झापा, मेचीनगर–१० का ४५ वर्षका व्यक्ति गत वैशाखको पहिलो साता पहिलो पटक कोरोना संक्रमित भए । १४ दिन होमआइसोलेसनमा बसेपछि निको भए । तर पुनः परीक्षण गर्दा पोजिटिभ नै देखियो । यो क्रम रोकिएन ।
पटक– पटक गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिरह्यो । निको भएको दुई महिनासम्म पनि पोजिटिभ देखियो । डाक्टरले पनि निको भइसकेपछि नेगेटिभ आउनै पर्छ भन्ने बाध्यता नरहेको सुझाएपछि उनले परीक्षण गर्नै छाडिदिए ।
‘गत साउन पहिलो साता खोप लगाउनुअघि परीक्षण गर्दा बल्ल नेगेटिभ आयो,’ उनले भने, ‘चार महिनापछि नेगेटिभ आउँदा औधी खुसी लाग्यो ।’ पटक–पटक पोजिटिभ आइरहँदा उनी मानसिक तनावमा परे । ‘यस्तो बेला मानसिक तनाव धेरै हुँदो रहेछ,’ उनले अनुभव साटे, ‘तर पीडालाई खुसीमा बदलेर हिँडे ।’
मेचीनगर–६ का अन्दाजी ३६ वर्षीय युवाको कथा पनि उनकै जस्तो छ । यी युवाको पनि चार महिनापछि मात्रै रिपोर्ट पोजिटिभ आयो । वैशाख अन्तिम साता संक्रमण पुष्टि भएका उनको कोरोना रिपोर्ट साउन अन्तिम साता मात्रै नेगेटिभ आएको थियो । यसबीचमा उनले पाँच पटकसम्म परीक्षण गराए । ‘डाक्टरले त निको भइसकेपछि पुनः परीक्षण गरिरहन पर्दैन भनेका थिए,’ उनले भने, ‘तर नेगेटिभ नआउन्जेल चित्त नै बुझेन ।’ उनले पनि पटक–पटक रिपोर्ट पोजिटिभ आइरहँदाको मानसिक पीडा सामना गरे । रिपोर्ट बारम्बार पोजिटिभ आइरहँदा घर, परिवार, नातागोतादेखि इष्टमित्रसम्मबाट प्रत्यक्ष–परोक्ष विभेद व्यहोर्नु परेको उनले सुनाए । उनले थपे, ‘आफ्नो रिपोर्ट पोजिटिभ नै आइरहेका बेला पनि बाहिर भने नेगेटिभ आयो भनेर झूट बोल्नुपर्यो ।’
निको भएपछि पनि पटक–पटक रिपोर्ट पोजिटिभ आइरहने समस्याबाट पीडित बनेकाहरूको प्रतिनिधि कथा हो यो । यस्तो समस्याबाट देशैभरका कोरोना संक्रमित पीडित छन् । तर परिवार र समाजको दबाब र डरले खुलेर समस्या भन्न सकिरहेका छैनन् । जसले उनीहरूमा थप मानसिक रतनाव बढेको पाइएको छ । चिकित्सकहरूका अनुसार रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म खोप लगाउन मिल्दैन । त्यसले पनि सर्वर्साधारण थप तनाव झेल्न बाध्य छन् । रिपोर्ट नेगेटिभ भएको कम्तीमा महिना दिनपछि मात्रै खोप लगाउन मिल्छ । मनोविश्लेषक डा. करुणा कुँवरका अनुसार कोरोनापछि धेरै मान्छेमा विभिन्न किसिमका मानसिक समस्या देखापरेको बताउँछिन् । उनका अनुसार कोरोना निको भइसकेपछि पनि रिपोर्ट पोजिटिभ आइरहने तर डर मान्नु नपर्ने चिकित्सकहरूले भन्दै आए पनि सर्वसाधारण डराउने क्रम कम भएको देखिँदैन । उनी भन्छिन्, ‘कोरोना निको भएकालाई पनि मनोसामाजिक परामर्शको जरुरी देखिन्छ ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु र मिर्गौला रोग विशेषज्ञ डा. सञ्जीवकुमार शर्माका अनुसार व्यक्तिपिच्छे कोरोनाका फरक–फरक लक्षण देखिन सक्छन् । कसैको पीसीआर रिपोर्ट साता दिनमै नेगेटिभ आउँछ । कतिको महिनौंसम्म पनि पोजिटिभ आइरहन्छ । एक अध्ययनअनुसार संक्रमितको शरीरमा सक्रिय र निष्क्रिय भाइरसका टुक्राहरू (अवयवहरू) पाइन्छ । यी दुवैलाई पीसीआरले लामो समयसम्म पनि पोजिटिभ देखाइदिन्छ । त्यसैले पनि प्रत्येक पटक पीसीआर परीक्षण गर्दा एउटै व्यक्तिमा संक्रमण रहेको देखिन सक्ने डा. शर्माको भनाइ छ ।

