हेटौंडा (कास)– राक्सिराङ गाउँपालिका—५ ठाडोचुरीका हरिबहादुर चेपाङले २३ कट्ठा जमिन गाउँपालिकालाई
दान गरेका छन् । गाउँपालिकाले अस्थायी कोभिड
अस्पताल र १० बेडको स्थायी अस्पताल निर्माण गर्न समथर जमिन नपाएपछि ४८ वर्षीय हरिबहादुरले उक्त जमिन दान गरेका हुन् ।
ठाडोचुरीमा प्रतिकट्ठा ८ लाख रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अहिलेकै मूल्यमा हिसाब गर्ने हो भने हरिबहादुरले १ करोड ६० लाख पर्ने जमिन दान गरेका छन् । ‘हरिबहादुरले जग्गा दान नदिएको भए अहिले गाउँपालिकामा अस्थायी कोभिड अस्पताल बनाउन सम्भव नै थिएन । अर्कोतिर १० बेडको स्थायी अस्पतालमा बनाउन टेन्डर पनि गर्न सक्ने थिएनौं,’ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाका अधिकांश जमिन र बस्ती भिरालो छ । समथर जमिनको अभाव छ । गाउँमा सामाजिक कार्यकर्ताको परिचयसमेत वनाएका हरिबहादुरको जग्गा ठाडोचुरी र चैनपुरमा गरेर २ विघा ३ कट्ठा रहेको थियो । तीन सन्तानका बाबु हरिबहादुरले उपचार नपाएर गाउँलेको मृत्यु नहोस् भनेर अस्पताल बनाउन जग्गा दिएको बताए । ‘सम्पत्ति धेरै, धनी भएर दिएको होइन गाउँलेले गाउँमै उपचार पाऊन् भनेर दिएको हो,’ उनले भने ।
हरिबहादुरले दिएको जग्गामा गाउँपालिकाले करिब ६५ लाखको लागतमा अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । अक्सिजनसहित २६ वेडको उक्त अस्पतालको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सोमबार एक समारोहबीच उद्घाटन गरेका छन् । उक्त अस्पताल निर्माण गर्न समन्वय समितिले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । सोमबारदेखि नै कोभिड अस्पतालमा बिरामी राखिने स्थानीय स्वास्थ्य चौकीका प्रमुख डा. धनबहादुर खत्रीले बताए । उनले भने, ‘अक्सिजनसहितको उपचार आवश्यक पर्ने कोभिडका बिरामीलाई यहाँ ल्याएर राख्ने छौं ।’ चेपाङ बाहुल्य बस्तीमा निर्माण गरेको यो मात्र एउटा कोभिड अस्पताल हो । गाउँपालिकाले चैनपुरस्थित स्कुलको भवनमा आइसोलेसन वार्ड सञ्चालन गर्दै आएको छ । उक्त वार्डमा अहिले ५ जना संक्रमित छन् । साभार कान्तिपुर २०७८ जेठ २४
अस्पताल बनाउन २३ कट्ठा जग्गादान
अस्पताल बनाउन २३ कट्ठा जग्गादान
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

