काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूमाथि दुर्व्यवहार आरोपसहित उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे विवरणसहितको पत्र बुझाएका छन्।
डा श्रेष्ठमाथि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमै कार्यरत एक महिला चिकित्सकले गाली गलौज र दुर्व्यवहार गरेको भन्दै विभिन्न चार वटा निकायमा उजुरी दिएकी थिइन्। डा श्रेष्ठले आफूमाथि उजुरी परेपछि त्यसको जवाफ दिँदै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका हुन्। उनले उजुरी परेका निकायमा उक्त पत्रको बोधार्थ दिएका छन्।
केन्द्रमै कार्यरत महिला सहकर्मी चिकित्सकले डा पुकारले आफूमाथि पटक पटक दुर्व्यवहार गरेको भन्दै न्यायका लागि चार वटा निकायमा उजुरी दिएकी हुन्। ती महिला चिकित्सकले नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्ड, महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेल र नेपाल चिकित्सक संघमा उजुरी दिएकी हुन्। डा पुकारले दुर्व्यवहारसँगै धम्की दिने गरेको भन्दै न्यायको माग गर्दै उजुरी दिएकी थिइन्।
डा पुकारले ती महिलाले लगाएको आरोप गलत भएको भन्दै पाँच बुँदे विवरणसहितको पत्र र केन्द्रमा कार्यरत अन्य कर्मचारीको हस्ताक्षरसहितको विवरण समेत प्रशासनमा बुझाएका छन्।

