काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस विरुद्ध खोप उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुमा पत्राचार गरेकी छिन् । उनले अमेरिका, बेलायत,चीन र भारतमा पत्राचार गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले बेलायतकी महारानी एलिजावेथ द्धितीयलाई पनि कोरोना विरुद्धको खोप सहायता उपलब्ध गराउन आइतबार पत्र पठाएको बेलायतस्थित नेपाली राजदूतवासले जनाएको छ । त्यस्तै गरि अमेरिकी समकक्षी अमेरिकी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्राचार गरेकी छिन् ।
राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएका छन् । यस अघि बुधबार राष्ट्रपति भण्डारीले भारत र चीनका समकक्षिसँग सहयोगको लागि आग्रह गरेकी थिइन ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले खोपको आयातकोलागि उच्चस्तरीय संयन्त्रद्धारा पहल भइरहेको जानकारी दिए । उनले भने,‘सरकारले उच्चस्तरीय सबै सयन्त्रहरु प्रयोग गरेर खोप प्राप्तिको लागि प्रयास गरिराखेको छ । सम्माननीय राष्टपतिज्यूबाट समकक्षि मार्फत भारत, चीन अमेरिका लगायतका देशहरुसँग खोप प्राप्तिको लागि कुराकानी भएको हामीलाई जानकारीमा आएको छ ।’
खोपकोलागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विभिन्न कूटनीतिक नियोगसँग पनि पहल गरिरहेको डा. पोखरेलले बताए । ‘कहिलेसम्ममा कति खोप आउने भन्ने कुराको यकिन अहिलेसम्म प्राप्त भइसकेको छैन ।’ उनले भने ।
१२ हप्तापछि लगाउँदा पनि प्रभावकारी
मुलुकमा १४ जिल्लामा ५५ वर्ष माथिका नागरिकहरुलाई र बाँकी जिल्लामा ६५ वर्षका नागरिकलाई कोरोना विरुद्धको पहिलो डोज खोप लगाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार, पहिलो डोज लगाएको ९ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनु पर्ने हुन्छ । करीब साढे १३ लाख नागरिकलाई तत्कालै दोस्रो खोप लगाउनु पर्ने आवश्यकता रहेको डा. पोखरेलले बताए ।
उनले भने,‘ कोभिसिल्डको दोस्रो मात्रा उपलब्ध हुने संभावना तत्कालै देखिएको छैन । कोभिसिल्ड, एस्ट्राजेनेका वा एस्केबायो जस्ता एउटै प्रकृतिका खोप उपलब्ध गराइदिन विभिन्न सयन्त्र मार्फत प्रयास भइरहेको छ । यसमा सकारात्मक जवाफ आए पनि खोप प्राप्त हुने बित्तिकै खोप लगाउँछौं । १२ हप्ता पछि खोप लगाउँदा पनि खोपको प्रभावकारिता रहन्छ ।’ राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले एस्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका छन् ।

