेसन रेसिस्टेन्ट’ क्षमता पाइएको छ । जसका कारण खोप वा प्राकृतिक संक्रमणबाट मानिसको शरीरमा विकसित कोरोनाविरुद्घको एन्टिबडीले ‘बीएफ–७’ लाई नष्ट गर्न कम सक्षम देखिएको छ । यसको संक्रमणबाट जोगिन बुस्टर डोजमा लिन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
‘न्युट्रलाइजेसन एन्टिबडी बढाउन बुस्टर डोज लिनु आवश्यक छ । त्यसैले अर्को कुनै भेरिएन्ट आयो भनेर त्रसित हुनुभन्दा पनि खोपमै जोड दिनुपर्छ,’ डा. श्रेष्ठले भने, ‘कोभिडविरुद्घको तेस्रो मात्रा धेरैले लिएका छैनन् ।’ चीनले आफ्नो मुलुकमा उत्पादित खोप मात्र उपयोग गरेको र त्यसको प्रभावकारिता ५० प्रतिशतभन्दा कम देखिएको डा. श्रेष्ठ बताउँछन् । ‘हामी कहँ उपयोग भएका अधिकांश खोपको प्रभावकारिता उच्च छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ करोड ३७ लाख ३६ हजार ४ सय मात्रा चीनमा उत्पादित भेरोसेल भित्रिएको छ । त्यसमध्ये ४२ लाख ८० हजार ९ सय ९६ मात्रा मौज्दात छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी तथा महामारी शाखाका प्रमुख डा. अभियान गौतमले बुस्टर डोज लगाउनेको संख्या कम भएकाले संक्रमणको जोखिम कायम रहेको बताए । ‘खोपको विकल्प छैन, यी सबै भेरिएन्टमा खोपले काम गर्छ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७९ लाख ७२ हजार ७ सय ९१ जनाले मात्र खोपको अतिरिक्त मात्रा लिएका छन् । त्यस्तै कुल जनसंख्याको ७६.५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले खोपको पूर्ण मात्रा लिएका छन् । एक मात्रा खोप लगाउनेको संख्या २ करोड ३२ लाख ८ हजार ४ सय ८३ छ । यो कुल जनख्याको ७९.५ प्रतिशत हो । मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता ५ करोड ३५ लाख ६ हजार २३ सय ७ मात्रा खोप लगाइसकिएको छ ।
देशभर बिहीबार एन्टिजेन र पीसीआर गरी १ हजार १ सय ९० नमुना परीक्षण गर्दा एक जनामा मात्र संक्रमण देखिएको छ । १५ जना सक्रिय संक्रमित छन् । नेपालमा मुख्य रूपले ओमिक्रोनकै विभिन्न सब–भेरिएन्ट देखिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिङमा ओमिक्रोनका सब–भेरिएन्टहरू ‘बीए–२’, बीए–२.७५, बीए–२.७५.१, बीए–२.७५.२, बीए–२.७५.३, बीए–२.७५.५, बीए–२.७५.६, बीए–२.७६, बीए–५.२, बीए–५.२.१, बीएम–१, बीएम–१.१.३, बीएन–१.३, बीक्यू–१.१, बीक्यू–१.२, बीवाई–१, र एक्सबीबी पुष्टि भएका छन् ।

