काठमाडौं । स्वास्थ्य मापदण्डको पालना नगरि घरबाट बाहिर निस्कँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस । सबैभन्दा घातक मानिएको डेल्टा भेरियन्ट र यसको उत्परिवर्तित रुप (एवाई.१ ÷डेल्टा प्लस) ले संक्रमण गराउन सक्छ ।
कोरोना भाइरसका मुख्य १२ प्रजाति मध्ये सबैभन्दा बढी संक्रामक डेल्टा भेरियन्ट भएको पाइएको छ ।यसले सबै उमेर समुहका महिला ÷पुरुष सबैलाई संक्रमण गराउने विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं सुक्ष्म जीव विज्ञान विज्ञ डा. प्रकाश घिमिरेका अनुसार, पछिल्लो समय विश्वभर नै झण्डै ७० प्रतिशत संक्रमण डेल्टा भेरियन्टले गराएको छ । नेपाल सहित भारत, अमेरिका,ब्राजिल लगायतका मुलुकमा डेल्टा भेरियन्टकै डर देखिएको छ ।
भारतबाट भित्रियो
डेल्टा भेरियन्टको उद्गम भारतलाई मानिएको छ । यो भेरियन्टले संसारभर संक्रमणको जोखिम बढाइरहेको डा. घिमिरेले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दोस्रो संक्रमणमा डेल्टा भेरियन्ट सक्रिय रहेको बताए । उनले भने,‘ डेल्टा भेरियन्टकै कारण दोस्रो लहरमा बढी संक्रमण फैलिएको देखियो । यो अलि बढी संक्रामक छ । एक व्यक्तिबाट अर्कोमा छिटो डेल्टा भेरियन्ट छिटो सर्छ ।’
नेपालमा पनि डेल्टा भेरियन्टको संक्रमण अधिक पाइएको छ । गत बैशाख २६ देखि जेठ २० गतेसम्म मुलुकका विभिन्न भागमा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट ४८ वटा नमूना संकलित गरिएको थियो । संकलित नमूनाहरुको जिनोमिक पहिचान (सिक्वेन्सिङ) गर्दा अधिकांशमा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले प्रस विज्ञप्ति जारी गरि जनाएका छन् ।
संकलित ४८ वटा नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरि जिनोम सिक्वेन्सिङको लागि भारत पठाइएको थियो । जसमध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्ट पुष्टी भएको छ । एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको डा. अधिकारीले जानकारी दिए । डेल्टा भेरियन्ट पुष्टि भएका ४७ वटा नमूना मध्ये ९ वटामा थप उत्परिवर्तन (के ४१७एन म्युटेशन) भेटिएको छ । यसलाई एवाई.१ नामाकरण गरिएको छ । यसलाई भारतमा डेल्टा प्लसका रुपमा सञ्चारमाध्यममा चर्चा गरिएको छ । हालसम्म यो उत्परिवर्तन नेपाल सहित विश्वका १० मुलुकमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वि एसिया क्षेत्रीय कार्यालयको सहयोगमा जिनोमिक पहिचान सम्भव भएको हो । भारतको नयाँदिल्लीस्थित दि इन्स्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी जिनोमिक पहिचान गरिएको थियो । नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्न अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) पाइएको पुष्टि भएको छ । त्यस्तै भरियन्ट अफ इन्ट्रेष्टका रुपमा कप्पा (बी.१.६१७.१) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने,‘ यी भेरियन्टहरु बढी संक्रामक छन । सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ ।’

