स्वास्थ्य सेवामा समर्पित हुने लक्ष्य अनुरुप चिकित्सा शिक्षा अध्ययन गरेका डाक्टरहरु राजनीतिमा आकर्षित देखिएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनामा चुनावी मैदानमा होमिएका छन् ।
नेपाली कांग्रेसका डा. शशाङ्क कोइरालाले नवलपुर–१ बाट उम्मेदवारी दर्ता गराएका छन् । डा. कोईराला आँखारोग विशेषज्ञ हुन् । यस्तै नेपाली काँग्रेसका डा. शेखर कोइरालाले मोरङ–६ बाट उम्मेदवारी दर्ता गराएका छन् । फिजिसियन हुन् ।
यसैगरी चितवन–३ बाट नेकपा (माओवादी केन्द्र)का तर्फबाट डा. भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् । उनी पनि फिजिसियन हुन् । डा. अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर चुनावमा उत्रेका हुन् । ललितपुर–३ बाट शल्यचिकित्सक डा. तोसिमा कार्की पनि चुनावी मैदानमा होमिएकी छिन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. कार्कीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी हुन् ।
काठमाडौँ–५ मा राप्रपाका तर्फबाट प्रा.डा.रामप्रसाद उप्रेती चुनावी प्रतिस्पर्धामा देखिएका छन् । । यसैगरी स्याङ्जा–२ (ख) मा नेकपा एमालेबाट डा. बुद्धिमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनील शर्माले मोरङ–३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै ललितपुर–२ बाट दन्तरोग विशेषज्ञ सुदिन शाक्य, ललितपुर–१ बाट डा. सचिन घिमिरेले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् ।रुपन्देही–२ बाट डा. निकोलस भुसालले उम्मेदवार दिए पनि उम्मेदवारी रद्द भएको छ ।
सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा डा. फरेन्द्र शाहले उम्मेदवारी दिएका छन् । वरिष्ठ बाल रोग विशेषज्ञ डा. शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सप्तरी–३ मा हाम्रो नेपाली पार्टीबाट डा. नवीन मण्डल, रौतहट–१ मा राष्ट्रिय जनमत पार्टीबाट डा. राजेन्द्रप्रसाद साह, महोत्तरी–४ मा जसपाबाट डा. सुरेन्द्रकुमार यादव, रौतहट–२ मा नेपाली कांग्रेसबाट डा. फिर्दोस आलम र पर्सा–३ (ख)मा जसपाबाट डा. मधु गुप्ता चुनावी मैदानमा उत्रिएका छन् । यस्तै छाला तथा यौन रोग विशेषज्ञ डा. प्रसन्नकुमार झाले जनमत पार्टीबाट धनुषा–३ (क)बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी बारा–१ बाट डा. राकेश न्यौपाने, बाँके–२ (ख) बाट डा. विनोद कर्ण, सुनसरी–२ बाट डा. फडेन्द्र साह, सप्तरी–१ बाट डा। रोहित पोखरेल, सिराहा–३ (ख) बाट डा. प्रवीण यादव पनि चुनावी मैदानमा उत्रेका छन् । यस्तै डा. अर्चनशमशेर राणाले काठमाडौँ–४ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएका छन् । डा. रक्षा न्यौपाने बारा–२ बाट प्रतिस्पर्धा गर्दै छिन् ।

