काठमाडौँ ,वीर अस्पतालको आईसीयू, भेन्टिलेटर जडित वार्डमा ताला लगाइएको छ । सर्जिकल भवनको चौथो तलामा ५०/५० बेडको आईसीयू र भेन्टिलेटर त्यसै थन्किएको हो । तेस्रो तलामा ८/१० जना नन्कोभिड बिरामी भर्ना गरिए पनि एक सय बेड क्षमताको सर्जिकल वार्ड पूरै सञ्चालनमा ल्याउन सकेको छैन ।
बेडहरू जडान गर्न पनि बाँकी छ । पहिलो तलाको ५०/५० बेडको आईसीयू र एचडीयूमा कोभिड बिरामी ५ जना मात्र उपचाररत छन् । कोभिडका लागि छुट्याइएको ५ सय बेड क्षमताको भवन कोभिड संक्रमण कम भए पनि उस्तै चलिरहेको छ ।
- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिडका लागि ४५ वटा आईसीयू, ३० भेन्टिलेटर र १ सय ८ वटा एचडीयू छुट्याइएको छ । गत बिहीबारको तथ्यांक हेर्ने हो भने एक जना पनि नयाँ संक्रमित भर्ना भएनन् । अहिले एचडीयूमा १७, आईसीयूमा १० र भेन्टिलेटरमा दुई जना मात्र उपचारार्थ छन् । अस्पतालमा नन्कोभिडका लागि छुट्याइएको ५० बेडको आईसीयू भरिएको छ । तर, कोभिडका लागि छुट्याइएको आईसीयू बेडमा बिरामी छैनन् ।
- पाटन र सिभिलले पनि कोभिडका बिरामी कम भएपछि अस्पतालमा कोभिडका लागि छुट्याइएको बेड अन्य बिरामीका लागि प्रयोगमा ल्याएका छैनन् । स्वास्थ्य मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार पाटनमा आईसीयू र भेन्टिलेटरमा एक/एक जना मात्र उपचार छन् । ७३ वटा एचडीयू, २७ आईसीयू र १२ भेन्टिलेटर खाली नै छन् । सिभिलमा एचडीयू, आईसीयू र भेन्टिलेटर क्रमशः ३५, १५ र ६ छुट्याएकामध्ये एचडीयूमा ३ र आईसीयूमा ५ जना उपचारार्थ छन् ।
अहिले नयाँ संक्रमित कम हुँदै गएको छ । यसले एकातिर कोभिड बिरामीका लागि छुट्याइएका बेडहरू प्रयोगविहीन भएका छन् भने अर्कोतिर आईसीयू/भेन्टिलेटर नपाएर ननकोभिड बिरामी मर्कामा परेका छन् । वीरको आईसीयूमा उपचाररत माधवराज श्रेष्ठका आफन्त भन्छन्, ‘तीन दिन कुरेर मात्र आईसीयू पाइयो । सोर्सफोर्सदेखि लिएर आईसीयू पाउन निकै हन्डर खानुपर्यो ।’
बिरामीले चरम कष्ट भोग्नुपरे पनि कोभिड उत्कर्षमा पुगेका बेला विस्तार गरिएका बेड संख्या अहिले घटाउन चासो नदेखाउने यी केही ठूला अस्पताल उदाहरण मात्र हुन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार धुलिखेल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरी अस्पताल बलम्बु र वीरेन्द्र सैनिक अस्पताल छाउनीले पनि कोभिडका बेला विस्तार गरिएका बेड नन–कोभिडका लागि प्रयोगमा ल्याउने गरी व्यवस्थापन गर्न सकेका छैनन् ।
मन्त्रालयको तथ्यांकअनुसार भक्तपुरले कोरोना संक्रमणको तेस्रो लहरमा आईसीयू, भेन्टिलेटर, एचडीयू क्रमशः ६, ६ र ३६ बेड छुट्याइएको थियो । शुक्रबार आईसीयू र भेन्टिलेटरमा एक/एक जना मात्र उपचाररत थिए । तर, बेड संख्या भने घटाइएको छैन । धुलिखेल अस्पतालमा पनि ३० बेड एचडीयू, २५ आईसीयू र १० भेन्टिलेटर छुट्याए पनि भेन्टिलेटर पूरै खाली छ । आईसीयूमा एक र भेन्टिलेटरमा ४ जना उपचाररत छन् । सशस्त्र प्रहरी अस्पतालमा १९ बेड आईसीयू र ११ बेडको भेन्टिलेटर खाली छ । वीरेन्द्र सैनिक अस्पतालमा ८ वटा भेन्टिलेटर खाली छ । २१ वटा आईसीयू खाली छ ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठले बिरामीको प्रकृतिका आधारमा बेडहरू व्यवस्थापन गर्दै लगिरहेको दाबी गरे । ‘सुरुमा तीन सय बेडसम्म कोभिडका लागि छुट्याएर चलाएका थियौं,’ उनले भने, ‘अहिले एक सय बेड घटाएर पहिलो र दोस्रो तलको दुई सय बेडमा सीमित गरेका छौं ।’ उनले न्युरो सर्जरी वार्डको ५० बेड पनि नन–कोभिड बिरामी लक्षित गरेर सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘५ सय बेडको सर्जिकल भवन पूरै सञ्चालनमा ल्याउन अपरेसन थिएटरका लागि आवश्यक उपकरण नभएकाले रोकिएको हो,’ उनले भने, ‘अपरेसन थिएटर सञ्चालनमा ल्याउन आवश्यक उपकरण खरिद गर्न ५० करोड रुपैयाँको टेन्डर गर्ने प्रक्रियामा छौं । रेडियोलोजी, ल्याब, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, एक्सरे, सिटिस्क्यान मेसिन पनि खरिद गर्न बाँकी छ ।’
वीरको सर्जिकल भवन अपरेसन गर्नका लागि मात्र भनेर निर्माण गरिएको हो । सर्जिकल भवन पूरै सञ्चालनमा नआउँदा वीरमा पित्तथैलीजस्तो सामान्य शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने बाध्यता छ । नाक, कान, घाँटी, युरोलोजी, न्युरोलोजी, मुटु, डेन्टललगायतको अपरेसन गराउन ५ महिनापछिको मिति लिने पनि छन् । सर्जिकल भवन पूर्ण रूपमा सञ्चालनमा आएमा प्रमुख अपरेसन ५ वटा, मध्यम खालका १० देखि १५ र सामान्य गरेर दैनिक ५० वटाको हाराहारीमा गर्न सकिने स्वास्थ्यविद्हरू बताउँछन् ।
स्वास्थ्यविज्ञ प्रा.डा. ढुण्डीप्रसाद पौडेल भन्छन्, ‘सर्जिकल भवनमा पुरानो भवनको अपरेसनको उपकरण जडान गरेर पनि सञ्चालनमा ल्याउन सकिन्छ । तर, व्यक्तिगत स्वार्थले गर्दा सर्जिकल भवन सञ्चालनमा ल्याउन पहल नगरेको हो । सर्जिकल भवन पूर्ण क्षमतामा सञ्चालनमा आएमा निजी अस्पतालको व्यापार ओरालो लाग्छ ।’ सर्जिकल भवन पूरै सञ्चालनमा नआउनुमा डाक्टरको पनि कमजोरी रहेको उनले आरोप लगाए । ‘यसको फाइदा निजी अस्पतालका व्यापारीले लिइरहेका छन्,’ उनले भने, ‘कतिपय डाक्टरको निजीमा पनि लगानी भएकाले जिम्मेवारीपूर्वक काम गर्न चाहिरहेका छैनन् । कोभिडले गर्दा झन् बहाना मिलेको छ ।’ अस्पतालमा बर्सेनि मुस्किलले साढे ७ हजार जनाको अपरेसन हुन्छ । तर, अपरेसन गराउन दोब्बर बढी बिरामी आउने गर्छन् ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिडका लागि छुट्याइएको बेड संख्या बिस्तारै घटाउने क्रममा रहेको दाबी गरे । ‘तुरुन्त भर्ना गर्नुपर्ने अवस्था आएमा भर्ना गरिसकेका अन्य बिरामीलाई कहाँ पठाउने ? बिरामीको आवश्यकताअनुसार थपघट गर्दै लैजान्छौं,’ उनले भने, ‘आईसीयू चाहिने ननकोभिड बिरामी फर्काएको छैन ।’
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले व्यवस्थापनले आपसी समझदारीमा बेड संख्या घटाउन सक्ने बताए । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने कोभिडका लागि छुट्याइएको २४ वटा आईसीयू, २२ वटा भेन्टिलेटर र ५० बेडको एचडीयू संक्रमित कम भएसँगै यसअघि नै अन्य बिरामी राखेर उपचार थालिसकेको छ । साभार ः कान्तिपुर
प्रकाशित : फाल्गुन २६, २०७८

