काठमाडौं । नवलपरासीमा नेपाल विश्वविद्यालय स्थापनाको तयारीमा जुटेका प्राज्ञिक व्यक्तिहरुको सपनाले साकार रुप लिएको छ ।
जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा. अर्जुन कार्कीलाई नियुक्त गरेको छ ।
त्यस्तै सदस्यहरुमा डा. अमिना सिंह, डा. असीम ढकाल, प्रा.डा. विपिनचन्द्र अधिकारी, विरेश शाह, डा. दोभान राई, डा. संगीता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, र श्रवणकुमार राणा नियुक्त भएका छन् ।
++++
नेपाल विश्वविद्यालय स्थापनाको छलफलको नेतृत्व प्रस्तावित नेपाल विश्वविद्यालयका परिकल्पनाकार डा. अर्जुन कार्कीले गरेका थिए ।
थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर डा. सूर्यराज आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकास’मा विद्यावारिधि गरेका छन् । आचार्य नेपाल फर्किनुअघि जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बद्ध ‘पोलिसी थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत थिए ।
४० वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाएका चैतन्य मिश्र विश्वविद्यालयले गुणस्तर सुधार्न नसकेको देखेर चिन्तित थिए । केही नयाँ गर्ने सोचिरहेका बेला डा. कार्कीले उनलाई भिन्न अवधारणासहितको विश्वविद्यालयको परिकल्पना सुनाए । नेत्र चिकित्सक डा. सन्दुक रुइत, मुटु शल्यचिकित्सक डा. भगवान कोइराला, डा. देवेन्द्रराज पाण्डे र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पनि उक्त परिकल्पना मन पराए ।
समाज अध्येता प्रत्यूष वन्त, क्यानडामा पढेर नेपाल फर्किएका इन्जिनियर प्रमोद ढकालदेखि चिकित्सक अनुप सुवेदी पनि अभियानमा छन् । केदारभक्त माथेमा, शिक्षाविद् डा. अमिना सिंह, डा. दोभान राई, भौतिकशास्त्री डा. असिम ढकाल र वैज्ञानिक वसन्त गिरीलगायत विज्ञ पनि यो अभियानका हिस्सा हुन् । यो अभियानमा नेपाली मूलका र विदेशी प्राध्यापकसमेत जोडिने क्रम जारी रहेको डा. कार्की सुनाउँछन् ।
प्राध्यापक तथा अधिवक्ता डा. विपिन अधिकारी पनि विश्वविद्यालय निर्माणको अभियानमा जोडिएका छन् । काठमाडौं युनिभर्सिटी स्कूल अफ लको डीनको जिम्मेवारी सम्हालिसकेका उनले संवैधानिक कानूनमा विद्यावारिधि गरेका छन् । नेपालको शिक्षा प्रणाली क्रमबद्ध रूपमा विकास नभएको चिन्ता उनको छ ।नेपालको संविधान निर्माणमा भूमिका खेलेका अधिकारीले संवैधानिक कानूनको विषयमा २२ वटा पुस्तक लेखेका छन्
।

