प्रा.डा.ढुण्डीराज पौडेल
नाक, कान, घाँटी रोग विशेषज्ञ
* कोभिड–१९ भएको कति समयपछि कालो ढुसी (म्युकरमाइकोसिस) देखिने गरेको छ ?
सामान्यतः कोरोनाको लक्षण देखिएको तीन साताभित्र कालो ढुसीको संक्रमण हुने गरेको पाइएको छ। कसैलाई कोरोना संक्रमण भएको १० दिनपछि पनि कालो ढुसीको संक्रमण देखिएको छ।
* यो कालो ढुसी (म्युकरमाइकोसिस) भनेको के हो ?
फंगसलाई ढुसी पनि भनिन्छ। भाइरसजस्तै फंगस पनि विभिन्न किसिमका हुन्छन्। फंगसको संक्रमणबाट हुने रोगमध्ये कालो ढुसी (म्युकरमाइकोसिस) पनि हो। यसको टाउकोमा कालो हुन्छ। त्यसैले कालो ढुसी भनिएको हो। आद्रता बढी भएको (गर्मी) स्थानमा कालो ढुसीको संक्रमण बढी देखिएको छ। फोहोरमैला, धुलो, कुहिएका फलफूल, पातपतिंगर भएको स्थानमा कालो ढुसीको संक्रमणको जोखिम बढी हुन्छ।
* यसको संक्रमण कसरी हुन्छ ?
फंगसहरू बाहिरी वातावरणमा यत्रतत्र हुन्छन्। भाइरसजस्तै फंगसले पनि शरीरभित्र प्रवेश गरेर असर गर्छन्। फंगस नाकको प्वालबाट शरीरभित्र प्रवेश गर्छ। नाकको वरिपरि रहेका साइनसहरूसँग फंगसको भेट हुन्छ। साइनसहरूलाई प्रभावित गर्दै आँखाको पछाडि पुगेर त्यहाँको नसाहरूलाई आक्रमण गर्छ। आँखा चलाउने नसाहरूलाई क्षति पुर्याउँछ। आँखाबाट दृश्य हेर्न सहयोग पुर्याउने नशा (अप्टिक नर्भलाई नष्ट गर्छ। त्यसपछि पनि फंगस रोकिँदैन। मस्तिष्कको तल्लो तहमा पनि असर गर्छ। समग्रमा भन्दा नाकबाट छिरेर पिनास हुँदै आँखा र मस्तिष्कमा पनि क्षति पुर्याउँछ।
*कोरोना भाइरसको चर्चा नहुँदै पनि बाहिरि वातावरणमा फंगस पनि थियो नि होइन ?
कोभिड–१९ भाइरसको अस्तित्व देखिनु अघि पनि फंगसको संक्रमण हुने गरेको थियो। रक्त क्यान्सरका बिरामी, अन्य विभिन्न खालका दीर्घ रोगीहरूमा विभिन्न खालका फंगसको संक्रमण हुने गर्थ्यो। मिर्गौलालगायत अंग प्रत्यारोपण गरेका व्यक्तिमा पनि यसको संक्रमण हुने गरेको थियो।
*अहिले मधुमेह, अंग प्रत्यारोपण गरेका व्यक्ति र दीर्घ रोगीलाई कोरोना भाइरस पछि कालो ढुसीले संक्रमण गरेको पाइएको छ। खास कारण के होला ?
यसका विभिन्न कारण छन्। मधुमेह, अंग प्रत्यारोपण गरेका व्यक्ति र अन्य खालको रोगको औषधि सेवन गर्दै आएका दीर्घ बिरामीको यसै पनि रोग प्रतिरोधात्मक क्षमता न्यून हुन्छ। कोरोना भाइरस संक्रमणले शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) झन् घटाउँछ। कोरोना संक्रमित व्यक्तिको शरीरमा अक्सिजनको मात्रा घटेको छ भने श्वास–प्रश्वास सहज बनाउन स्टेरोइड औषधि दिनुपर्छ। यो औषधिले शरीरमा सेता रक्तकोषलाई निस्क्रिय बनाउन सहयोग गर्छ। शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। यसैबेला कालो ढुसीले संक्रमण गर्छ।
* संक्रमणबाट कत्तिको सजग हुनुपर्छ ?
भारतजस्तै नेपालमा पनि कालो ढुसी (म्युकरमाइकोसिस)को संक्रमण देखिएको छ। एक जना संक्रमितलाई त मैले पनि भेटेँ। अहिले सबै जना कोभिड–१९ सँगै कालो ढुसीको संक्रमणबाट पनि जोगिनुपर्छ। डराउनेभन्दा पनि सचेत हुनुपर्ने खाँचो छ।
* कालो ढुसी संक्रमित भर्ना भएको अवस्थामा चिकित्सकले सुरुमा के गर्नुपर्छ ?
संक्रमितको अवस्था हेरेर अक्सिजन दिनुपर्छ। मधुमेहको पनि समस्या भएको छ भने अझ बढी सचेत हुनुपर्छ। मधुमेहको लेवल नियन्त्रणमा ध्यान दिनुपर्छ। कालो ढुसीको संक्रमण हुने बित्तिकै कुन खालको ढुसी हो भनेर अल्मलिनु हुँदैन। दुई खालको औषधिमध्ये मिर्गौला बिगार्ने खालको नभई मिर्गौला बचाउने किसिमको औषधि चलाउनुपर्छ। आफूले उपचार गर्न सकिँदैन भने तुरुन्तै विशेषज्ञ समक्ष सिफारिस गरिहाल्नुपर्छ।
* कालो ढुसीको संक्रमण पुष्टि भएपछि आफन्त के–के पक्षमा सजग हुनुपर्छ ?
पहिलो त बिरामीको अवस्थाप्रति ध्यान दिनुपर्छ। त्यसपछि उपचारमा हेक्का राख्नुपर्छ। नाक र कानमा समस्या हो भने नाक, कान र घाँटी (इएनटी) विशेषज्ञ समक्ष उपचार गर्नुपर्छ। आँखा पनि समस्या पुगेको छ भने आँखाको चिकित्सकको पनि राय सल्लाह र उपचारमा संलग्न हुनुपर्छ। मस्तिष्कमा असर पुगेको छ भने न्युरो सर्जनलाई पनि संलग्न गराई उपचार गराउनुपर्छ।
* विशेषज्ञ चिकित्सकले के कुरामा ध्यान दिनुपर्छ ?
बिरामीको अवस्था हेरेर सुझबुझका साथ निर्णय गर्नुपर्छ। सिटी स्क्यान, एमआरई गरिहाल्नुपर्छ। नाक, कान घाँटीको सर्जनका साथै आँखा र न्युरो सर्जनको पनि परामर्श लिनुपर्छ। आवश्यक परे तुरुन्तै शल्यक्रिया गरिहाल्नुपर्ने हुन्छ। शल्यक्रिया गर्दा बहुविशेषज्ञहरूको संलग्नता बढी राम्रो हुन्छ।
* कालो ढुसीको संक्रमणबाट कसरी जोगिने ?
अब मास्कको उपयोगिता सधैं रहिरहने भयो। कोभिड–१९ जस्तै कालो ढुसीबाट जोगिन पनि मास्क लगाउनुपर्छ। कुनै पनि प्रकारका फोहोर, कसिंगर, धुलो आउने खालका स्थानहरू (भवन निर्माण)को वरिपरि जाँदा वा काम गर्दा मास्क र पञ्जा लगाउनुपर्छ। कुहिएका फलफूल एवं तरकारी फ्याँकी हाल्नुपर्छ। घर बाहिर वा फोहोरमा काम गर्दा डिस्पोजेबल पन्जाको प्रयोग गर्नुपर्छ।
व्यक्तिगत स्वच्छतामा ध्यान दिनुपर्छ। जथाभावि स्टोरोइड र एन्टिवायोटिक औषधि प्रयोग गर्नुहुँदैन। सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्नुपर्छ। स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्छ।

