कोठाभित्र मुर्दा शान्ति छ । वरपर विल्डिङ बनाइरहेको आवाजले वेलावेला झस्काउछ, मलाई । ड्याङ डुङ र घ्यार्र घुर्रको चर्को कम्पनले भित्रैसम्मै झस्काउँछ । आइसोलेसन सेन्टरको झ्याल बाहिर परेवाका जोडीहरु पिरती साटिरहेका छन् । घरि सिसामा ट्वाक ट्वाक ढुग्दै मलाई वोलाउछन त घरि ग्रिल भित्रै पसेर दादागिरी देखाउँछन् । म असहाय बनेर उनीहरुलाई हेरिरहेकी छु । टिफिनमा रहेको रोटीको केहि टुक्रा लगेर झ्याल बाहिर राखिदिएँ । रोटी खोस्नको लागि काग र परेवाको तानातान हुन्छ । उनीहरुको यो हर्कतले मलाई भित्रैसम्म खुसि लाग्यो । मुस्कुराउँदै विस्कुटका थप केहि पिस राखिदिए । करिव १२ दिनदेखी उनीहरु मेरा हास्ने, वोल्ने र मुस्कुराउने साथी भएका छन् । कोठा छाडेर वाहिर निस्कन पाएकी छैन । शरिरमा कोरोना भाइरसको लोडको सिटि भ्यालु १७ देखाएको छ । बाहिर असारे झरी दर्किरहेको छ । यो झरी संगै दर्किरहेको छ मनभित्र जिन्दगी जीउने तिव्र जिजीविषा,(बाँचिरहने इच्छा)।
००० ०००
झरी मनपर्ने मौसम हो मेरो । सिमसिम पानीको लहरमा धेरै पटक छाता विना दाैिडएकी छुँ, म । रेनकोट नओडी कैयौ किलोमिटरको यात्रा स्कुटरमा एक्लै गरेको छु मैले । बलेँसीमा तपतप चुहिएको पानीमा हात थाप्दै खुसिले उफ्रिरहन्थँ म । वेतोडको बतासको झोक्का सँगै दर्कने झरीले कुनै रोमान्टीक दृष्यको याद गराउछ म मा । झरीलाई म स्वतन्त्रताको प्रतिकको रुपमा अपनाउँछु, जिन्दगीमा । आज पुन यो झरीसँगै एकछिन बहकीने मन लाग्यो । वल्लो घरको कोैसी र पल्लो घरको बार्दली गर्दै यता उता उडिरहेका परेवा सँगै उड्न मन लाग्यो । मनमा डर हटेको छैन । कोभिडलाई मैले शरिरबाट निकाल्छु या कोभिडले नै मलाई जिन्दगीवाट हटाउछ यसै भन्ने स्थिति छैन । तैपनि झ्यालवाट सिरसिर भित्र छिर्ने बताससंगै थोरै सास फेर्ने जमर्को गरिरहेकी छु । परेवा र गौथलीको चिरविरसंगै जिन्दगी बाच्ने आशा सुसेलिरहेकी छु । पहिलो पटक चराहरुको स्वतन्त्रता देखेर जलन भइरहेको थियो मलाई । तैपनि, आफन्त र माया गर्नेहरुको अनुहार सम्झेर झिनो खुसि समेट्ने कोसिसमा थिएँ ।
००० ०००
‘गुड इभिनिङ एभ्रिवन । प्लीज अपडेट योर भाइटल ।’ मोवाइलमा रहेको ह्वाटसअप गु्रपमा म्यासेजको टोन बज्यो । यतिखेर दिउसको ५ बज्यो । आइसोलेसनमा रहनुभएका मेडिकल टिमले हाम्रो स्वास्थ्यको जानकारी माग्नुभएको थियो । वेलावेला आफ्नो शरीरको व्लडप्रेसर, तापक्रम, मुटुको चाल र अक्सिजन लेभल चेक गरेर म्यासेज गर्नुपथ्र्यो हामीले । घरिघरि आउने यस्तो ह्वासटअप म्यासेजले पुर्नताजगि दिन्थ्यो हामीलाई । हामीलाई खवर सोध्ने कोहि त छ ? अफ्ठारो परिहाले सजिलै उपचार पाइन्छ भन्ने भरोषाले पनि जिन्दगी बाच्ने रहर लाग्थ्यो ।
००० ०००
मेडिकल इन्चार्ज डाक्टर रविन बस्नेत, डाक्टर नेहाल अशरफ सगै अन्य ६ जना नर्सहरुको टिमको निगरानीमा थिएँ, म । थोरै तलमाथी भए टिममा म्यासेज पठाएर खवर गर्न सक्थे । डाइरेक्ट फोन गरेर सोधपुछ गर्न पनि सकिन्थ्यो । यसअर्थमा आइसोलेसनमा सुरक्षित ठानीरहेकी थिए म । स साना कुराहरु पनि सोधिरहन्थे । सोधेको भन्दा धेरै बुझाएर बताउनुहुन्थ्यो डा रविन । दुई चार घण्टामा मुसुक्क मुस्काउदै ढोकामा उभिन आउने डाक्टर र नर्सलाई देख्दा नै आधा कमजोरी हटेको महसुस हुन्थ्यो । खाए नखाएको, गाह्रो साह्रो सोधिदिने कोहि हुदा जिन्दगीको कति भरोषा लाग्ने रहेछ महसुस गर्दै थिए म । आइसोलेसनको पारिवारिक वातावरणमा भिज्दै थिए म । एउटा कोठाभित्र आफुलाई बन्द बनाएर कोभिड १९ सँग जुधिरहेकी थिए ।
कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाउने क्रममा बाध्यताबश छुटेकी थिए म । एक त खोप लगाएपछि ज्वरो आउछ भनेर फैलिएको त्रास । अर्को काठमाण्डौ बाहिर गएकाले खोप लगाउन ध्यान पुगेन मेरो । हुनत सरकारले खोपको सजीलै व्यवस्था गर्ला भन्ने भरोसाले पनि हुनसक्छ । जे भएपनि आफ्नै गल्तिको कारण पहिलो चरणको खोप बाड्दा लगाइन मैले ।
००० ०००
सर्वाेच्च अदालतको संवैधानीक इजलासमा संसद विघटनसम्वन्धी रिटको सुनुवाई चल्दै गर्दा रिपोटिङको क्रममा अदालत परिसर पुगेकी थिए । अदालत परिसरमा भिडभाड थियो । इजलास सुन्न भेला भएका कानुन व्यवसायि र रिपोर्टिङको लागि अदालत पुगेका पत्रकारको संख्या उल्लेख्य थियो । हुनत सवैले सामाजिक दुरी कायम नै राखेका थिए, मास्क पनि लगाएकै थिए, तर पनि खै किन किन त्यतिवेलै खुव डर लागेको थियो । स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा खाजा खान जादा पनि भिडभाड नै थियो । क्यान्टिनका कर्मचारी त प्राय मास्क विना नै खाजा पुराइरहेका थिए ।
००० ०००
मन्त्रिले रोकेको खोप…..
घरमा आएपछि पनि डर लागिरह्यो । यसैक्रममा सरकारले ६० देखि ६५ बर्षसम्म उमेरसमुहलाई खोप बाड्न शुरु गरेको थियो । यो पटक भने शुरु देखी नै खोप लगाउने कोसिसमा थिएँ । सरकारले पत्रकारको लागि खोप दिने भनेर निर्णय नगरेकाले होला सजिलो तरिकाले खोप लगाउन पाएकी थिइन । वडाअध्यक्षका आफन्त र आसेपासे लगायत मेयर उपमेयरका सवै उमेर समूहका आफन्तले निधक्क खोप लगाएको सुनिन्थ्यो तर चाकरी नगरिकन खोप लगाउन असम्भव प्राय बन्यो । पत्रकार महासंघको चुनावमा सरकार पक्षका पत्रकारको टिम विजयि नभएका कारण फरक पाटीको टिमलाई सरकारले सहयोग नगरेको अपुस्ट खवर पाइरहेकी थिए मैले ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसंग निरन्तर कुराकानी गरिरहेकी थिए । उहाहरुले कोसिस गरिरहेको जानकारी दिनुभएको थियो । मन्त्रिसँग कुरा गरिरहेको तर निर्णय नभएकाले अफ्ठयारो भएकाले पत्रकारहरुले सजिलै खोप नपाएको जानकारी दिनुभएको थियो ।
बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सवै स्वास्थ्य कार्यालयलाई पत्रकारलाई खोप लगाउने व्यवस्था मिलाउनका लागि पत्राचार गरेको थियो । यहि पत्र देखाउदै महासँघको महासचिवलाई खोप कहाँ पाइन्छ ? भन्ने आसयको म्यासेज गरे । उहाँले पत्रकारलाई खोप दिनको लागि मन्त्रीले रोक्नुभएको छ भन्नु भो । साथमा आफुहरुले मिलाउँदै गरेकाले ढुक्क भएर केहि दिन पर्खन सुझाउनु भो । मिलेपछि तपाइलाई फोन आउछ भन्नुभएको थियो तर आज १५ दिन बढि भैसक्दा पनि फोन आएन । बरु फोन भन्दा छिटो कोभिड पोजेटिभ भएको म्यासेज आयो ।
००० ०००
जिन्दगी सकियो भनेर धेरै वेर रोए …….
अर्कोतिर गएको आइतबार सर्वोच्च अदालतले पत्रकारहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलाशले अन्तरिम आदेश दिएको हो । यो आदेश संगै अव चाहि खोप पाइन्छ भन्नेमा थोरै आशावादि बन्न सकिन्छ । अदालतबाट आएपछि जीउ भारी भैरहेको थियो । डरैडरमा केहि दिन वित्यो । विहान उठेर वाक जाने क्रममा पनि हिड्नै सकिन मैले । चार पाइला हिड्नासाथ फतक्कै गल्थे । खाना देख्नै मन नलाग्ने । दुई दिन पछि घाटि दुख्ने, खोकी लाग्ने र खसखस सुरु भो । राति ज्वरो आयो । ज्वरो आएपछि भने मलाई कोभिडको शंका लाग्यो । सम्पर्कमा भएका डाक्टरलाई फोन गरेर लक्षण सुनाए । कोहिले भिटामिन डि को कमीले नी यस्ता लक्षण हुने बताउनु भएको थियो । कोभिडमा स्वाद र गन्ध शुरुमै हराउछ भन्ने सुनेकी थिए । मैले पटक पटक भिक्स र परफ्युमको बट्टा खोलेर गन्ध सुघिरहेकी थिए । ठिकठाक नै थियो । कोभिड हैन होला भन्नेमा थिए । बरु कोठामा घाम नपस्ने र म घर बाहिर खासै ननिस्कने भएकाले भिटामीन डि कमी देखियो होला भन्नेमा ढुक्क थिए ।
टेकु अस्पतालका डाक्टर शेर बहादुर पुनलाई फोन गरे । उहाले आत्मबल बलियो बनाउन, खानेकुरा मिलाएर खान र पिसिआर चेक गर्नको लागि सल्लाह दिनु भयो । दिउस टेकु अस्पताल पुगेर स्वाब दिए । कोरोना ओपीडीमा गएर चेक गरे । ज्वरो आइरहेको थियो । डाक्टरले सास फेर्न गाह्रो भयो नभएको सोध्नुभयो । म निकै कन्फिडेन्ट भएर ठिक ठाक छ भनिरहेकी थिए । डाक्टरसँग भएको अक्सिमिटरमा दाइने हातको साइली औंला छिराए मैले । डाक्टरले पुन सोध्नुभयो छाती दुखेको छ छैन । फरक फरक औलाबाट अक्सिजन लेभल लिइरहनु भएको थियो । मलाई अलि शँका भयो, त्यतिवेला सम्म पसिनै पसिना भैसकेकी थिए म । किन र डाक्टर प्रस्न गरे मैले । डाक्टरको जवाफ भने मेरो कल्पना बाहिरको थियो ‘तपाईंको अक्सिजन लेभल घटिसकेको छ । आधा घण्टामा आउनुस यसरी नै कमी देखियो भने अक्सिजन लगाउनु पर्छ, भर्ना हुनको लागी मेन्टल्ली तयार हुनुहोला । छातीको एक्सरे गरेर आउनुस ।’ अक्सिजन लेभल ९१ मा झरीसकेको रहेछ । यो लेभल ९४ भन्दा तल झरेमा खतराको सुचिमा राखीने रहेछ ।
अक्सिजन लेभल नै घट्यो भनेको सुन्दा छाँगाबाट खसेजस्तो भएँ, म । हतारिदै अस्पताल बाहिर निस्किरहेकी थिए । संगै गएको साथी आस्मा बाहिर गाडीमै थिई । हतार हतार प्रकाश फर्मामा पुगेर अक्सिमिटर किनियो । गाडीमा बसेर पटक पटक अक्सिजन लेभल चेक गरें, मैले । छातिको एक्सरे पनि सामान्य नै देखाएको थियो । डवल मास्क र फेससिल्ड पनि लगाएको तथा डराएको हुदा अक्सिजन लेभल घटेको रहेछ । करिव एक घण्टा पनि ठिक ठाक भैहाल्यो । खुसि हुदै घर फर्किए ।
डाक्टर पुनलाई भेटेर खुसि हुदै घर आएपनि खोकी लाग्न, घाँटि दुख्न र खसखस हुन छाडेको थियन । रिगटा लाग्ने र शरिरमा कम्पन छुट्ने भैरहेको थियो । ल्यावले राती सम्म पिसिआर रिपोट मोवाइलमा आउछ भनेको थियो । निन्द्रामै पनि हात मोवाइलमा पथ्र्यो । इनवक्समा न्यु म्यासेज छ की भनेर चेक गरिरहेकी थिए । विहान ११ बजेसम्म म्यासेज आएन । किचनमा बसेर सुप पिइरहेकी थिए । एक्कासी मोवाइलमा म्यासेज बज्यो । खोलु कि नखोलु भन्ने दोधारमा भएको वेला इनबक्स ओपन भैसकेछ । पिसिआर पोजेटिभ देखीएको थियो । सिटि भ्यालु १७ । एकैछिनमा आखा धर्मरायो । जमिन भासिए जस्तै भयो । १२०० भोल्टको करेन्ट लागेजस्तो भो । कतिवेला वेडरुममा पुगेर पछारिए थाहा भएन । अव जिन्दगी यति नै रहेछ भन्ने लाग्यो । कति सपनाहरु बाकि थिए, के के गर्छु भन्ने थियो । अल्पायुमै मर्न लेखेको रहेछ भनेर रुन आयो । ४० बर्षे उमेरमा एक्सिडेन्ट भएर वित्नुभएको बाबालाई सम्झीए । बाबाकी प्यारी थिए, उमेरमै म पनि बाबाकै बाटो समाउने भए भनेर आशु झर्यो । केहि दिन अघि दोलखाका सहकर्मी रविन्द्र गौतमको कोरोनाकै कारण मृत्यु भएको थियो । त्यो सम्झेर अझ डर लाग्यो । किर्तिपुर बस्दा माया गर्ने घरवेटी आन्टि पनि कोभिडकै कारण ज्यान गुमाउनु भएको थियो । अझ उहाको मृत्यु भैसकेपछि पनि २८ घण्टा सम्म जल्न पाउनुभएको थियन । किर्तिपुर आयुवेदीक अस्पतालबाट पशुपती आर्यघाट सम्म पुग्नको लागि उहाको मृत शरिरमाथी भएको लापरबाहि र ढिलासुस्तीको साक्षी समेत थिए म । ओहो सम्झेर अति डर लागिरह्यो । कोभिड लागेर अकालमै मरेकाहरुको चित्र दिमागमा आयो । एउटा हातमा पिसिआर पोजेटिभ रिपोट र दिमागमा छोरीको फोटो आइरह्यो । सम्हालीन निकै गाह्रो भयो । बाचिन्छ भन्ने आशा त पटक्कै थिएन । अस्पतालमा अक्सिजन लेभल घटेको, खोकी ननस्टप र खसखस । अव जिन्दगी सकियो भनेर धेरै वेर रोए ।
००० ०००
दुई तिन दिनमा शरिर निकै कमजोर भैसकेको थियो । कपाल कोर्दा पनि हात दुखेर थचक्कै भुइमा बसे म । हात खुट्टा पोलेर चप्पल लगाउन समेत सकेकी थिइन । खोकी यति लाग्थ्यो कि खोक्नकै लागी जन्मिएकी हु जस्तो लाग्थ्यो । ज्वरो आउदा शरिरमा कम्पन छुटेर थर्थर भैरहेकी थिए । डाक्टरले होम आइसोलेसनमा बस्नको लागि भन्नुभएको थियो । गाह्रो भए जुनसुकै वेला पनि अस्पताल आउन सकिने जानकारी ।
दिउस तीन बजे कमलपोखरी छेउमा रहेको आइसोलेसन सेन्टर पुगीसकेकी थिए । यहा पठाउनका लागि समाजसेवी रवि सिंहले सहयोग गर्नुभएको थियो । गाडीबाट ओर्लेर आइसोलेसन सेन्टर भित्र पस्दै गर्दा फेरी एकपटक हिम्मत डगमगायो । सकुसल घर फर्कन पाउ भन्दै प्राथना गरिरहे । निकै कमजोर र थकित भएकी थिए । बाच्ने रहरले यति सताउदो रहेछ की के भनौ ? टाउको दुखेर आसु मात्रै आउने गथ्र्यो । घरपरिवार र बच्चाको मायाले वेचैन बनाउथ्यो । पहिलो पटक मृत्युलाई नजिकबाट बुझे मैले । सानैमा बाबा गुमाएको भएर होला अरुको मृत्युले खासै फरक पार्दैनथ्यो मलाई । हरेकको अन्तिम गन्तव्य हो मृत्यु भनेर सामान्य तरिकाले बुझेकी थिए । तर जव आफ्नो अगाडी मृत्युको छाया देखिन्छ नी अनि थाहा हुने रहेछ यसको भयले कति डस्ने रहेछ भनेर ।
शारीरिक रुपमा अफ्ठारो त भएकै थियो । यो भन्दा कमजोर थियो मानसिक हालत । घरमा कसैलाई भन्न सकेकी थिइन । आइसोलोसन आएको अर्को दिन मात्र फेमिली गु्रपमा पिसिआर रिपोर्टको फोटो पठाएँ । विदेशमा हुने दाइले आत्तिदै फोन गर्नुभयो । एकछिन क्यामरा अफ गरेर आसु झारे । केहि भएको छैन दाई, ठिक छु भन्दै झुट वोले । खोकेको सुन्नुहुन्छ भनेर फोन आउनासाथ तातो पानी पिउने र एक मुठी ल्वाङ मुखमा राखेर वोल्थे । टाउको दुखेको छ भनेर साइलेन्स बसिदिन्थे । डाक्टर रविनले पटक पटक सोसल मिडिया नहेर्नको लागि सुझाव दिइरहनु भएको थियो । यसैले गर्दा फेसवुक ट्विटरका वाल हेर्न छाडेकी थिए म । अफलाइन बसेर आफन्तसंग कुरा गर्थे । मलाई तेस्तो अफ्ठारो लक्षण नदेखीएकाले आत्मवल बढाउनको लागी सल्लाह दिनुहुन्थ्यो । आत्मवलले कसरी काम गर्छ भनेर अनेक कथा र किस्सा सुनाउनुहुन्थ्यो । यो समयमा डाक्टरले गरेको आत्मिय सहयोग अविस्मरणीय छ मेरा लागी ।
००० ००००
प्रिय मनहरुमा आभारी
फोन गर्नासाथ मामुले आसु झारीहाल्नुहुन्थ्यो । परिवारलाई पिर नपार्नको लागि पनि म जर्वजस्ती दह्रो बन्दै थिए । दिनको दुई पटक बाफ लिने, औषधी खाने गरिरहेकी थिए । झोल र सुपको आइटम पेलेरै पिएकी छु । खाना देख्नै मन नलाग्ने हुने रहेछ । विचमा आठ दश दिन गायव भएको गन्ध र स्वाद पनि फिर्ता आएको छ । अहिले विस्तारै कम हुदै गएको छ । वेलावेला टाउको दुखेर अतालिन्छु । खोकी कम भएको छैन । पिसिआर पोजेटीभ नै छ । कमजोरीले आधा घण्टा पनि बस्न सकिदैन । मोवाइल चलाउदा पनि हात दुखेर अत्तालिन्छु । र पनि अव चाहि बाचिन्छ कि भन्ने आशा पलाएको छ ।

