काठमाडौं : कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ। एन्टिबडीले भाइरसको प्रोटीनमा टाँसिएर प्रतिरोध प्रणालीबाट बन्ने अरू कोषलाई आकर्षित गराएर तिनलाई नष्ट पार्न सघाउँछन् ।
अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड-१९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो।
शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ।
अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड-१९ हुन नदिएको देखियो।
भाइरल सङ्क्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ। ती तत्त्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन्।
अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको सङ्क्रमण भयो। स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो।
तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी सङ्क्रमण भएन।
परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड-१९ भएको पाइयो। उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन।

