कक्स बजार (बंगलादेश) – वैशाखको धूप । जमिन तातेर पूरै हप्प छ । बंगालको खाडीमा मडारिँदै उड्ने हावाको पहिलो झोक्का सबैभन्दा पहिले यहीँ आइपुग्छ तर त्यसले वातावरण शीतल बनाउँदैन, बरु बेस्सरी छारो उडाउँछ । त्यही छारोमुनि आँखाले भ्याउन्जेलसम्मको दूरीमा फैलिएका छन्, हजारौं हजार छाप्रा । तीमध्ये जुनसुकै छाप्रामा पुगौं– पुरुषहरू चनाखो बन्छन् । महिलाहरू लुसुक्क टाउको लुकाउँछन् अनि आफूलाई घेर्न आइपुग्छन् बग्रेल्ती बालबालिका, जसका ओठमा न मुस्कान छ, न त आङमा कपडा नै । लाग्छ, यो संसारकै सबैभन्दा ठूलो मानव–निर्मित विपत्तिको विद्रुप नमुना हो ।
बंगलादेशको दक्षिणपूर्वी क्षेत्रस्थित कक्स बजार कुनै बेला सामुद्रिक तटीय पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा परिचित थियो । अब यसको मुख्य पहिचान अर्कै छ । यो अहिले संसारकै सबैभन्दा धेरै शरणार्थीको आश्रयस्थल हो । औपचारिक गणनामा फरकफरक तथ्यांक आए पनि यहाँका सबै शरणार्थी शिविरमा १० लाखभन्दा बढी रोहिंग्या छन् । तीमध्ये आधाभन्दा बढी (५५ प्रतिशत) बालबालिका हुन् । शरणार्थीका केही दर्जन बस्ती त अभिलेखमै छैनन् । छिमेकी मुलुक म्यानमारबाट उत्पीडित रोहिंग्या शरणार्थी कठोर कष्ट र हन्डर खाँदै घना जंगल र समुद्रको बाटो भएर यहाँ आइपुगेका हुन् । शिविरमा आश्रय लिइरहेका जो कसैलाई भेटौं, हरेकका व्यथा उत्तिकै हृदयविदारक छन् । बंगालीभाषी महिलाको आग्रहमा मुस्किलले बोल्न राजी भएकी एक महिलाले उनको जीवनको सबैभन्दा त्रासदीपूर्ण अवस्थाबारे भनिन्, ‘त्यो रात आरकान स्टेटको हाम्रो घरमा म बालबच्चालाई बेलुकीको खाना खुवाउँदै थिएँ । सात/आठ जना सैनिक आए । मेरा तीनवटै बच्चालाई एकएक गर्दै टिपेर बाहिर फ्याँके ।
३ घण्टाजति उनीहरूले मसित गर्न नहुने व्यवहार गरे । त्यसपछि घर छाडेर नगए थुनेर जलाइदिने चेतावनी दिए । अनि हामी रातारात भाग्यौं ।’ जंगलैजंगलको बाटो करिब दुई सातासम्म हिँडेपछि बल्ल बंगलादेश आइपुगेको उनले बताइन् । ‘यहीँ आइपुगेर जन्मे–हुेर्केका बाहेक हामी सबैले म्यानमारका सैनिक र बहुसंख्यक बौद्धमार्गीको ज्यादती खेपेका छौं,’ आरकान रोहिंग्या सोसाइटी फर पिस एन्ड ह्युमन राइटसका एक सदस्यले भने ।
‘कतिले आफ्नै आँखा अघिल्तिर आफन्तको हत्या गरिएको देखेका छन् । कतिले भाग्दाभाग्दै आफ्ना घरमा आगो दन्किरहेको दृश्य देखेका छन् । कैयौं महिला सामूहिक रूपमा बलात्कृत भएका छन् । कतिलाई बलात्कारपछि घरमै थुनेर आगोसमेत लगाइएको छ । कतिका छोराछोरीलाई फुटबल खेलेझैं लात मारिएको छ त कतिलाई भाग्न लगाएर पछाडिबाट गोली हानिएको छ,’ उनले भने ।
राष्ट्रसंघीय इन्डिपेन्डेन्ट फ्याक्ट फाइन्डिङ मिसनको तथ्यांकअनुसार म्यानमारमा रोहिंग्या बस्तीका ३ सय ९२ गाउँ पूरै वा आशिंक रूपमा ध्वस्त पारिए । आम नरसंहारका ९ वटा घटना भए । हजारौंको हत्या भयो । बलात्कारका घटनाको त यकिन तथ्यांक नै छैन । म्यानमारमा रोहिंग्यामाथिको दमन र उत्पीडन दशकौं पुरानो भए पनि चरम ज्यादतीचाहिँ २०१६ को अक्टोबरदेखि हुन थालेको हो । आरकान सोसाइटीका अनुसार १९१७ अक्टोबरदेखि २०१८ जुलाईको अवधिमा मात्रै रोहिंग्या बहुल तीन मुख्य बस्तीहरूमा ९ हजार २ सय ८ जनाको हत्या गरिएको थियो । १ हजार ८ सय ३४ महिला र किशोरी बलात्कृत भए । ७२ हजारभन्दा बढी घरमा आगो लगाइएको सोसाइटीको तथ्यांक छ । रोहिंग्याहरूमाथि व्यभिचार र बर्बर हिंसाका घटना तीव्र भएपछि ३४ दिनभित्रै ५ लाख रोहिंग्या मुलुक छाडेर बंगलादेश पसेका थिए ।
यी सबै शरणार्थीका लागि कक्स बजारमा ३४ क्याम्प छन् । प्रत्येक क्याम्पमा २५ देखि ५० हजार व्यक्तिको बसोबास छ । ‘शरणार्थीको यो संख्या आफैंमा संसारका कतिपय मुलुकको कुल जनसंख्याभन्दा धेरै हो,’ रोहिंग्या कोअर्डिनेसन कार्यालयका प्रमुख मोहम्मद मिजानुर रहमान भन्छन्, ‘जत्रो ठूलो शिविर छ, समस्या पनि त्यही अनुपातमा छन् ।’ शरणार्थी क्याम्पहरूमा कति नयाँ शिशु जन्मिन्छन् भन्ने कुनै तथ्यांक छैन । मुस्लिम समुदायमा परिवार नियोजन गर्ने प्रचलन खासै नभएकाले यहाँ बर्सेनि सयौं शिशु थपिइरहेको एक अन्तर्राष्ट्रिय सहायता संस्थामा कार्यरत कर्मचारीले बताइन् । क्याम्पहरूमा परिवार नियोजनको व्यवस्था के छ भन्ने प्रश्नमा रोहिंग्या समुदायका अर्का एक अगुवाले भने, ‘परिवारमा हामी सबै मिलेर बसेका छौं । थप प्लानिङको कुनै जरुरत नै छैन ।’
रोहिंग्यामाथि किन खनिए म्यानमार सरकार, सैनिक र त्यहाँका बहुसंख्यक बुद्धिस्ट समुदाय ? खोतल्दै जाने हो भने रोहिंग्याका दुःखको कथा बेलायती उपनिवेशकालभन्दा पनि अघिसम्मै तन्किन्छ । सयौं वर्षअघि बंगाली (अहिलेको बंगलादेशका बासिन्दा) व्यापारका सिलसिलमा बर्मा (अहिलेको म्यानमार) पुग्थे । बंगाल–बर्मा आउजाउ भइरहन्थ्यो । तीमध्ये कैयौंले म्यानमारको रखाइन प्रान्त र आसपासका क्षेत्रमा घरजम गरे र बस्ती बसाले । बेलायती उपनिवेशकालमा अहिलेको भारत र बंगलादेशको भूभागबाट कैयौं मानिस कामका लागि म्यानमार लगिए । केही वर्षमै त्यहाँ बसोबास गर्ने मुस्लिमको संख्या दोब्बर भयो । बंगालीहरूलाई त्यसरी आफ्नो मुलुक ल्याइएको बर्मेली आदिवासी समुदायलाई मन परेको थिएन । उनीहरू रोहिंग्यालाई द्वेषपूर्ण दृष्टिले हेर्न थाले । दोस्रो विश्वयुद्धताका यो विद्वेषले थप मलजल पायो । मुस्लिमले बेलायतीलाई समर्थन गरे भने बौद्ध धर्मावलम्बीले जापानीलाई । सन् १९४८ मा म्यानमार स्वतन्त्र भयो । मुलुकमा बौद्धमार्गीको बोलवाला चल्यो ।
मुस्लिमहरू आफ्नो स्वतन्त्र अस्तित्वका लागि विद्रोह गर्न थाले । बदलामा राज्यपक्षले दमन चर्कायो । यो क्रम बढदै जाँदा १९७८ मा रोहिंग्याहरू पहिलो पटक शरणार्थी भए । १९९० दशकको सुरुदेखि थप विस्थापित भए । दुवै पटक गरी रखाइन प्रान्तबाट मात्रै २ लाखभन्दा बढी शरणार्थी भए । रखाइन प्रान्त म्यानमारमा रोहिंग्याहरूको खास बसोबास थलो हो तर ‘रखाइन’ लाई मुस्लिमहरू ‘आरकाइन’ भन्छन् । म्यानमार सरकारले मुस्लिमहरूलाई भगाएपछि त्यो ठाउँको नामै बदलेर ‘आरकाइन’ लाई ‘रखाइन’ बनाइदिएको उनीहरू बताउँछन् । रोहिंग्याहरूको ठूलो संख्या बंगलादेशमा भए पनि उनीहरू शरण खोज्दै थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, जाम्बिया, भारत, अमेरिका र नेपालसम्म पनि पुगेका छन् ।
के चाहन्छन् रोहिंग्या ?
कक्स बजारका शिविरमा भेटिएका सबैजसो रोहिंग्या अगुवा एउटै भनाइ अघि सार्छन्, ‘हामीलाई अहिले दालचामल र अरू राहतको कुनै आवश्यकता छैन । आवश्यकता छ त सक्दो छिटो घर फर्कने वातावरणको ।’ घर फर्किनुअघि म्यानमारमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको उपस्थिति हुनुपर्ने उनीहरूको माग छ । ‘हामीलाई यत्तिकै स्वदेश फर्काइयो भने म्यानमारका आर्मीबाट फेरि पनि जिउज्यानको जोखिम हुने निश्चित छ,’ अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिसामु शरणार्थी अगुवा सैयदुल्लाहले भने, ‘हामी पनि तपाईंहरूजस्तै मानिस हौं । हामी हाम्रा पूर्ण अधिकारसहित घर फर्किन चाहन्छौं । हामीलाई नागरिक अधिकार दिइनुपर्छ । हाम्रो जग्गाजमिन फिर्ता हुनुपर्छ । पेसाव्यवसाय, स्वास्थ्य र शिक्षालगायत सबै अधिकार दिइनुपर्छ र यी सबैभन्दा मुख्य कुरा हामीले न्याय पाउनुपर्छ । अन्तर्राष्ट्रिय समुदायले हाम्रो आवाज सुनोस् ।’
के भन्छ बंगलादेश ?
बंगलादेश आफैंमा जनसंख्याले छ्यालब्याल भएको मुलुक हो । क्षेत्रफलका हिसाबले नेपालभन्दा अलिकति मात्र ठूलो (१ लाख ४७ हजार ५ सय ७० वर्गकिलोमिटर) यो मुलुकमा आधिकारिक गणनाअनुसारको जनसंख्या नै साढे १६ करोड छ । हरेक वर्ष साढे १६ लाखभन्दा बढी जनसंख्या थपिन्छ । बंगलादेशको अधिकांश भूभाग समुद्र सतहदेखि १० मिटरभन्दा तलै पर्छ । अन्तर्राष्ट्रिय अनुसन्धानका तथ्यहरूले के औंल्याएका छन् भने यदि पृथ्वीको तापमान १ डिग्री सेल्सियस मात्रै बढ्ने हो भने बंगलादेशको ११ प्रतिशत भूभाग पानीले छोप्नेछ । यी सबै तथ्यप्रति भलीभाँती जानकार छन् बंगलादेश सरकार र यहाँका नेताहरू । उनीहरू सबैको एउटै स्वर छ, ‘म्यानमारले बिनासर्त आफ्ना नागरिक फिर्ता लगोस् ।’ बंगलादेशका विदेशमन्त्री ए.के.अब्दुल मेमोनले ढाकामा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरूसित भने, ‘बंगलादेश रोहिंग्याहरू सक्दो चाँडो घर फर्किएको र म्यानमारमै सहजतापूर्वक जीवन यापन गरेको देख्न चाहन्छ ।’ म्यानमारले यसमा आनाकानी गरिरहेकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नुपरेको उनले बताए । ‘बंगलादेश आफैंमा ठूलो जनसंख्या भएको मुलुक हो,’ मेमोनले भने, ‘यस्तामा हामी झन्डै १० लाख रोहिंग्यालाई सधैंका लागि थेग्न सक्ने स्थितिमा बिल्कुल छैनौं ।’
नेपालमा पनि बढ्दै
रोहिंग्याहरू बंगलादेशबाट भारत हुँदै नेपालसम्मै आइपुगेका भए पनि राज्यले भने यसबारे खासै ध्यान दिएको छैन । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ स्थित कपनका ४ ठाउँमा बस्दै आएका रोहिंग्या कति संख्यामा छन् भन्ने यकिन तथ्यांक स्थानीय तहमा छैन । ‘उनीहरू हाम्रै वडामा छन् तर अहिलेसम्म कति संख्यामा छन् भन्ने यकिन तथ्यांकसमेत छैन,’ ११ नम्बर बडाका वडाध्यक्ष राजु अधिकारी भन्छन्, ‘उनीहरूको उपस्थितिप्रति राज्य र सुरक्षा निकाय बेपर्वाह रहेकामा मलाई उदेक लाग्छ ।’
रफिक आलम यिनै शरणार्थीमध्येका एक हुन्, जो सन् २०१३ मा यहाँ आइपुगेका थिए । ‘म्यानमारको आरकान स्टेटमा हाम्रो खेतीबारी र दुकान थियो । १० जनाको परिवार थियो,’ सन् २०१३ मा भागेर बंगलादेश पसेका रफिक भन्छन्, ‘त्यो बेला म १० कक्षामा पढ्थेँ । एक दिन आर्मी र बुद्धिस्ट योङ केटाहरू आएर गाउँका धेरै युवालाई समातेर लगे । त्यसपछि डराएर १० जनाको हाम्रो परिवार बंगलादेश पस्यो । पहाड कटेर बंगलादेश आउन १०/१२ दिन लाग्यो ।’ त्यसपछि श्रीमती र ३ छोरासहित भारत हुँदै नेपाल आएका रफिकले यहीँ आइसकेपछि पनि एक सन्तान जन्माइसकेका छन् । ‘परिवारका अरू बाँकी बंगलादेशको कक्स बजार शिविरमै छन्,’ उनी भन्छन्, ‘बंगलादेशको शिविरमा हरेक ५ जनाको परिवारलाई महिनाको २ बोरा चामल, ५ केजी दाल र ५ केजी तेल दिइने गरेको भए पनि नेपालमा कसैले सहयोग नगरेको उनले बताए ।
कपन क्षेत्रमा बस्दै आएका यी रोहिंग्याले निजी जग्गा भाडा लिएर टहराहरू बनाएका छन् । राममन्दिर क्षेत्रमा टहरा बनाएको जग्गा स्थानीय जनक थापाको रहेको र उनलाई वार्षिक २ लाख ४० हजार भाडा तिरिरहेको आलमले बताए । अनौपचारिक जानकारीअनुसार कपन क्षेत्रमा अहिले करिब ३ सय ५० मात्रै रोहिंग्या रहे पनि उनीहरूको संख्या छिटोछिटो बढिरहेको वडाध्यक्ष अधिकारी बताउँछन् । ‘नेपालीसित बिहे गरेका एक पाकिस्तानी युवकले बंगलादेशबाट प्रतिव्यक्ति १५/२० हजार रुपैयाँ लिएर रोहिंग्यालाई यहाँ ल्याउने गरेको भन्ने जानकारी आयो,’ अधिकारीले भने, ‘वडाले यसमा गम्भीर चासो दिएपछि अचेल उनी देखा पर्दैनन् तर यस्तै व्यक्ति अरू पनि छन् भन्ने सुनिएको छ ।’ रोहिंग्यालाई बेलैमा फर्काउने र अरू थपिन नदिन राज्य गम्भीर नहुने हो भने भविष्यमा सम्हाल्न मुस्किल हुने उनको चिन्ता छ ।
बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले मानवीयताका आधारमा हटाउन नसकिने भए पनि उनीहरूका कारण स्थानीयवासीको सुरक्षा र सामाजिकतामा प्रतिकूल असर पर्न नहुने बताए । ‘यो समस्याको स्थायी समाधान केन्द्र सरकारले नै खोज्नुपर्छ,’ उनले भने । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने रोहिंग्या शरणार्थीका रूपमा नभई नेपालमा अवैध विदेशीका रूपमा बसिरहेको बताए । ‘उनीहरू अहिलेको सरकारका पालामा आएका पनि होइनन् र हामीले उनीहरूलाई शरणार्थी मानेका पनि छैनौं,’ मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुखसमेत रहेका सुवेदीले रुखो लबजमा भने, ‘मानवीयताका आधारमा यहाँ बसेका मात्र हुन्, बाँकी कुरा आफैं बुझ्नुस् ।’ थप आउन नदिन सीमाका जिल्ला प्रशासन र सुरक्षा निकायलाई भनिएको उनले सुनाए । साभार ः कान्तिपुर २०७६ बैशाख १५

