काठमाडौं : सरकारले कोरोना संक्रमण दर स्थिर अवस्थामा रहेको बेला मुलुकका सातवटै प्रदेशमा सेरो प्रिभलेन्स सर्भे गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार संक्रमणको अवस्था अध्ययन गर्न आगामी सातादेखि प्रिभलेन्स सर्भे गर्न लागिएको हो। उक्त सर्भेमा सबै प्रदेशको प्रतिनिधित्व हुने गरी मुलुकभरबाट १३ हजार नमुना संकलन गरिनेछ।
विभिन्न उमेर समूहमा रगत परीक्षण गरिनेछ। यसबाट कुन उमेर समूहमा र कुन ठाउँमा बढी संक्रमण थियो भन्ने जानकारी प्राप्त हुनेछ। यसअघि पनि ६ हजार नमुना संकलन गरी सेरो प्रिभलेन्स सर्भे गरिएको थियो। उक्त अध्ययनमा सातवटै क्षेत्र समेटिएको थिएन। यसपटक नमुना बढाइएको छ। मन्त्रालयका प्रवक्ता डा. पौडेलले बाक्लो जनसंख्या भएका प्रमुख सहरहरू र अन्य क्लस्टरमा गएर टोलीले नमुना संकलन गर्ने बताए। उनले भने, ‘कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमणको अवस्था कस्तो रह्यो ? कति प्रतिशत संक्रमित भए भन्ने जानकारी प्राप्त हुन्छ। कोरोनाविरुद्ध प्रतिकार्यका लागि योजना बनाएर कार्यान्वयन गर्नमा सहयोग गर्छ।’ सर्भेक्षणका लागि नेपाल जनस्वास्थ्य परिषद्बाट आवश्यक पर्ने प्रोटोकल स्वीकृत भइसकेको छ। सेरो प्रिभलेन्सबाट हर्ड इम्युनिटि भए÷नभएको पत्ता लगाउन सहयोग पुग्ने विज्ञहरू बताउँछन्।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा मुलुकभर अल्फा, डेल्टा र कप्पा भेरियन्ट सक्रिय देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भाइरोलोजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डे बेलायत र भारतमा उद्गम भएका कोरोना भाइरसका भेरियन्टले मुलुकभर संक्रमण फैलाएको बताउँछन्। डा. पाण्डे भन्छन्, ‘अहिले संक्रमण दरमा केही कमी आएको छ। परीक्षण नै थोरै संख्यामा गरिएकाले संक्रमण घटेको हो।’
पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ९ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको थियो। १४ हजार ३ सय ५१ जनाको परीक्षण गरिएको थियो। जसमध्ये ९ हजार ५ सय ८६ जनाको पीसीआर र ४ हजार ७ सय ६५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

