काठमाडौँ — नेकपा एमालेले आफ्नो घोषणापत्रमा आगामी ५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत हुने सबै उपचार बिमाले समेट्नेगरी सुनिश्चितता गरिने सो पार्टीको घोषणापत्रमा उल्लेख छ । ६० वर्ष कटेकालाई भने निशुल्क रक्तचाप र मधुमेह रोगको परीक्षण गरी औषधि उपलब्ध गराइने भनिएको छ ।
रोजगार सूचना केन्द्रलाई थप प्रभावकारी बनाउँदै बेरोजगारी अवस्थाको तथ्याङ्क सङ्कलन र सूचना प्रणाली विकास गरिने घोषणा पत्रमा उल्लेख छ । ‘५ वर्षमा श्रमिकको न्यूनतम ज्याला मासिक २५ हजार पुर्याइनेछ’ घोषणापत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम एउटा सिपमूलक तालिम दिने र विदेशबाट फर्केका व्यक्तिको ज्ञान, सिप र पुँजीको सदुपयोग गर्नेसम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ ।’
किसानलाई समयमै मल र बिउको उपलब्ध गराइने, प्रमुख खाद्य बालीहरू धान, मकै ,गहुँ, फापर, तरकारी, फलफूल तथा दूध अण्डा, मासु, माछा र पशुपन्छीका उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइने घोषणापत्रमा छ । हालको करिब ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई ५ वर्षभित्र १ सय खर्ब पुर्याइने घोषणापत्रमा लेखिएको छ । त्यस्तै ५ वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी वार्षिक २ हजार ४ सय अमेरिकी डलर पुर्याइने उल्लेख छ । यो हालको भन्दा दाेब्बर हो । नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने एमालेको भनाइ छ ।
‘आगामी दुई वर्षमा सबैको बैंक खाता भएको हुनेछ’ घोषणापत्रमा भनिएको छ ‘सबै परिवारलाई वर्षायाममा ५० युनिट र हिउँदमा मासिक ३० युनिट विद्युत् निशुल्क उपलब्ध गराइने छ ।’ ५ वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने पनि घोषणापत्रमा लेखिएको छ । सबै कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने, ५ वर्षभित्र निर्माणाधीन ठूला बहुउद्देश्यीय सिँचाइ आयोजना, नदी डाइभर्सन सिँचाइ आयोजना, उपत्यका तथा टार सिँचाइ आयोजना, भूमिगत स्यालो तथा डिप ट्यबवेल आयोजनाहरू सम्पन्न गरिने पनि एमालेको घोषणापत्रमा छ । ‘नेपाललाई दक्षिण एसियामा लगानीको आकर्षक गन्तव्य बनाइने छ’ घोषणापत्रमा भनिएको छ ।
१२ नयाँ औद्योगिक क्षेत्र, १५ विशेष आर्थिक क्षेत्र र १०३ औद्योगिक ग्रामको पूर्वाधार विकास गरी उद्योगहरूको स्थापना गरिने उल्लेख छ । १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गरिने एमालेको घोषणापत्रमा लेखिएको छ ।

