काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले भारतमा मात्रै कोभिड सङ्क्रमणका कारण ४७ लाख मानिसहरूको मृत्यु भएको हुनसक्ने जनाएको छ। यो सङ्ख्या भारतले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क भन्दा १० गुणाले बढी हो।
यो विवरण अनुसार कोभिड महामारीबाट विश्वभर मृत्यु हुनेहरूको एक तिहाइ सङ्ख्या भारतमा देखिन्छ।
तर भारत सरकारले विश्व स्वास्थ्य सङ्गठनको यो आकलनमा प्रश्न उठाएको छ।
भारतले गणनाको विधिमा “चिन्ता” रहेको बताए पनि अन्य अध्ययनहरूले पनि भारतमा कोभिडबाट मृत्यु हुनेहरूको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी रहेको देखाएका छन्।
भारत बाहेक सरकारी विवरणहरूमा भन्दा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा धेरै कोभिड मृत्यु देखिएका देशहरूमा रुस, इन्डोनेसिया, अमेरिका, ब्रजिल, मेक्सिको र पेरु छन्।
रुसले सार्वजनिक गरेको कोभिड मृत्युको विवरणभन्दा विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो विवरण साढे तीन गुनाले बढी छ।

