काठमाडौँ , कोरोना संक्रमितको संख्या उकालो लागिरहँदा काठमाडौं महानगरपालिकाले आइसोलेसन सेन्टर बन्द गराउने निर्णय गरेको छ । महानगरको गत बुधबार बसेको ६७ औं कार्यपालिका बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालयमा सञ्चालित आइसोलेसन सेन्टरको सेवा साउन मसान्तदेखि स्थगन गर्ने निर्णय गरेको हो ।
यसैगरी, क्षेत्रपाटी निःशुल्क चिकित्सालयको व्यवस्थापनमा सञ्चालित कोभिड विशेष अस्पताल पनि संक्रमित बिरामीको चाप हेरेर बन्द गरिने भएको छ । महानगरले राधास्वामी आइसोलेसन सेन्टरलाई भने हाल कायम जनशक्तिमध्ये एक तिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिएको छ ।
स्वास्थ्य मन्त्रालय र महानगरकै तथ्यांक हेर्दा निषेधाज्ञा खुकुलो भएसँगै महानगरमा फेरि संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्य्राइँ गरिँदा संक्रमण बढ्न सहयोग पुगिरहेको चिकित्सकहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबार काठमाडौं जिल्लामा मात्र ७ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन् । काठमाडौं महानगरपालिकाद्वारा गत साउन २१ मा सार्वजनिक साउन १८ सम्मको वडागत प्रारम्भिक विवरणअनुसार महानगरमा ३ हजार ३ सय ६३ जना सक्रिय संक्रमित छन् । साउन १६ सम्मको तथ्यांकमा यो संख्या ३ हजार २ सय ९३ थियो ।
पछिल्लो तथ्यांकअनुसार संक्रमितमध्ये ३ हजार १ सय ९४ जना होम आइसोलेसनमा, १ सय ४१ जना अस्पतालमा र ५५ जना संस्थागत आइसोलेसनमा छन् । महानगरमा हालसम्म ७२ हजार ६ सय ४४ जनालाई कोरोना लागेकामा ६८ हजार ७ सय ७१ जना संक्रमणमुक्त भइसेकका छन् । ५ सय १० जनाले ज्यान गुमाएका छन् । काठमाडौं उपत्यकामा शुक्रबार ७ सय १, बिहीबार १ हजार ७५, बुधबार १ हजार २ सय ७९, मंगलबार ८ सय ५१, सोमबार ७ सय ७० र आइतबार ९ सय ४ जना संक्रमित भएका थिए ।
संक्रमितको संख्या बढिरहेको र संस्थागत आइसोलेसनमा अझै संक्रमितहरू बसिरहेको अवस्थामा महानगरले आइसोलेसन बन्द गर्ने निर्णय गरेको हो । महानगर प्रवक्ता ईश्वरमान डंगोलले आइसोलेसनमा भर्ना हुन आउने संक्रमितको संख्या कम भएकाले आइसोलेसन सेन्टरको सेवा स्थगन गरिएको बताए । ‘आवश्यकताअनुसार सेवा सुरु हुन्छ,’ उनले भने, ‘तेस्रो लहरको चर्चा भइरहेको छ, संक्रमितको संख्या बढ्यो भने फेरि सुरु गर्छौं ।’ उनका अनुसार अहिले संक्रमित हुने अधिकांश होम आइसोलेसनमै बसिरेहका छन् ।
महानगरले तीनवटा आइसोलेसन सेन्टर सञ्चालनमा हालसम्म ३ करोड ८ लाख ९२ हजार ६ सय ६४ रुपैयाँ खर्च गरिसकेको जनाएको छ । ‘त्यसबाहेक थप २ करोड ९४ लाख ७ हजार एक सय ७१ रुपैयाँ भुक्तानी दिने निर्णय पनि भएको छ,’ उनले भने । राधास्वामी आइसोलेसन सेन्टरको सम्झौताअनुसार भुक्तानी हुन बाँकी भनिएको ३ करोड ३ लाख १० हजार रुपैयाँ भने बिलका आधारमा भुक्तानी गरिने उनले बताए ।
महानगरले गत वैशाख ३१ मा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको व्यवस्थापनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न सम्झौता गरेको थियो । अस्पताललाई मासिक ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँका दरले तीन महिनाको १ करोड ४४ लाख ४९ हजार ९ सय ७१ रुपैयाँ भुक्तानी दिने महानगरको कार्यपालिका बैठकले निर्णय गरेको हो । महानगरले नरदेवी आयुर्वेदिक चिकित्सालयसँग गत वैशाख २७ मा सम्झौता गरेको थियो । ‘नरदेवीमा सञ्चालित अक्सिजनसहितको आइसोलेसन सेन्टरलाई पेस्कीबापत १ करोड ८ लाख ९२ हजार ६ सय ६४ रुपैयाँ दिइसकिएको छ । थप ६४ लाख ९७ हजार २ सय रुपैयाँ भुक्तानी दिने पनि निर्णय भएको छ,’ उनले भने ।
वीरेन्द्र सैनिक अस्पताल छाउनीको सहयोगमा सञ्चालित राधास्वामी आइसोलेसन सेन्टर २ करोड रुपैयाँ पेस्की उपलब्ध गराइसकेको महानगरले जनाएको छ । अस्पतालसँगको सम्झौतामा महानगरले ५ करोड ३ लाख १० हजार रुपैयाँ अनुदान दिने उल्लेख छ ।प्रकाशित : श्रावण २४, २०७८ साभारःकान्तिपुर

