काठमाडौँ , स्वास्थ्य विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहले चिकित्सकहरूले आवश्यक मात्रामा भन्दा बढी भिटामिन र ऐन्टिबायोटिक दिने गरेको बताएका छन् ।
राजधानीमा विभागको उपचारात्मक सेवा महाशाखाद्धारा स्थानीय तह, प्रदेश स्वास्थ्य सेवा निर्देशनालयमा कार्यरत फार्मेसिस्ट, हेल्थ एसिस्टेन्ट र अहेवलाई अस्पताल फार्मेसी सुधिकरण तालिममा सम्बोधन गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।
‘हामीले भुइमान्छेका लागि काम गर्नुपर्छ,’ उनले भने । चिकित्सकहरुले विरामीको रोगको इतिहासदेखि लिएर सबै हेरेर मात्र प्रिस्क्रिप्सन लेख्नुपर्ने भन्दै ध्यानार्कषण गराएका छन् ।
१४ दिन सञ्चालन हुने तालिममा सिन्धुली, रामेछाप, चितवन, अर्घाखाची, प्युठान, रुपन्देही प्रत्येकबाट ५/५ जना स्वास्थ्यकर्मी सहभागी भएका छन् । स्वास्थ्यकर्मीले तालिम लिइसकेपछि प्रत्येक महिना जिल्लास्थित स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र जिल्ला अस्पतालको फार्मेसीको पर्यवेक्षण गर्नेछन् ।
उनीहरुले तालिममा औषधीको भण्डार, वितरण प्रणाली, अभिलेख राख्ने तरिका र फार्मेसी व्यवस्थित ढंगबाट सञ्चालन गर्ने बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारेमा अध्ययन गर्नेछन् । खरिद प्रणाली, रेकर्डिङ, रिपोर्टिङ, भौगोलिक क्षेत्र अनुसार आवश्यक औषधी र परिमाण पहिचान, कम्प्युटर र सञ्चार कसरी गर्ने भन्नेबारेमा पनि सिकाइन्छ ।तालिममा औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले तालिमपछि जनताले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे ।

