काठमाडौँ ,नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा वसन्त अधिकारी निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारी प्रगतिशील समूहका उम्मेदवार थिए भने श्रेष्ठ पेशागत समूहबाट प्रतिस्पर्धामा थिए ।
अधिकारीले ५९२ मत प्राप्त गरे भने श्रेष्ठले ५६५ मत प्राप्त गरे । अध्यक्ष पदमा उम्मेदवारी दिएर पछि पेशागत समूहका श्रेष्ठलाई समर्थन गरेका कृष्णमान शाक्यले पनि १९ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपाध्यक्षमा विमला भट्ट विजयी भएकी छन् । उनले कुल ७२७ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी सुदर्शन पौडेलले ४३५ मत प्राप्त गरे ।
महासचिवमा भने सागर दाहाल निर्वाचित भएका छन् । दाहालको ६४६ मत आएको छ भने उनका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठको ५२६ मत आएको छ ।
यस्तै ६२२ मत प्राप्त गर्दै कोषाध्यक्षमा चेतराज पण्डित विजयी भएका छन् । उनका प्रतिस्पर्धी डमरु पनेरुको भने ५०३ मत आएको छ । सचिवमा ७१९ मत प्राप्त गर्दै रोशन लामा निर्वाचित भए भने उमादेवी थापा ५८६ मत प्राप्त गर्दै सह-कोषाध्यक्ष विजयी भइन् ।साथै, सदस्य सुदिप चिलवाल, अञ्जना खड्का, प्रतिक खनाल, विन्जला श्रेष्ठ, विजेश बस्नेत, दयाकृष्ण पन्त, रामानन्द पण्डित, अम्बिका बानिया, रणधिर यादव विजयी भए ।

