काठमाडौं । अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ घर भई बुढानीलकण्ठ नगरपालिका–८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
गल्फुटार क्षेत्रमा क्यान्सरको उपचारमा प्रयोग हुने महंगा औषधिहरु ल्याएर अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।भण्डारीले भारतमा रहेका आफन्तमार्फत उक्त औषधि मगाएर लामो समयदेखि काठमाडौंका विभिन्न औषधि पसल, अस्पताल तथा क्यान्सर रोगका बिरामीलाई गैरकानूनी रुपमा बिक्री गर्ने गरेको देखिएको महाशाखाको भनाइ छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

