काठमाडौँ । बिरामी पर्दा निको हुन औषधि प्रयोग गरिन्छ । तर चिकित्सकको परामर्शमा प्रयोग गरिने औषधिसमेत कहिलेकाहीँ कम गुणस्तरको हुन्छ भन्ने, कमै मात्रलाई थाहा होला । सरकारी तवरबाट पर्याप्त अनुगमन तथा परीक्षण हुन नसक्दा आम उपभोक्ताले कम गुणस्तरको औषधिसमेत प्रयोग गर्नुपर्ने अवस्था छ ।
नेपालमा स्वदेशी र विदेशी गरी साढे १८ हजार ब्रान्डका औषधि दर्ता छन् । तर प्रयोगशाला परीक्षण भने बर्सेनि करिब १ हजारको मात्र हुने गरेको छ । त्यसमा करिब १० प्रतिशत औषधि कम गुणस्तरको पाइन्छ । अर्थात् या ती औषधिमा हुनुपर्ने जति तत्त्व हुँदैनन् या शरीरमा कामै नगर्नेसम्मका हुन्छन् । त्यस्ता औषधिलाई औषधि व्यवस्था विभागले बजारबाट फिर्ता ल्याउन निर्देशन दिन्छ । केही औषधि फिर्ता हुन्छन् भने केही फिर्ता हुनु अगावै उपभोक्ताले प्रयोग गरिरहेका हुन्छन् ।
विभाग भने स्थापनाकालदेखि कै जनशक्तिले काम गर्नुपर्ने भएकाले अनुगमन तथा परीक्षणको पाटो फितलो रहेको बताउँछ । ४९ जना जनशक्तिका साथ २०३६ सालमा विभाग स्थापना हुँदा नेपालभर २ औषधि उद्योग र १ हजार औषधि पसल थिए । अहिले ८३ उद्योग सञ्चालनमा छन् भने औषधि पसलको संख्या २४ हजार पुगेको छ ।
पछिल्लो पटक विराटनगर, वीरगन्ज र नेपालगन्ज गरी ३ वटा शाखा विस्तार भएका छन् । यस्तोमा जनशक्ति थप गर्न न सरकारले समेत चासो दिएको छैन ।
विज्ञहरूका अनुसार कम्तीमा पनि बर्सेनि ३ हजार औषधिको अनुगमन हुनुपर्ने हो । तर नेपालमा परीक्षण तथा अनुगमनको पाटो फितलो हुँदाको मार आम उपभोक्ताले पाइरहेका छन् । कम गुणस्तरको औषधि प्रयोग गर्दा त्यसले थप स्वास्थ्य समस्या निम्त्याउने जोखिम उत्तिकै छ ।
औषधि उपभोग नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यसैले जनशक्ति थप गर्दै अनुगमन तथा परीक्षणको संयन्त्र बलियो बनाउन सरकारी निकायहरू समयमै गम्भीर हुनै पर्छ ।

