काठमाडौं । मानसिक अस्पताल, पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदीप अर्याल मृत अवस्थामा फेला परेका छन्। उनी ३२ वर्षका थिए।
बबरमहल बस्ने डाक्टर अर्याल आइतबार दिउँसो साढे १२ काठमाडौं-३, बाँसबारीस्थित एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
‘उहाँले सेल्फस भन्ने विष खाएको देखिन्छ, प्याकेट पनि फेला परेको छ,’ सिंहले भने।
प्रहरीका अनुसार डाक्टर अर्याल बिहान करिब पौने १२ बजे गेस्ट हाउस पुगेका थिए। उनले होटलका कर्मचारीलाई आफ्नो साथी आउँदैछ भन्ने जानकारी गराइ कोठामा गएका थिए। उनले खानासमेत अर्डर गरेका थिए।
खाना लिएर गएका कर्मचारीले डाक्टर अर्याललाई लडिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर भएको थियो। खबरपछि काठमाडौं परिसर र महानगरीय अपराध महाशाखाको टोली खटिएको थियो।
घटनास्थलमा मृतक अर्यालले बान्ता समेत गरेको देखिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए। प्रहरीले सेल्फस लेखिएको दुइटा प्याकेट विष पनि बरामद गरेको छ।
पोष्टमार्टमका लागि शव महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको छ।

