काठमाडौं । सामान्यतया डायलसिस ३० वर्ष उमेर पुगेकालाई सातामा दुई पटक, वृद्धवृद्धालाई तीन पटकसम्म गराउनुपर्छ । यस्ता बिरामीलाई प्रत्येक दुई सातामा रगत चढाउनुपर्छ । त्यसो नभए शरीरमा विभिन्न समस्या थपिन्छन् । विभिन्न रक्त समूहमध्ये ‘ओ’ र ‘ए’ सहज रूपमा पाउन सकिन्छ । ‘बी’ र ‘एबी’ कम मात्रामा पाइन्छ । नेगेटिभ रगत झनै कम पाइन्छ । यस्ता बिरामी यो बेला अझ मर्कामा छन् ।समयमा रगत चढाउन नसक्दा शरीर सुन्निएको हुन्छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार पोजिटिभ र नेगेटिभ गरी रगत ८ थरीका हुन्छन् । मुलुकमा ए, ओ र बी समूहका ९० प्रतिशत र एबी समूहका १० प्रतिशत रक्तदाता छन् । केन्द्रसम्म आउने एबी समूह भएकामध्येमा ३ प्रतिशतमा मात्रै नेगेटिभ समूहको रगत हुने निर्देशक दिव्यराज पौडेलले बताए । यसकारण नै डोनरको आवश्यकता पर्ने गरेको उनको भनाइ छ । ‘अहिले पनि डोनर कार्ड दिने व्यवस्था छ । तर कार्ड सिस्टम मुलुकभर लागू गर्न सक्ने सम्भावना कम भएकाले हटाइएको हो । त्यसमाथि पहिला आउनेलाई प्राथमिकता दिनुपर्ने भएकाले पनि यो व्यवस्था हटायौं । तैपनि यसको विकल्प सोचिरहेका छौं ।’
उनका अनुसार निषेधाज्ञा, मनसुन सक्रिय भई खोलानाला बढ्दा र खेतीपातीको काम सुरु भएकाले पनि देशभर रक्तदान शिविर कम आयोजना भइरहेको छ । अहिले मुस्किलले ४० प्रतिशत रगत मात्रै शिविरबाट संकलन भइरहेको छ ।
संकलित रगतमध्ये एक तिहाइ मात्रै प्रयोग
संकलन भइरहेको रगत पनि उचित भण्डारणको अभाव र रक्तदान प्रक्रियामै सावधानी नअपनाइँदा नालीमा फाल्नुपर्ने अवस्था छ । यसबारेमा सम्बन्धित निकाय जानकार भए पनि व्यवस्थापनमा खासै चासो देखाएको पाइँदैन । संकलित रगतमध्ये हाल ३०–३५ प्रतिशत मात्र प्रयोगमा आउने गरेको नेपाल स्वयंसेवी संघका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य दाबी गर्छन् । भन्छन्, ‘हामी डोनरलाई हारगुहार गरी धेरै दुःख खप्दै रक्तदान शिविर आयोजना गर्छौं तर नेपाल रेडक्रस सोसाइटीलगायत सम्बन्धित निकायको लापरबाहीका कारण संकलित रगतमध्ये आधा पनि प्रयोगमा आउँदैन ।’
उनका अनुसार अस्पतालले चाहिनेभन्दा बढी रगत माग गर्ने गर्छन् । ‘बिरामीलाई प्रयोगमा नआएको रगत पनि फर्काउन चासो दिँदैनन् । बिरामीका आफन्तले पनि प्रयोग नभए रगत फर्काउँदैनन्,’ उनले भने, ‘रेडक्रस सोसाइटीमा राम्रोभन्दा हाम्रो मान्छे नियुक्ति गर्ने प्रवृत्तिले समस्या देखिएको हो । यसले रक्तदाताले दुःख गरेर पठाएको रगतको मूल्यांकन भएन ।’
राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा बिरामीले रगत निःशुल्क पाउनुपर्ने व्यवस्था छ । तर रेडक्रस र अस्पतालहरूले रगत दिएबापत चर्को मूल्य लिने गरेको आरोप नयाँ होइन । अहिले रेडक्रसले एक पिन्ट रगतको ४ सय ९५ र निजी अस्पतालहरूले २ हजार २ सयदेखि २ हजार ४ सय रुपैयाँसम्म लिने गरेका कर्माचार्य बताउँछन् । रेडक्रस निर्देशक पौडेलले भने रगत खेर जान नदिन अस्पताल प्रशासन र बिरामीका आफन्तलाई फर्काउन अनुरोध गर्ने गरेको दाबी गरे । ‘परीक्षणबाट रिजेक्ट भएका, निश्चित आयु भएका, अस्पतालले व्यवस्थापनमा चासो नदिएको रगत मात्र खेर जाने हो,’ उनले भने, ‘खेर जाने रगत अत्यन्त न्यून छ ।’
बिरामीका आफन्तले पनि लगेको रगत अस्पतालमा प्रयोग भए/नभएको बारेमा जानकारी नलिने गरेको उनको आरोप छ । ‘मापदण्डमा प्रयोग नभएको रगत फर्काउनुपर्छ भन्ने उल्लेख छ । अनुगमनका लागि स्वास्थ्य विभागसँग पनि सहकार्य गर्न माग गरेको छु,’ उनले भने ।

