काठमाडौं । कोरोना (कोभिड– १९)का भेरियन्ट धेरै खालका छन् । जसमध्ये कुन भेरियन्ट बढी संक्रामक र कडा होला ? सर्वसाधारण मात्र नभई वैज्ञानिकहरुले समेत खोजि गरेको यो प्रश्नको जवाफ पत्ता लागेको छ । त्यो हो, ‘डेल्टा भेरियन्ट’ (बी.१.६१७.२)।
यो भेरियन्टको उद्गम स्थान नै भारत भएको पुष्टि भएको छ । डेल्टा भेरियन्टलाई ‘किलर भेरियन्ट’को संज्ञा समेत दिइएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा बढी जिम्मेवार रहेको डेल्टा भेरियन्ट नेपालमा समेत सक्रिय रहेको छ । जुन तथ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २० गते प्रेस विज्ञप्ति गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय नेपालमा फैलिएको कोभिड १९ भेरियन्ट नै डेल्टा हो । छिटो संक्रमण फैलिनुमा कुन भेरियन्ट जिम्मेवार छ भनेर स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमस्थित प्रवेशबिन्दुदेखि लिएर देशका विभिन्न ठाउँबाट नमुनाहरू संकलन गरि भारत पठाएको थियो । कुल ३५ वटा नमुनामध्ये ३४ वटामा डेल्टा भेरियन्ट पाइएको थियो । एउटामा ‘अल्फा भेरियन्ट’ (बी.१.१.७) पाइएको थियो । बेलायतमा देखिएको युके भेरियन्टलाई नै अल्फा भेरियन्ट भनिएको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार गत वर्षको अक्टोबर ३० मा पहिलो पटक डेल्टा भेरियन्ट पुष्टि भएको थियो । खोप लिइसकेका व्यक्तिलाई पनि संक्रमण गराउन डेल्टा भेरियन्ट सक्षम मानिएको छ ।
यसबाहेक डब्लुएचओले भेरियन्ट अफ कन्सर्नमा परेका र विभिन्न मुलुकमा फैलिएको नयाँ भेरियन्टमा ‘गामा’ र ‘कप्पा’ रहेको जनाएको छ ।
‘डेल्टा’नै किन खतरनाक ?
कोरोना भाइरसका विभिन्न भेरियन्ट मध्ये डेल्टा बढी खतरनाक मानिएको छ । घातक मानिएको डेल्टा भेरियन्टले खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराएको पाइएको छ ।
भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज ( एम्स)मा कार्यरत वैज्ञानिक एवं चिकित्सकहरुले डेल्टा भेरियन्टको अध्ययन गरेका थिए । उक्त अध्ययन पछि खोप लगाएका व्यक्तिमा पनि खोप असर कम गराउनमा ‘डेल्टा भेरियन्ट’ जिम्मेवार मानिएको हो ।
कोरोना विरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन लिइसकेका र संक्रमित भएका चिकित्सकहरुलाई अध्ययन समावेश गरिएको थियो । ६३ व्यक्तिमध्ये १० जनाले कोभिशिल्ड खोप लिएका थिए । त्यस्तै ५३ जनाले कोभ्याक्सिन खोप लिएका थिए । अध्ययनमा सहभागि मध्ये ४१ जना पुरुष थिए । २२ जना महिला थिए । जसमध्ये ३६ जना स्याम्पल (नमूना )लिएर जिनोम सिक्वेन्सिङ गरिएको थियो ।
अध्ययनमा सहभागि मध्ये १७ जनाले दुई डोज खोप लिएका थिए । १९ जनाले एक डोज मात्र खोप लिएका थिए ।
अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज ( एम्स) को अध्ययन प्रतिवेदनमा एक डोज खोप लिएका ७७ प्रतिशत व्यक्तिमा डेल्टा भेरियन्टको संक्रमण देखिएको छ । एक डोज वा दुई डोज खोप लिएका सबै संक्रमितमा भाइरस लोड पनि अधिक पाइएको उक्त प्रतिवेदनमा उल्लेख छ । एम्समा कार्यरत डा. सञ्जय रायका अनुसार, डेल्टा र अल्फा भेरियन्टले बढी खतरापूर्ण मानिएको छ । भारतमा संक्रमितमध्ये ९३ प्रतिशत व्यक्तिमा डेल्टा भेरियन्टले नै संक्रमण गरेको जनाइएको छ ।
वनारस हिन्दू युनिभर्सिटि (बीएचयु) र हैदरावादको आणविक जीव वैज्ञानिक केन्द्रका वैज्ञानिकहरुले वारणसिमा कम्तीमा पनि ७ वटा भेरियन्ट सक्रिय रहेको रिसर्चबाट पत्ता लगाएका थिए । जसमध्ये सबैभन्दा घातक भेरियन्ट डेल्टा नै थियो । बिएचयुकी प्रयोगशाला प्रमुख प्रो.रोयना सिंहका अनुसार, संकलित स्याम्पल मध्ये ३६ वटामा डेल्टा भेरियन्ट पाइएको थियो ।
भारत र नेपालमा बढी संक्रमण फैलाउन डेल्टा भेरियन्ट भएको निष्कर्ष वैज्ञानिकहरुको छ । यो भेरियन्ट ५३ मुलुकमा समेत पाइएको छ । अमेरिका, बेलायतमा पनि यो भेरियन्ट सक्रिय रहको छ । बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर आउनुमा पनि डेल्टा भेरियन्ट नै जिम्मेवार रहेको अनुमान गरिएको छ । बेलायतमा १२ देखि ३० वर्षका व्यक्तिलाई बढी संक्रमण तुल्याइरहेको छ । कोरोनाको दोस्रो र तेस्रो लहर ल्याउनमा डेल्टा भेरियन्ट नै जिम्मेवार रहेको जनाइएको छ ।
५० प्रतिशत बढी संक्रामक
अल्फा भेरियन्ट भन्दा पछि पुष्टि भएको डेल्टा भेरियन्ट बढी संक्रामक पाइएको छ । अल्फा भन्दा ५० प्रतिशत बढी संक्रामक रहेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।
डेल्टा भेरियन्टलाई किलर भेरियन्टको संज्ञा समेत दिइएको छ । २०२० अक्टुवरमा भारतमा डेल्टा भेरियन्ट पत्ता लागेको थियो ।

